
धनगढी । देब्रे हाते स्पिनर भुवन कार्कीले असाधारण बलिङ प्रदर्शन गर्दै आठ विकेट लिँदा धनगढी स्पोर्ट्स क्लब कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करणको सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने खेलमा धनगढी स्पोट्र्स क्लबले खप्तड इण्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ६७ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने चौथो टिम बन्न पुग्यो । यसअघि नै समूह ‘बी’ बाट युथ अफ टिकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
शुक्रबार प्रतियोगिताका दुईवटा सेमिफाइनल खेल सञ्चालन हुनेछन् । पहिलो सेमिफाइनल बिहान ९ बजे धनगढी स्पोट्र्स क्लब र घोडाघोडी क्रिकेट एकेडेमी तथा दिउँसो १ बजे सत्यवती एकेडेमी र युथ अफ टिकापुरले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।
फाप्ला क्रिकेट मैदानमा धनगढी स्पोट्र्स क्लबले दिएको १६४ रनको लक्ष्य पछ्याएको खप्तड इण्डोरले १९.३ ओभरमा ९६ रन बनाउँदा सबै विकेट गुमायो । लक्ष्य पछ्याउने क्रममा ७९ रनमा एक विकेट गुमाएको अवस्थाबाट थप १७ रन जोड्दा खप्तड स्पोट्र्सले सम्पूर्ण विकेट गुमायो ।
प्लेयर अफ द म्याच घोषित भएका भुवन कार्कीले आठ विकेट लिने क्रममा चार ओभरमा १८ रन खर्चिनुभयो । त्यसक्रममा कार्कीले इनिंग्सको पन्ध्रौँ ओभरमा तीन विकेट तथा सत्रौँ ओभरमा चार विकेट लिनुभएको थियो । कार्कीले तीनपटक लगातार दुई–दुई विकेट लिए तापनि हृयाट्रिक विकेट भने पूरा गर्न सक्नुभएन । कार्कीले तीन ब्याटरलाई बोल्ड तथा पाँच ब्याटरलाई क्याच आउट गर्नुभयो । टिमका अर्का स्पिनर सुनिल धमलाले दुई विकेट लिनुभयो ।
खप्तड इण्डोर स्पोर्ट्सको ब्याटिङमा अभिषेक थापाले सर्वाधिक ४२ रन तथा प्रकाश पाण्डेले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सक्नुभएन । यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले २० ओभरमा पाँच विकेट गुमाएर १६३ रन बनायो ।
धनगढी स्पोर्ट्सका लागि ओपनर सुनिल धमलाले अर्धशतकीय योगदान दिनुभयो । धमलाले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गर्नुभयो । कप्तान भुवन कार्कीले ३६, प्रनित थापाले २६ तथा अमर सिंह रौटेलाले अविजित १२ रन योगदान दिनुभयो । धमलाले दोस्रो विकेटका लागि भुवन कार्कीसँग ८४ रनको तथा तेस्रो विकेटका लागि प्रनित थापासँग ५४ रनको साझेदारी गर्नुभयो । खप्तड इण्डोर स्पोर्ट्सको बलिङमा रवि विष्ट र आर्यन विष्टले दुई-दुई विकेट तथा वीरेन्द्र बमले एक विकेट लिनुभयो ।
लिटल फ्लावर स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टिमको सहभागिता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच