कर्णालीमा लैङ्गिक तथा घरेलु हिंसा बढ्दै

तीन आर्थिक बर्षमा झण्डै पाँच हजार मुद्दा दर्ता

तस्बिरः सामाजिक सञ्जाल

नन्दराम जैशी
Read Time = 4 mins

सुर्खेत । कर्णाली प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाका घटना बढ्न थालेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा हिंसासम्बन्धी उजुरीको संख्या बढ्दै गएको हो ।

पछिल्ला तीन आर्थिक बर्ष र चालु आ.ब को मंसिरसम्मको तथ्यांकलाई हेर्दा चार हजार नौ सय २७ वटा मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेशका दश जिल्लामा लैङ्गिक तथा घरेलु हिंसाका गरी कुल एक हजार चार सय ४९ मुद्दा दर्ता भएका थिए । जसमा लैङ्गिक हिंसाका पाँच सय ७४ र घरेलु हिंसाका आठ सय ७५ मुद्दा छन् ।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा लैङ्गिक तथा घरेलु हिंसाका कुल एक हजार चार सय ५९ मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ । जसमा लैङ्गिक हिंसाका मात्रै पाँच सय ७६ र घरेलु हिंसाका आठ सय ८३ वटा मुद्दा छन् ।

गत आर्थिक वर्ष २०७९/०८० मा लैङ्गिक तथा घरेलु हिंसाका कुल एक हजार चार सय ९७ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ६ सय ३९ लैङ्गिक हिंसाका मुद्दा दर्ता भएभने घरेलु हिंसाका आठ सय ५८ मुद्दा दर्ता भएका थिए ।

तीन आर्थिक बर्षको मुद्दाको तथ्यांकलाई हेर्दा कर्णालीमा हरेक बर्ष लैङ्गिक तथा घरेलु हिंसा बढ्दै गएको देखिन्छ । चालु आर्थिक वर्षको यो मंसिर महिनासम्म मात्रै लैङ्गिक तथा घरेलु हिंसाका पाँच सय २२ वटा मुद्दा परेका छन् । जसमा दुई सय ३१ लैङ्गिक हिंसाका र दुई सय ९१ घरेलु हिंसाका मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैबिच गैर सरकारी संस्था महासंघ सुर्खेत शाखाको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा लैङ्गिक तथा घरेलु हिंसा न्यूनिकरणबारे सरोकारवालासँग छलफल समेत गरिएको छ । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले महिलामाथि हुने हिंसाका घटना न्यूनीकरण हुन नसकेको भन्दै सरोकारवालाहरूको थप पहल आवश्यक रहेको बताउनुभयो ।

‘सचेतना अभावका कारण हिंसा सहेर घरमै बस्ने अवस्थाको अन्त्य गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘लिङ्गका आधारमा हुने सबै हिंसा न्यूनीकरणका लागि नगरपालिका गम्भीर छ ।’

गैर सरकारी संस्था महासंघ सुर्खेत शाखाका अध्यक्ष प्रकाश सारुले लैङ्गिक तथा घरेलु हिंसा न्यूनिकरण गर्न हरेक व्यक्तिले आफ्नै घरबाट अभियान थाल्नुपर्ने बताउनुभयो । महिलाको अधिकार स्थापित गर्न राज्यले थप पहल र लगानी गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा महिला हिंसा बढी हुनेगरेको भएपनि न्यायको पहुँचमा कमै मात्र आउनेगरेको बताएका थिए । यता कर्णाली प्रदेश प्रहरी प्रमुख भिमप्रसाद ढकाल लैङ्गिक हिंसा नियन्त्रणका लागि प्रहरीका सबै संयन्त्र परिचालन गरिएको बताउनुहुन्छ ।

विगत तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा कर्णाली प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ बढ्दो क्रममा रहेकोले न्यूनिकरणमा सबैले आआफ्नो क्षेत्रबाट भुमिका खेल्न आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?