
तेहरान । अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ । इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन अमिर-अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गर्नुभयो ।
इजराइली अधिकारीहरूका अनुसार इरान समर्थित इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आश्चर्यजनक हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिसको मृत्यु भएको छ भने हमासले करिब २४० जनालाई बन्धक बनाएको छ ।
इजराइलले जवाफमा हमासलाई नष्ट गर्ने वाचा गर्दै गाजामा आक्रामक हमला सुरु गरेको छ । हमलामा प्यालेस्टिनी क्षेत्रमा अधिकांश सर्वसाधारणसहित १७ हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । इजराइल अमेरिकाको मुख्य सहयोगी मुलुक हो ।
गाजामा तत्काल युद्धविरामको आहृवान गरिएको सुरक्षा परिषद्को प्रस्तावलाई अमेरिकाले शुक्रबार भिटो लगाएको थियो । उक्त प्रस्तावले हमासलाई अक्टोबर ७ मा गरेको हमलालाई दोहोर्याउन सक्षम बनाउने भन्दै भिटो लगाउनुपरेको अमेरिकाले बताएको छ ।
इरानको विदेश मन्त्रालयका अनुसार टेलिफोन संवादमा अमिर-अब्दुल्लाहियानले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भन्नुभयो, ‘जबसम्म अमेरिका यहुदीवादी शासन (इजराइल) को अपराधहरू र युद्धको निरन्तरतालाई समर्थन गर्छ तबसम्म यस क्षेत्रको स्थितिमा अनियन्त्रित विष्फोटको सम्भावना छ ।’
इरानी विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघ बडापत्रको धारा ९९ लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न साहसी कदम’ का रूपमा प्रयोग गर्ने राष्ट्रसंघीय महासचिवको प्रशंसा गर्नुभयो । एक साताको युद्धविरामपछि डिसेम्बर १ देखि इजराइल र हमासबीच पुनः युद्ध सुरु भएको छ । इजराइलका अनुसार हमासले युद्धविरामको उल्लंघन गरेको छ । विदेशमन्त्री अमिर-अब्दुल्लाहियानले महासचिव गुटेरेससँग भन्नुभयो, ‘हमासले युद्धविरामको उल्लंघन गरेको इजराइलको दाबी सम्पूर्णरूपमा गलत हो ।’ उहाँले इजराइलका लागि अमेरिकी समर्थनले स्थायी युद्धविराम हासिल गर्न कठिन बनाएको बताउनुभयो ।
सुरक्षा परिषद्को मागलाई अमेरिकाको भिटो, चीन र रुसद्वारा आलोचना
गाजामा इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामका लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को मागलाई अमेरिकाले भिटो गरेको छ । सुरक्षा परिषद्का १३ सदस्यहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेश गरिएको संक्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरे, जबकि बेलायतले भाग लिएन ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले दुई महिना लामो युद्धबाट हुने विश्वव्यापी खतराबारे १५ सदस्यीय परिषद्लाई औपचारिक रूपमा चेतावनी दिन बुधबार दुर्लभ कदम चालेपछि मतदान गरिएको थियो । अमेरिकाले इजरायल र प्यालेस्टाइन दुवै शान्ति र सुरक्षामा बस्न सक्ने दिगो शान्तिलाई समर्थन गर्दछ । तर, हामी तत्काल युद्धविरामको आहृवानलाई समर्थन गर्दैनौं । यसले अर्को युद्धका लागि मात्र बिउ रोप्नेछ, किनभने हमाससँग दिगो शान्ति हेर्ने, दुई-राज्य समाधान हेर्ने इच्छा छैन,’ संयुक्त राष्ट्रका लागि उपअमेरिकी राजदूत रोबर्ट वुडले भन्नुभयो ।
अमेरिकाको भिटोको चीन र रुसले आलोचना गरेका छन् । बेइजिङले नागरिक जीवनको चिन्ता व्यक्त गर्दै युद्धविरामको मस्यौदालाई समर्थन गर्न अस्वीकार गरेर अमेरिकालाई ‘आत्मविरोधी‘ भएको आरोप लगायो, जबकि रुसले अमेरिकालाई ‘हृदयविहीन’ भन्यो ।
यसअघि संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा ‘हामी विनाशको छेउमा पुगेको’ बताउनुभएको थियो । उहाँले मानवीय त्रासदीले गाजाका सम्पूर्ण जनतालाई ग्रसित गरेको बताउनुभयो । उहाँले गाजामा सार्वजनिक व्यवस्था पूर्णरूपमा ध्वस्त हुने र मानवीय सहायता पूर्णरुपमा रोकिने खतरा रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघको धारा ९९ प्रयोग गरेको स्पष्ट पार्नुभएको थियो । उहाँले इजिप्टमा ठूलो संख्यामा बसाइँ सर्ने खतराबारे चेतावनी दिँदै गाजा युद्ध अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिका लागि पनि खतरा भएको बताउनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच