विदेशबाट फर्केर टिमुरे खोला छेउमा सामूहिक माछा पालन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ हुन नसकेपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका ३ का तीन जना युवाले गाउँमा नै सामुहिक माछा पालन गर्नुभएको छ ।

रुथानीइ पूर्णवहादुर रोका,तेजेन्द्र बूढा र यमेन्द्र रोकाले मालिका गाउँपालिका ३ मा पर्ने टिमुरे खोलामा सामुहिक माछा पालन गर्नुभएको हो । उहाँहरुले गरेको सामुहिक माछापालन यस पश्चिम म्याग्दीको लागि उदाहरणीय व्यवसाय बनेको छ ।

पूर्ण कतारमा ६ वर्ष र यामेन्द्र कतारमै तीन वर्ष तथा तेजेन्द्र बहराइनमा तीन वर्ष काम गरेर स्वदेश फर्केपछि सामुहिक माछा पालनमा लाग्नुभएको हो ।

टिमुरेखोला नजिकको आठ रोपनी जग्गा भाडामा लिएर स्थानीय पूर्ण रोका मगर, तेजेन्द्र बुढा र यामेन्द्र रोकाले सामूहिक रूपमा माछापालन गर्नुभएको हो । उहाँहरुले ट्राउट जातको माछा पाल्नुभएको छ ।

रु २० लाख लगानीमा माछा पालनका लागि १० ओटा पोखरी निर्माण गनुभएको छ । एक वर्ष अघि २०७९ सालको कार्तिक महिनादेखि जग्गा भाडामा लिएर मालिका रेन्बो ट्राउट फर्म दर्ता गरी माछा पालन व्यवसाय सुरु गरेको पूर्ण रोकाले बताउनुभयो ।
“सुरुमा रु आठ लाखको लगानीमा ६ वटा पोखरी (रेसवे) निर्माण गरी माछापालन थालनी ग¥यौं अहिले १० वटा पोखरी निर्माण गरेका छौं” रोकाले भन्नुभयो ।

सुरुमा गण्डकी रेन्बो ट्राउट १० हजार अण्डा ल्याएर ह्याचिरिङ गरिएको थियो । करिब ९ महिनामा माछा विक्रीका लागि तयार हुने रोकाले बताउनुभयो । अहिले पोखरीमै भुरा उत्पादन भइरहेको र पोखरीमा १२ हजार बढी माछा हुर्किरहेका उहाँले जानकारी दिनुभयो ।

रोकाका अनुसार पहिलो वर्षसातसय केजी बढी माछा विक्री भएका थिए । यो वर्ष दुई हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक रोकाले बताउनुभयो । पहिलो वर्षको आम्दानी पनि व्यवसाय विस्तारमा नै लगाइएको बताउने रोकाले यस वर्ष राम्रो आम्दानी लिन सकिने आशा गरेको बताउनुभयो ।

माछा पालनका लागि चिसो र बहाव भएको स्वच्छ पानी आवश्यक हुने सञ्चालक रोकाको भनाइ छ । वर्षातको समयमा माछाका भुरा बचाउन गाह्रो हुने उहाँले सुनाउनुभयो । यहाँ उत्पादित माछा नजिकको दरबाङ बजारसहित सदरमुकाम बेनी बजार र छिमेकी जिल्ला बागलुङसम्म लगिएको उहाँले बताउनुभयो ।

पहिलो वर्ष प्रतिकेजी १२ सय रुपियाँमा विक्री गरिएकोमा यस वर्ष भने दानाको मूल्य बढेकाले १३ सय रुपियाँमा बेच्ने गरिएको छ । बजारमा माछाको माग बढे पनि पर्याप्त उत्पादन गर्न नसकिएको अर्का सञ्चालक तेजेन्द्र बूढाले बताउनुभयो ।

उहाँहरुले टिमुरेमा आफ्नै रेष्टुरेण्ट पनि संचालन गर्नुभएको छ । पोखरीमा उत्पादित माछा आफ्नै रेस्टुरेन्टमा समेत खपत हुनेगरेको छ । माछापालन गरी मनग्य आम्दानी भएकाले विदेशभन्दा नेपालमै फाइदा भएको उहाँहरूको भनाइ छ ।

आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछा पालन सुरु गरिएको फर्ममा परिवारका अन्य सदस्यले समेत साथ दिनुभएको छ । मालिका गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मोतीप्रसाद बुढाले गाउँमै युवाहरूको लगानीमा व्यावसायिक माछापालन अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।

वडाको ५० प्रतिशत अनुदान कार्यक्रमबाट पोखरी वरीपरी घेरबार गरिएको छ । सरकारबाट पाउने ऋण र अनुदानमा समेत झन्झटिलो पक्रिया भएको तथा त्यसमाथि पनि वास्तविक किसानसँग पुग्न नसकेको माछापालक रोकाले गुनासो गर्नुभयो । आगामी दिनमा यस व्यवसायलाई अझै विस्तार गर्ने सोंच भएको रोकाले बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?