एनसेल खरिदबिक्री शंकास्पद, सरकारले तत्काल छानबिन गर्नुपर्ने सत्ता गठबन्धन बैठकको निष्कर्ष

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानून बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था अुनकुल खरिदबिक्री नभएको बताउनु भयो । उहाँले शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निस्कर्ष निस्किएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा संलग्न राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बसेको हो । एनसेलको सम्बन्धमा पछिल्लो समयमा एनसेलको शेयर खरिद बिक्री लगायतका जुन कुराहरु आएका छन्, यो कुराहरु अत्यन्त ज्यादा गम्भीर छ । जति पनि काम कुराहरु भएका छन्, त्यो नेपालको कानून बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने जुन बाध्यात्मक कानूनी व्यवस्था छ, त्यसका अुनकुल भएको छैन । जतिपनि गतिविधि भएका छन्, ती शंकास्पद छन् । त्यसमा प्रश्न उठेका छन् । प्रधानमन्त्रीज्युले यो विषय गम्भीर छ र यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ र यसलाई देशको हित प्रतिकुल कुनै काम हुन नदिने र नेपालको प्रचलित कानून बमोजिम अध्ययन गर्ने कुरा भएको छ । यो बैठकले पनि प्रधानमन्त्रीले भन्नुभएको कुरा ठिक छ भन्ने निस्कर्षमा पुगेको छ । एनसेलको शेयर खरिद बिक्री बारेमा जे जति कोणबाट प्रश्नहरु उठेका छन्, यी गम्भीर र जायज छन् । यसका बारेमा सरकारले तत्काल छानबिन गर्नुपर्छ र सुक्ष्म ढंगले यसमा गहिरो अध्ययन गर्नुपर्छ र यो विषयलाई देश र जनताको हीतमा कानून बमोजिम गर्नुपर्छ भन्ने निस्कर्ष भएको छ । मन्त्रीपरिषद्ले पनि यसमा आवश्यक निर्णय गर्छ । सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार छ ।’

प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिदबिक्रीका बारेमा मन्त्रीपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?