
काठमाडौं । मलेसियन टेलिकम कम्पनी आजियाटा गु्रप एनसेलमा रहेको आफ्नो सम्पूर्ण हिस्सा बेचेर बाहिरिएको छ । आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत हिस्सा बेलायतको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेर आजियाटा एनसेलबाट बाहिरिएको हो ।
स्पेक्ट्रलाइटसँग एनसेलको सेयर ‘खरिद–बिक्री सम्झौता’ भइसकेको आजियाटाले जनाएको छ । स्पेक्ट्रलाइट कम्पनी हालसालै सेप्टेम्बर २०२३ मा मात्रै खोलिएको कम्पनी हो । जसको सञ्चालक सतीशलाल आचार्य हुनुहुन्छ । एनसेलमा २० प्रतिशत सेयर स्थानीय साझेदार रहेको सुनिभेरा क्यापिटल भेन्चरको छ, जुन कम्पनी पनि आचार्यकै हो । अब आचार्य परिवारसँग एनसेलको पूरै स्वामित्व आएको छ ।
रोचक के छ भने सात वर्षअघि एक खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत सेयर आजियाटाले पाँच करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड नेपाली रुपैयाँमा बिक्री गरेको छ । आजियाटाले सन् २०१६ मा एक अर्ब ३६ करोड ५१ लाख डलर (तत्कालीन समयको विनिमय दरअनुसार करिब एक खर्ब ४३ अर्ब रुपैयाँ)मा टेलियासोनेरासँग ८० प्रतिशत सेयर खरिद गरेको थियो । आजियाटाले खरिद गरेको मूल्यको अत्यन्तै कम मूल्यमा एनसेलको स्वामित्व बिक्री गरेर बाहिरिएको छ ।
एनसेलले सन् २०२९ सम्म गर्ने कुनै पनि लाभांश र सो अवधिको आकस्मिक लाभमा आजियाटाकै अधिकार हुने गरी ‘एडिसनल कन्सिडरेसन’ तय गरिएको आजियाटाले जनाएको छ । सन् २०२९ मा एनसेलको लाइसेन्स अवधि सकिँदै छ । ‘दोहोरो करको मार, नियमनकारी अनिश्चितता, सन् २०२९ बाट लाइसेन्सको समय सकिँदा उत्पन्न हुने अतिरिक्त जोखिम भार, आजियाटाको हिस्सा नेपाल सरकारले लिनसक्ने सम्भावना र नेपालमा लगानी संरक्षणको वातावरण प्रतिकूल भएको र यसले कम्पनीको अस्तित्वमै ठूलो खतरा आउन लागेको देखेर बहिर्गमनको निर्णय गरेको’ आजियाटाले जनाएको छ । आजियाटाले स्वामित्व बिक्री गर्न खरिद-बिक्री सम्झौता गरेको पुष्टि गरे पनि नेपाली नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई भने कुनै जानकारी गराइएको छैन । यसबारे प्राधिकरण औपचारिक रूपमा बेखबर जस्तै छ ।
आजियाटाले गत बुधबार मात्रै नेपालमा व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले नेपालबाट बाहिरिने निर्णय गरेको घोषणा गरेको थियो । १६ भदौ २०६१ मा एनसेलले जिएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो । आजियाटा भने सन् २०१६ मा नेपालमा भित्रिएको थियो ।
खस्किँदो व्यापार, लगानी सुरक्षित गर्न बहिर्गमन
नियामक प्राधिकरणको तथ्यांकअनुसार एनसेलको व्यापार पछिल्लो समय निरन्तर ओरालोमा छ । अंग्रेजी आर्थिक वर्ष २०२२-२०२३ मा कम्पनीको व्यापार ३७ अर्ब ४४ करोड रहेको छ । यो अघिल्लो वर्षभन्दा कम हो । एनसेलले आर्थिक वर्ष २०२१-२२ मा ३९ अर्ब ७२ करोडको व्यापार गरेको थियो भने आर्थिक वर्ष २०२०-२१ मा ४० अर्ब ४२ करोडको व्यापार गरेको थियो । यस्तै, आर्थिक वर्ष २०१९-२० मा ४६ अर्ब ८७ करोडको व्यापार भएको विवरणबाट देखिन्छ ।
सन् २०१८ मा झण्डै ६० अर्ब रुपैयाँबराबर कारोबार गरेको एनसेलले २०२३ मा आइपुग्दा कारोबार घटेर ३७ अर्ब रुपैयाँमा झरेको छ । पाँच वर्षमा एनसेलको आम्दानी झण्डै २२ अर्ब रुपैयाँ घटेको तथ्यांकले देखाउँछ । इन्टरनेट सेवा प्रदायकहरूसँग चर्किएको प्रतिस्पर्धा, भ्वाइसबाट डेटातर्फ बजार सिफ्ट हुनु मुख्य चुनौती टेलिकम अपरेटरहरूलाई छ । यस्तै, ओभर द टप (ओटिटी) एपहरू जस्तै मेसेन्जर, ह्वाट्सएप, भाइबर, टेलिग्राम लगायतको प्रयोग बढ्दा अपरेटरहरूको व्यापारमा ठूलो धक्का पुगिरहेको छ । आगामी वर्षहरू थप चुनौतीपूर्ण बन्ने देखिएपछि आजियाटाले नेपाल छोडेको हुनसक्ने धेरैको आँकलन छ ।
यस्तै, लाइसेन्स अवधि सकिन लागेको र कम्पनी सरकारको स्वामित्वमा जाने जोखिम देखेर पनि आजियाटा बाहिरिएको हुनसक्ने आँकलन गरिँदै आएको छ । दूरसञ्चार ऐन २०५३ को दफा ३३ ले जम्मा पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुने व्यवस्था गरेको छ ।
दूरसञ्चार ऐन २०५३ को दफा ३३ को व्यवस्थाअनुसार २०८६ भदौ १६ पछि एनसेलको स्वामित्व नेपाल सरकारमा पुग्ने अवस्था थियो । किनकि एनसेलमा ५० प्रतिशतभन्दा बढी विदेशी लगानी थियो । एनसेलसँग अब ६ वर्षभन्दा कम मात्रै लाइसेन्स अवधि बाँकी छ । यस्तो अवस्थामा आजियाटाले एनसेलबाट आफू बाहिरिएर लगानी सुरक्षित गर्न खोजेको देखिएको छ ।
पुँजीगत लाभकर छल्न सेयर बिक्री गर्न खोजिएको आरोप
एनसेलबाट आजियाटाले सेयर बिक्री गर्ने निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायरा भएको छ । धितोपत्र बोर्डमा सूचीकृत भएर सेयर बेच्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरी आजियाटाले सेयर बेच्ने निर्णय गरेको भन्दै गोकुलबहादुर रोकायाले रिट दर्ता गर्नुभएको थियो । रिटमा पुँजीगत लाभकर छली गर्ने उद्देश्यले सेयर बिक्री गर्न खोजिएको दाबी गरिएको छ । एनसेल नेपाल धितोपत्र बोर्डमा सूचीकृत भई सार्वजनिक खरिद बिक्रीका लागि सेयर निष्कासन नगरेसम्म एनसेलको सेयर बिक्री वितरण वा हस्तान्तरण गर्न नपाउने निवेदकको दाबी छ । यसका लागि अन्तरिम आदेशको समेत माग भएको छ ।
एनसेल पब्लिक लिमिटेडमा रूपान्तरण भएपछि एनसेलको कुनै पनि सेयर होल्डरले नेपाल धितोपत्र बोर्डमा दर्ता नगरी सेयर बिक्री, वितरण, हस्तान्तरण गर्न नपाउने रिटमा उल्लेख छ । रिटमाथि सुनुवाइ गर्दै अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ । उच्च अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई विपक्षी बनाई परेको रिटमा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिनुभएको हो । अदालतले मंसिर २५ गतेको पेसी तोकेको छ । साथै, निवेदकको माग अनुसारको आदेश दिनुनपर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश दिइएको छ ।
पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवाप्रदायक कम्पनीले दुई वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्नुपर्ने अनिवार्य व्यवस्था छ । तर, एनसेलले निर्धारित अवधिभित्र आफूलाई पब्लिक लिमिटेडमा रूपान्तरण गरेको छैन । बरु निजी कम्पनीको रूपमा विदेशमा सेयर खरिद बिक्री गरी पुँजीगत लाभकरबाट राज्यलाई वञ्चित गर्ने कार्य गरेको रिटमा उल्लेख छ ।
टेलियासोनेराले एनसेलमा रहेको आफ्नो स्वामित्व बिक्री गर्दा करिब ६० अर्ब रुपैयाँ लाभ कर छली विषयले निकै चर्चा पाएको थियो । अन्तर्राष्ट्रिय अदालतसम्म पुगेको उक्त मुद्दामा नेपालको पक्षमा फैसला आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच