अमेरिका जान बराहालाई बलीः एउटै गाउँबाट १७३ जना अमेरिका

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । गाउँको सिरानमा हिमालको छायाँ देखिने बराहा ताल छ । तालको उत्तरतर्फ करिव तीन सय मिटरको दुरीमा रहेको बराहा माईको मन्दिरमा हरेक मंगलवार २० ओटाभन्दा बढी भेडाको साँडको बली दिई भाकल गरिन्छ ।

यसरी बली दिएर पूजा गर्नुको उद्धेश्य रोग व्याधी भगाउन वा सहकाल निम्त्याउनु भने होइन । यहाँका युवाहरु अमेरिका जान सकुँ भन्ने कामना गर्दै हरेक हप्ताको मंगलवार बराहालाई बलीसहित पूजा गर्ने गर्दछन् । चार सय २२ घरधुरी र १९ सय ९४ जनसंख्या रहेको यस गाउँका एक सय ७३ जना युवाहरु गैरकानुनी बाटो (तल्लो बाटो) हुँदै अमेरिका छिरिसकेका छन् भने गाउँमा रहेका युवाहरु पनि जाने तरखरमा छन् ।

यो यथार्थता हो, म्याग्दीको मालिका गाउँपालिका १ निस्कोट गाउँको । यहाँका युवाहरुको अमेरिका पुग्ने सपना पुरा गरिदिने विश्वास र आस्थाको केन्द्र बराहा माईको थान नै हो । यहाँ भाकल गरेर हिड्ने हो भने अमेरिका पुगिन्छ भन्ने विश्वास यहाँका स्थानीयमा छ । २०७० सालयता यहाँका एक सय ७३ जना युवाहरु रु ५५ लाखदेखि रु ७७ लाख खर्च गरेर तल्लोबाट महिनौं लगाएर अमेरिका पुगिसकेका निस्कोट माध्यमिक विद्यालय निस्कोटका प्रधानाध्यापक बुद्धि पुनले बताउनुभयो ।

निस्कोटकी ८३ वर्षिया मंगली विक (सुनार) का कान्छा छोरा तुलप्रसाद सुनार गाउँबाट हिँडेको १७ महिनापछि अमेरिका पुगेको ९ वर्ष भयो । त्यसयता यहाँका अरु एक सय ७२ जना युवाहरु ऋणधन गरेर जति दुःख भए पनि जंगल र खोलानालाको बाटो छिचोल्दै एजेण्टले मागे जति रकम बुझाउँदै अमेरिका पुगिसकेका छन् ।

घरबाट हिँडेको १७ महिनापछि भाइ अमेरिका पुगेपछि मंगलीका राहिला छोरा गोविन सुनार पनि ६५ लाख एजेण्टलाई बुझाएर चार महिना हिँडेर अमेरिका पुग्नुभएको मंगली सुनारले बताउनुभयो । ‘मेरा पाँच भाइ छोराहरुमध्ये दुई भाइ अमेरिका पुगिसकेका छन्,अरु दुई भाइ पनि जाने तरखरमा छन्’ मंगलीले भन्नुभयो, ‘बराहा माईको पूजा र भाकल गरेर बसेका छन्,ढिलो चाँडो हिड्लान् ।’

मंगलीका मात्रै होइन, यहाँका प्रायः सबै घरहरुबाट एक जनादेखि चारजनासम्म विदेश गएका छन् । अरु मुलुकमा गएकाहरु पनि धमाधम गाउँ फर्किएर अमेरिका जाने तयारीमा जुटेका स्थानीय युवा ज्ञानेस पुन मगरले बताउनुभयो । उक्त गाउँका अधिकांश युवाहरुमा अमेरिका छिर्ने सपना बढ्दै छ । गाउँका अधिकांंश युवाहरु वैदेशिक रोजगारीमा देश बाहिर छन् । युवा गाउँमा बिरलै भेटिन्छन् । यहाँ भेटिने प्रायः युवाहरु पनि अमेरिका जाने तरखरमा छन् । स्थानीय होमस्टे सञ्चालिका रामकुमारी पुनका अनुसार अमेरिका जान हिडेका गाउँका युवाहरुमध्ये दुई जना बाहेक अरु सबै अमेरिका पुगिसकेका छन् ।

आफ्नै गाउँका साथी संगी र घरका दाजु वा भाइ अमेरिकामा ‘सेटल’ भएपछि गाउँमा बचेका युवाहरुलाई पनि अमेरिका पुगेपछि कानुनी वा अन्य कारणले फर्किनु पर्दैन भन्ने आत्मबल बढेकाले सयकडा दुई रुपैयाँ ब्याज तिर्ने गरी ऋण खोजेर भए पनि यहाँका युवाहरुले अमेरिका नगइ नछोड्ने अठोट गरेका पुनले बताउनुभयो ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका ७ वडाहरुमध्ये सवैभन्दा बढी वडा नं १ निस्कोटका युवाहरु नै अमेरिका पुगेका स्थानीय जनप्रतिनिधिहरुको भनाइरहेको छ । मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटका वडा सदस्य दिलकुमार पुनका अनुसार, गाउँबाट गैरकानुनी बाटो हुँदै अमेरिका जाने लहर नै चलेको छ । गाउँका युवाहरु अमेरिका जान थालेपछि गाउँ युवाविहीन हुँदै गएको छ । यहाँका प्रत्येक घरमा उमेर ढल्केका, विद्यालय उमेरका बालबालिका र बृद्धबृद्धाहरु मात्र देखिन्छन् । निस्कोट गाउँको बीचमा निस्कोट माध्यमिक विद्यालय छ । विद्यालयमा पुग नपुग २०० जना विद्यार्थीहरु छन् । कक्षा ८ देखि माथि एउटा कक्षामा बढीमा १० जना मात्र विद्यार्थी अध्ययन गर्ने गरेको विद्यालयले जनाएको छ ।

अमेरिका गएका घरका परिवार काठमाण्डौं, पोखरा, बेनीलगायतका सहरमा बसाइँ सरेका छन् । गरिखाने उमेरका व्यक्तिहरु सहर पसेपछि गाउमा बृद्धबृद्धा मात्र भेटिन्छन् । गाउँमा रहेको विद्यालयमा तराइका जिल्लाहरुबाट आएका शिक्षकहरुले पढाइरहेका छन् । ‘गाउँका पढेलेखेका युवाहरु विदेश गएपछि बाहिरबाट करारमा ल्याइएका शिक्षकहरुले पढाइरहनुभएको छ’ स्थानीय देवबहादुर पुनले भन्नुभयो ।

बराहा माई थानमा अमेरिका जान सकूँ भनेर भाकल गर्न आउने युवाहरु गाउँ छोडेर हिंडे भने गाउँ युवाविहीन हुने उहाँले बताउनुभयो । ‘अमेरिका मोहले जिउँदाका जन्ती र मर्दा मलामी पनि गाउँमा नहुने भए’ पुनले भन्नुभयो ‘जति दुःख हुन्छ हामीलाई नै होओस्,हाम्रा छोरा नातिहरुको अमेरिका जाने सपना बराहा माईले पुरा गरिदिउन्,उनीहरुलाई कुनै दुःख नहोओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?