चान्द्रमहिनाको ३०औँ तिथि (दिन) औँसी हो । औँसी तिथिलाई अमावास्या पनि भनिन्छ । ‘अमा सह चन्द्रार्कौ वसतो यत्र तिथौ सा, अमा+वस्+आधारे ण्यत्, स्त्रियां टाप् । णित्वात् वृद्धिः’ पूर्वक आमावास्या शब्दको निर्माण हुन्छ । जसको अर्थ चन्द्रमा र सूर्य एउटै राशिमा बसेको तिथि भन्ने हुन्छ । चन्द्रमाको सोह्रौँ कला अमा हो । जुन दिन उक्त सोह्रौँ कला प्राप्त हुन्छ त्यही दिनलाई अमावस्या वा अमावास्या भनिन्छ । नेपालीमा यही अमावास्या तिथिलाई औँसी तिथि भनिन्छ । चन्द्रमाको अमा नामक किरण उक्त दिन रहँने र अन्य १५ कला लुप्त हुने भएकाले यो दिनलाई अमावास्या भनिएको हो । अमावास्याको दिशा ईशान हो ।
अमावास्या तिथिका स्वामी पितृ हुन् । यस तिथिमा चन्द्रमाको सोह्रौँ कला जलमा प्रविष्ट हुन्छ । यसैले चन्द्रमाको बास यस दिन औषधिमा हुन्छ । अतः जल र औंषधिमा प्रविष्ट उक्त अमृतको ग्रहण गाई भैसी आदि पशुले गर्दछन् ।
यस तिथिका दिन भगवान् शिव गौरीका सान्निध्यमा रहने भएकाले रुद्रभिषेक कर्म शुभ रहन्छ । औँसी तिथिका दिन वनस्पतिमा सोम चन्द्रमाको वास हुने भएकाले उक्त दिन हलो जोत्न निषेध गरिएको छ । उक्त दिन गोरुलाई दिनभर चर्न छोडिदिनुपर्दछ । जसबाट गोरुले अमृत पान गर्दछन् र जोत्न सक्षम हुन्छन् भन्ने मान्यता रहेको छ । यसैगरी यस तिथिका दिन क्रयविक्रका साथै काम्य देवकार्य निषेध रहन्छन् । औँसी तिथि केतुको जन्मतिथि पनि हो ।
औँसीका भेद
औँसी तिथिका सिनीबाली र कुहू गरी दुई भेद छन् । चन्द्रमा देखिने औँसीलाई सिनीवाली भनिन्छ । ‘सा दृष्टेन्दुः सिनीवाली’ भनी अमरकोषमा बताइएको छ । ‘सिनीं (श्वेतां) चन्द्रकलां वलतीति सिनीवाली’ अर्थात् सेतो चन्द्रकला दर्शाउने औँसीलाई सिनीवाली भनिन्छ । औँसीका दिन चन्द्रमाको कला देखिन्छ भने त्यो सिनीवली हुन्छ । थोरै चन्द्रमाको कला देखिने औँसी सिनीवाली हो । चतुर्दशीयुक्त अमावास्यालाई सिनीवाली भनिन्छ ।
चतुर्दशी उदय तिथिकै दिन औँसी पनि परेको छ वा औँसी तिथि क्षय भएको अवस्था छ भने उक्त दिनलाई सिनीवाली भनिन्छ । कुहू : चन्द्रकला पूर्णतः अभाव हुने औँसीलाई कुहू भनिन्छ । ‘दृष्टचन्द्रा सिनीवाली नष्टचन्द्रा कुहूः स्मृता’ (कालमाधव, व्यास) भनी बतइएको छ । ‘तिथिक्षये सिनीवाली तिथिवृद्धौ कुहूः स्मृता । साम्येद्रपि कुहूज्र्ञेया वेदवेदाङ्गवेदिभिः ।।’ (निर्णयसिन्धु) अर्थात् तिथि क्षय हुँदा सिनीबाली र तिथि वृद्धि भई चन्द्रकला पूर्णतः अभाव हुने तिथिलाई कुहू भनिन्छ ।
तिथि वृद्धि भएको छ भने पहिलो दिनको तिथि सिनीवलाी र दोस्रो दिनको औँसी कुहू हुन्छ : ‘द्वे ह वा अमावास्या या पूब्र्बामावास्या सिनीवाली योत्तरा सा कुहूरिति’ भनी वेदमा बताइएको छ । यस दिन पितृप्रति गरिएको श्रद्धाभाव अक्षयय फलदायक हुन्छ । सोमबार, मंगलबार र बिहिबारका दिन तथा अनुराधा एवं स्वाती नक्षत्रमा पर्ने औँसीलाई विशेष पवित्र मानिन्छ । (आपटे, पृ.९१) आमावास्याको पौराणिक कथा पनि पाइन्छ । पितृदेवताकी ‘अच्छोदा’ नामक मानसपुत्री थिइन् । अच्छोदाले एक पटक हजार वर्षसम्म कठोर तपस्या गरिन् र पितृगण उनलाई वरदान दिन आए । पितृगणमध्ये अमासुर पनि साथमै थिए । अच्छोदाले अमासुलाई मन पराइन् र अमासुरसँग कृष्णपक्षको पन्ध्रौँ तिथिमा विवाह गरिन् । यसरी अमासुर अच्छोदाको वशमा परेको भएर आमावास्या नामकरण गरिएको मत्स्यपुराणमा कथा छ ।
तिथि भनेको चान्द्र महिनाको एक दिन हो । सूर्य र चन्द्रमाको १२ अंशको अन्तरमा एक तिथि हुन्छ । जब सूर्य र चन्द्रमा एउटै राशिमा वा १२ अंशभित्र रहन्छन् उक्त दिनलाई औँसी वा अमावास्या भनिन्छ ।
अमावास्या तिथिका स्वामी पितृ हुन् । यस तिथिमा चन्द्रमाको सोह्रौँ कला जलमा प्रविष्ट हुन्छ । यसैले चन्द्रमाको वास यस दिन औषधिमा हुन्छ । अतः जल र औँषधिमा प्रविष्ट उक्त अमृतको ग्रहण गाई–भैसी आदि पशुले गर्दछन् । सोही अमृत हामीलाई दुध, घिउ आदिमा प्राप्त हुन्छ । सोही घृताहुति यज्ञमार्फत् चन्द्रादि देवतालई दिइन्छ । सोही अमृत पूर्णिमाका दिन बढेर चरम सीमामा पुग्ने गर्दछ : ‘कला षोडशिका या तु अपः प्रविशतो सदा । अमायां तु सदा सोमः औषधिः प्रतिपद्यते ।। तमोषधिगतं गावः पिवन्त्यम्बुगतं च यत् । तत्क्षीरममृतं भूत्वा मन्त्रपूतं द्विजातिभिः । हुतमग्निषु यज्ञेषु पुनराप्यायते शशी । दिने दिने कला वृद्धिः पौर्णमास्यां तु पूर्यते ।।’ यसरी चन्द्रमाको कला पूर्णत लुप्त हुने औँसी तिथिको विशेषता रहेको छ । औँसीमा पनि व्रत वस्ने विधान पाइन्छ । यस दिन सांसारिक कार्य नगर्नू भनिएको छ ।
औसीमा स्नान दानको महिमा
