
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा सम्पन्न माटो परीक्षण शिविरमा विभिन्न स्थानबाट ल्याइएको तीनसय ७९ ओटा माटोको नमूना परीक्षण गर्दा ६० प्रतिशत खेतीयोग्य जमिनमा अम्लियपना भेटियो ।
मल तथा माटो परीक्षण केन्द्र गण्डकी प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित दुई दिने शिविरमा खेती योग्य जमिनमा अम्लियपना बढ्दै गएकोले अन्नबालीको उत्पादन घट्नुका साथै रैथानी बालीहर लोप हुँदै गएका माटो परीक्षण केन्द्र पोखराका प्राविधिक खुबराज बरालले बताउनु भयाे ।
माटो परीक्षण ल्याबबाट गरिएको माटो परीक्षण शिविरमा माटोको अम्लिय, नाइट्रोजन, फोसफोरस र पोटासको अवस्थाबारे परीक्षण गरिएको उहाँले जानकारी दिनुभयाे । ‘माटोमा नाइट्रोजन र फसफोरस कमी भएमा उत्पादन वृद्धि नहुने, पोटासको मात्रा कमी भएमा बालीको रोग प्रतिरोधात्मक क्षमता नहुने भएकाले यसकाबारे परीक्षण गरी किसानलाई जानकारी गराई माटोको उर्वरा शक्ति बढाउन माटो परीक्षण गरेका हौँ’ उहाँले भन्नुभयाे ।
माटो परीक्षणमा १४ पिएचमानसम्म परीक्षण हुने र ६.५ भन्दा कमी पिएचमान आएको माटोमा अम्लियपना हुने र ७.५ भन्दा बढी पिएचमान आएमा उक्त माटोमा क्षारिय हुने प्राविधिक बरालले बताउनुभयो । अम्लिय वा क्षारिय दुबै भएको माटोमा उब्जनी कम हुने र तटस्थ माटोमा भने उब्जनी राम्रो हुने उहाँको भनाइरहेको छ ।
‘माटोमा अम्लियपना बढ्नाले उत्पादनमा ह्रास आएको हो,आफ्नो जग्गाको माटोको अवस्था र बाली अनुसार विभिन्न पोषक तथा शुक्ष्म तत्वको बारेमा किसानले थाहा पाउन आवश्यक छ’ प्राविधिक बरालले बताउनु भयाे ।
किसानले रासायनिक मलको बढी प्रयोग गर्नु तथा सन्तुलित मात्रामा प्रयोग नगर्नु नै माटोमा अम्लिय हुने मुख्य कारण रहेको भन्दै जथाभावि रासायनिक मलको प्रयोग नगर्न उहाँले किसानलाई सुझाव दिनुभयाे ।
माटो परीक्षण शिविरमा बेनी नगरपालिका वडा नं २ का अध्यक्ष यामबहादुर कार्कीले माटो परीक्षण प्रयोगशालाको रिर्पोटबाट उत्पादन हुने क्षेत्रमा समेत अम्लियपना देखिएकोले कृषि जोन घोषणा गरी माटोको उपचार गरिने बताउनु भयाे ।
‘अब माटोको उपचारमा केन्द्रित भएर कृषि बजेट विनियोजन गर्छौ’ वडाअध्यक्ष कार्कीले भने“उत्पादन बढाउन र माटो सुर्धानका लागि कृषकलाई आवश्यक सहयोग चाहिन्छ,कृषकको मिहिनेत अनुसारको उत्पादन हुन नसक्नुको कारण माटोको खरावी पनि रहेछ ।’
किसानले माटोमा अम्लियपना बढेको शंका लागेमा चार पाँच वर्षमा आवश्यकता अनुसार कृषिचुन प्रयोग गर्नु पर्ने र कृषि चुन छरिसकेपछि जमीन जोत्नुपर्ने प्राविधिक बरालले बताउनु भयाे ।
यसरी कृषि चुन प्रयोग गरी जोतेको जग्गामा एक महीनासम्म कुनै पनि बाली लगाउन नहुने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि चुनले माटोलाई कुनै हानी नगर्ने भएकाले हरेक चार/पाँच वर्षमा माटो परीक्षण गरी कृषि चुन प्रयोग गर्नुपर्ने कृषि प्राविधिकहरुले बताएका छन् ।
आफ्नो खेतबारीमा भरसक प्राङ्गारिक मलको प्रयोग गर्न प्राविधिकहरुले सुझाएका छन् । रासायनिक मलको मात्र प्रयोग हुँदा माटोमा अम्लिय भएको भन्दै कृषि प्राविधिकको सल्लाहमा रासायनिक मलको प्रयोग गर्न कृषि ज्ञान केन्द्र म्याग्दीले आग्रह गरेको छ । कृषि चुनको प्रयोगले पनि माटोमा अम्लिय नहटेमा माटो नै कटान गरी फाल्नुपर्ने कृषि प्राविधिकहरुले बताएका छन् ।
माटोको उर्बराशक्तिमा ह्रास आउँदै गएपछि अग्र्यानिक रैथाने कृषि उत्पादन अब तीव्ररूपमा घट्दै गएको जिल्लाकै अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनु भयाे । उहाँले भन्नुभयाे ‘विगत ५–६ वर्षयता माटोमा अम्लियपना बढ्दै गयो, रैथाने बीउबाट फसल उत्पादन घट्दै जान थाल्यो, विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो ।’
कृषि प्राविधिकहरुका अनुसार जलवायु परिवर्तनका कारण पनि यस्ता समस्या म्याग्दीमा मात्रै होइन, जताततै देखिन थालेका छन् । जलवायु परिवर्तनका कारण रैथाने जातको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बीउहरू त लोप पनि भइसकेका छन् ।’ कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको उनीहरुको भनाइरहेको छ ।
कृषि वैज्ञानिकहरुका अनुसार माटोमा पीएच मान ७ बाट घट्दै सून्यसम्म पुग्दा अम्लियपना बढ्दै जान्छ । साधारणतया पीएच मान ५ दशमलव ५ देखि ७ दशमलव ५ सम्म रहेको माटो कृषिका लागि उपयुक्त मानिन्छ ।
माटोमा रहेको हाइड्रोजनको मात्रा नाप्ने मापलाई पीएच भनिन्छ । माटोको प्रतिक्रिया अर्थात् माटोकोे अम्लियपना, क्षारिय वा तटस्थ छ भनेर पत्ता लगाउन पीएच मापन गरी थाहा पाउन सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच