ख्वप कलेजमा दुईदिने आर्थिक सम्मेलन सुरु

Read Time = 6 mins

भक्तपुर । विश्वविद्यालय अनुदान आयोगको सहकार्य र ख्वप कलेजको आयोजनामा थर्ड नेसनल कन्फरेन्स अ मल्टिडिसिपनेलरी एपरोच टु एडरेस करेन्ट च्यालेन्जेज विषयक दुईदिने राष्ट्रिय सम्मेलन शनिबार भक्तपुरमा सुरु भएको छ । सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्दै भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरूले समाजलाई बुद्धिजीवीकरण गर्न र भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाउन महŒवपूर्ण भूमिका खेलेको बताउनुभयो । भक्तपुरका जनप्रतिनिधिले असल नियतले इमानदारीपूर्वक जनताको सेवा गर्नुलाई नै ख्वप मोडलका रूपमा देशव्यापी प्रचार भइरहेको भन्दै उहाँले असल राजनीति र नेतृत्वले व्यापक जनताको हित हुने हुँदा युवा विद्यार्थीलाई राजनीति गर्न उत्साहित गर्नुपर्ने बताउनुभयो ।

विकेन्द्रीकरण र स्वायत्तताको सिद्धान्तका आधारमा देश अघि बढ्न नसकेकै कारण नेपालमा संघीयता असफल हुुँद गएको जिकिर गर्दै अध्यक्ष बिजुक्छेले शासकहरूमा विवेक र नैतिकताको कमी भएकै कारण देश भ्रष्टाचारको अखडा बन्दै गएको आरोप लगाउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समिति अध्यक्ष सुनिल प्रजापतीले विश्वविद्यालयहरू अनुसन्धान केन्द्र बन्नुपर्ने भन्दै देश र समाजका लागि समर्पित जनशक्ति उत्पादन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आठवटा कलेज सञ्चालन गर्दै आएको बताउनुभयो । देशमा भइरहेको बेथिति र विकृतिबाट सचेत हुँदै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने भक्तपुर नगरको मुख्य उद्देश्य रहेकाले नाफा र फाइदाका लागि नेपाली नागरिकलाई विदेशी बनाउन तयार हुने शासकबाट नेपाली जनता सचेत हुन जरुरी रहेको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईंले आगामी वर्षमा पनि बौद्धिक गतिविधि र प्राज्ञिक अभ्यासले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । कोरोनाका कारण विश्व पर्यटनमा नकारात्मक असर पारेको भन्दैै उहाँले शासकहरू देशको रक्षक हुनुपर्नेमा त्यसको विपरीत काम गरिरहेको आरोपसमेत लगाउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समिति उपाध्यक्ष रजनी जोशीले समाज विकासका लागि शिक्षा अति नै महत्वपूर्ण भएकाले भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै आएको बताउनुभयो ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले परम्परागत ज्ञान र सीप बचाइराख्नुपर्ने आवश्यकता औंल्याउँदै अनुसन्धानका लागि विश्वविद्यालय अनुदान आयोगको मुख ताक्नुपर्ने अवस्था अन्त्य गर्न शैक्षिक संस्थाहरूले अनुसन्धानका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राडा कुसुम शाक्यले सम्मेलनले नयाँ तथ्य पत्ता लगाउन सहयोग पुग्ने भन्दै अनुसन्धान सैद्धान्तिक र व्यावहारिक दुवै ढंगबाट अघि बढाई त्यसबाट निस्केको निष्कर्ष व्यावहारिकरूपमा प्रयोगमा पनि ल्याउनुपर्ने बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि डा. प्रमोद पौडेलले यस आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोगमा अनुसन्धानका लागि चार सय निवेदन परेकोमा दुई सय अनुमोदन भएको र त्यसमा ख्वप कलेज पनि पर्न सफल भएको बताउनुभयो । समाजका चुनौती सम्बोधनका लागि अध्ययन, अनुसन्धान सञ्चालन गरिने बताउँदै उहाँले नेपालमा बर्सेनि ४० देखि ४५ करोड रकम अनुसन्धानमा खर्च भइरहेको तथ्य प्रस्तुत गर्नुभयो । कार्यक्रममा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायतका विषयमा ८० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?