बालबालिका बेचबिखन रोकथाममा ध्यान दिन सरोकारवालाको जोड

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 7 mins

कालीकोट । बालबालिकाहरुको गैरकानुनी ओसारपसार तथा बेचबिखन रोकथाममा ध्यान दिन जिल्ला स्थित सरोकारवालाहरुले जोड दिएका छन् ।

जिल्ला सदरमुकाम मान्म स्थित जिल्ला प्रशासन कार्यालय कालीकोटको सभाहलमा आयोजित बालबालिकाहरुको गैरकानुनी ओसारपसार तथा बेचबिखन बिरुद्ध रोकथाम परियोजनाको सल्लाहकार समितिको बैठकमा उपस्थित सरोकारवालाहरुले बालबालिका बेचबिखन र यसको ओसापसार रोकथाममा बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

कर्णाली र कालीकोट जस्तो विकट र दुर्गम जिल्लाहरुमा कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै बालबलिकाहरुलाई अनेकन प्रलोभनमा पारी विभिन्न सहरहरुमा लैजाने गरेका कारण धेरै जसो बालबालिका मानव बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने गरेका छन् ।

केही वर्षयता बालबालिकालाई निःशुल्क पढ्ने-लेख्ने र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिर्वत गराउने समेत गरिएको छ । छोराछोरी त्यस्ता ठाउँमा पठाएर अभिभावकहरुले समेत रकम असुल गरेका घटना समेत सार्वजनिक हुने गरेको सहभागीहरुले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले परिवारबाटै ओसारपसारको जोखिम भएपछि बालबालिका थप असुरक्षित बन्दै गइरहेको बताउनुभयो । गरीबी, सूचनाको अभाव, लैङ्गिक हिंसा, जस्ता कारणले मानिस बढी बेचबिखनको जोखिममा रहेको प्रष्ट्याउनुभयो ।

कार्यक्रमका बिशेष अतिथि समेत रहनुभएका खाँडाचक्र नगरपालिकाका उप-प्रमुख गणेशबहादुर शाहीले बालबालिकाहरुको बेचबिखन र ओसारपसारलाई रोकथाम गर्न गरीब, टुहुरा, आर्थिक अबस्था कमजोर भएका बालबालिकालाई घरमै पुनःस्थापना गर्न सकियो भने मात्रै यस्ता घटनामा कमी आउने बताउनुभयो ।

यस्तै छलफलका क्रममा तिलागुफा नगरपालिकाका उप-प्रमसख महेन्द्र बहादुर शाहीले यसलाई न्यूनीकरण गर्न सरकारले प्रभावकारी रणनीति बनाउन नसकेको टिप्पणी गर्नुभयोे । उहाँले मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति र यसका कारण पनि परिवर्तन भइराखेको बताउँदै यसले प्रभावितहरूको क्षेत्र पनि फराकिलो बनाएको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै परियोजना सल्लाहकार समितिका संयोजक एवं जिल्ला समन्वय समिति कालीकोटका कार्यवाहक प्रमुख मिना रावत बिकले गरीब तथा विपन्न परिवार, बालबालिकालाई अभिभावकहरूले निगरानी नराख्ने परिवार र अशिक्षित परिवारका बालबालिका बढी हराउने गरेको र हराउनेमा अधिकांश अतिविपन्न परिवारका बालबालिका हुने गरेको बताउनुभयो ।

नेक्स्ट जेनेरेशन नेपालको आर्थिक सहयोग, फ्युचर जेनेरेशन नेपालको आयोजना किर्डाक नेपालसँगको साझेदारीमा जिल्लाका सरोकारवालाहरुसँग परियोजना सल्लाहकार समितिका संयोजक एवं जिल्ला समन्वय समिति कालीकोटका कार्यवाहक प्रमुख मिना रावत बिकको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यतामा परियोजनाले हालसम्म गरेका कामहरुको बारेमा जानकारी गराइएको थियो ।

बालबालिकाहरुको गैरकानुनी ओसारपसार तथा बेचबिखन बिरुद्ध रोकथाम परियोजनाले कालीकोटको पलाँता गाउँपालिका, महाबै गाउँपालिका, तिलागुफा नगरपालिका, र पचालझरना गाउँपालिकामा गरी चारवटा स्थानीय तहमा काम गर्दै आइरहेको छ ।

हरेक स्थानीय सरकारले मानव बेचबिखनबारे विशेष अभियान सञ्चालन गर्न नीति तथा कार्यक्रममै समावेश गर्न सके र यसको प्रभावकारी कार्यान्वयन गर्न सके मानव बेचबिखन निरूपणका लागि अर्को प्रभावकारी कदम हुन सक्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार ६ वर्षको अवधिमा कर्णालीका ३५ जना बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेका छन् । आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्ममा सुर्खेतका मात्रै १४ जना बेचबिखन तथा ओसारपसारमा परेका हुन् ।

यो अवधिमा सल्यान, हुम्ला, कालीकोट, रुकुम पश्चिम, जुम्ला, दैलेखमा गरी २१ जनाको बेचबिखन भएको हो ।

विभिन्न अध्ययनअनुसार हातहतियार र लागूपदार्थ ओसारपसारपछि विश्वमा अर्को समस्या मानव बेचबिखन पर्छ । यो समस्या नेपालमा पनि पछिल्ला दिनमा निकै जर्जर रूपमा देखा परेको छ ।

कार्यक्रममा किर्डाक नेपाल कालीकाटका जिल्ला संयोज तुलाराम पाण्डे, नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्ट, स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटक महत, पत्रकार राजनीतिक दलका नेता, कर्मचारी लगायत अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?