औसी तिथिमा स्नानको पनि विशेष महिमा रहेको छ । मंगलबार औँसी परेको दिन गङ्गा स्नान गर्नाले हजार गाई दान गरे बराबरको फल प्राप्त हुन्छ । यसैगरी सोमवारका दिन औँसी परे सोमबारे औँसी हुन्छ । यसदिन मौन (नबोली) स्नान गर्नाले विषुवत् स्नान गरे बराबरको अक्षय पुण्य फल प्राप्त हुन्छ भनी निर्णयसिन्धुमा बताइएको छ : ‘अमावास्यां भवेद् वारो यदा भूमिसुतस्य वै । जाहृनवीस्नानमात्रेण गोसहस्रफलं लभेत् । अमा वा सोमवारेण रविवारेण सप्तमी । चतुर्थी भौमवारेण विषुवत्सदृशं फलम् ।’ (निर्णयसिन्धु, प्रथमपरिच्छेद, पृ.९४) यसैगरी उक्त दिन सिनीवाली वा कुहू भए पनि स्नान फलिभूत रहन्छ भनी व्यासले बताएको कुरा निर्णयसिन्धुमा उल्लेख छ : ‘सिनीवाली कुहूर्वापि यदि सोमदिने भवेत् । गोसहस्रफलं दद्यात्स्नानं चेन्मौनिना कृतम् ।।’ (निर्णयसिन्धु, पृ.९४)
माघ कृष्ण औँसी तिथिका दिन शतभिषा वा पू्र्वाभाद्रपदा नक्षत्र पर्दछ भने उक्त समय पितृका लागि अत्यन्त प्रिय रहन्छ । महाभारतमा पनि माघ कृष्ण अमावास्यामा धनिष्ठा नक्षत्र भएको समय पितृका निम्ति तिल दान गर्दा दशहजार वर्षसम्म पितृ तृप्त हुन्छन् भनी बताइएको छ : ‘माघासिते पञ्चदशी कदाचिदुपैति योगं यदि वारुणेन । ऋक्षेण कालः स परः पितृृणां न ह्यल्पपुण्यैर्नृप! लभ्यतेद्रसौ ।।’ (विष्णुपुराण) ‘काले धनिष्ठा यदि नाम तस्मिन् भवेत्तु भूपाल तदा पितृभ्यः । दत्तं तिलान्नं प्रददाति तृप्तिं वर्षायुतं तत् कुलजैर्मनुष्यैः ।।’ (महाभारतको वचन, निर्णयसिन्धु, पृ.६१)
औंसीमा श्राद्धगर्नुको कारण
औँसीका दिन सूर्य र चन्द्रमा एउटै राशिमा रहन्छन् । न्यून अन्तर रहने भएकाले उक्त दिन चन्द्रमा अस्त हुन्छन् । पितृको निवासस्थान चन्द्रमाको माथिल्लो भागमा बताइएको छ । औँसीका दिन पितृलोकमा मध्याह्न भोजन गर्ने समय हुने भएकाले यसदिन पितृप्रति श्रद्धा भक्तिपूर्वक श्राद्धादि कर्म गरिएको हो । अग्निले पितृलाई प्रदान गरिएका वस्तु पुर्याउछन् भनी ऋग्वेदको अग्निसूक्तमा बताइएको छ : ‘अग्निः पूर्वेभिर्ऋषिभिरिड्यो नूतनैरूतसदेवाँएहवक्षति ।।’ (ऋग्वेद, अग्निसूक्त २) यसैले अग्नि नै देव तथा पितृका स्तुत्य छन् ।
यसैगरी पितृलाई अर्पण गरिएका वस्तु सूर्यद्वारा वाष्पभई पितृलोकमा पुग्ने र त्यही भोजनले पितृ तृप्त हुन्छन् भन्ने धर्मशास्त्रीय मान्यता रहेको छ । हामीले भोजन गरेजस्तै पितृले पनि भोजन गर्ने समय भनेको औँसी हो । हाम्रो एक महिना बराबर पितृलोकमा एक दिनरात हुन्छ । हाम्रो शुक्लपक्षको पूर्णिमाका दिन पितृलोकमा मध्यरात हुन्छ र औँसीका दिन झमल्ल दिन हुन्छ । यसैले पितृको दिनमा गरिएका कार्य पितृ तृप्तिदायी रहनछन् । कृष्णपक्ष पितृको दिन एवं भोजन गर्ने समय भएकाले उपयुक्त समयमा गरिएको श्राद्धादिकर्म पूर्णतः पितृतृप्तिदायी रहन्छ । पितृ तृप्त भए भने सन्ततिलाई आशीर्वाद प्रदान गर्दछन् । पितृ रुष्ट भए भने सन्ततिलाई हानि पुग्छ । किनकि हामी पितृकै अंशरूप हौँ ।
औँसी तिथिमा जन्मशान्ति विधि
पितृका लागि तृप्तिदायी रहे पनि पृथ्वीवासीका निम्ति औँसी शून्य फलदायी रहन्छ । चन्द्रजन्य प्रभाव कमजोर रहने भएकाले औँसीमा जन्म भए शान्ति गर्नुपर्ने विधान शास्त्रमा बताइएको छ । औँसी तिथिमा जन्म हुने व्यक्तिका माता पितालाई अर्थको सङ्कट पर्नसक्छ भन्ने फल बताइएको छ, यसैले शान्ति गर्नु पर्ने विधान शास्त्रमा निर्देश छ । अग्निस्थापनादि विधिले मण्डप निर्माण गरी पूर्वाङ्ग हवन पूजनपश्चात् सङ्कल्पपूर्वक एक कलशको स्थापना गर्नुपर्दछ । उक्त कलशमा द्रव्य, दही, घ्यू, वर, डुम्री, पिपल, चूत (आँप), निम यी रूखका जरा, बोक्रा, पात, पञ्चरत्न राखी जोडा (रातो सेतो) वस्त्रले वेष्टित गर्नुपर्छ । यसपछि ‘सर्वे समुद्रा ...आपो हिष्ठा..’ वेदका ऋचा पढ्नुपर्छ । ‘कयानश्चित्र...समुद्र ज्येष्ठा...’मन्त्रले अभिमन्त्रण गरेर उक्त कलश यज्ञवेदीको पूर्र्वी भागमा राख्नुपर्छ ।
औँसीका देवता, चन्द्रमा र सूर्यका सुन, चाँदी र तामाका प्रतिमा बनाउनुपर्दछ । ‘अप्ययस्व..’ भन्ने मन्त्रले सूर्यको र चन्द्रमाको विशेष विधिपूर्वक पूजा गर्नुपर्दछ । सवितृ.. मन्त्रले सूर्य र सोमो धेनु..मन्त्रले चन्द्रमाको १०८ हवन गर्नुपर्दछ । यसका साथै विधिपूर्वक अभिषेक गर्नुपर्दछ । यसपछि ब्राहृमणलाई सुन चाँदी आदि दक्षिणा दिनुपर्छ भनी होरारत्नम्मा बताइएको छ । (होरारत्न अध्यय २ दर्शशान्ति श्लो. १–७) ।
तिथि भनेको चान्द्र महिनाको एक दिन हो । सूर्य र चन्द्रमाको १२ अंशको अन्तरमा एक तिथि हुन्छ । जब सूर्य र चन्द्रमा एउटै राशिमा वा १२ अंशभित्र रहन्छन् उक्त दिनलाई औँसी वा अमावास्या भनिन्छ । यस दिन सूर्यको चम्किलो प्रकाशभित्र चन्द्रमा रहने भएकाले चन्द्रमाको दर्शन हुन सक्दैन । सूर्य चन्द्रमा र पृथ्वी एउटै सरलरेखामा रहँदा औँसीका दिन सूर्य ग्रहण लाग्ने सम्भावना पनि रहन्छ । मूलतः औँसी पितृकर्मका निम्ति उत्तम समय हो । देवकार्य औँसी तिथिमा निषिद्ध रहन्छन् । किनकि यस दिन चन्द्रमा अस्त हुन्छन् र चन्द्रजन्य प्रभाव शून्यप्रायः रहन्छ । यसैले औँसीमा पितृप्रति श्राभाव व्यक्त गर्नु भनिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच