काठमाडौं । गत असारदेखि बन्द मेलम्ची खानेपानी आयोजनाको पानी अझै काठमाडौं आउन सकेको छैन । आयोजनाको बाँधमा धमिलो पानी र बाढी आउन थालेपछि साढे दुई महिनाका लागि बन्द गरिएको पानी पाँच महिना बढी समय हुँदासमेत आउन नसकेको हो । असार २० गतेदखि मेलम्ची खानेपानी आयोजनामार्फत काठमाडौं ल्याएको पानी वितरण बन्द गरिएको थियो । साउन र भदौ दुई महिना बन्द गरेर असोजदेखि पुनः काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)को योजना थियो । तर, बन्द भएको पाँच महिना बढी हुँदासमेत मेलम्चीको पानी वितरण अनिश्चित बनेको छ ।
बाढी-पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा मुख्य बाँधमा थुप्रिएको माटोको लेदो र गेग्य्रान अहिलेसम्म हटाउने कामसमेत सुरु हुन सकेको छैन । यस पटकको बाढी-पहिरोले आयोजनाको मुहान र हेडबक्र्सका साथै आयोजनाको गेट नम्बर ९ र १० पूर्ण रूपमा पुरिएको छ । गतवर्ष मंसिरदेखि वितरण सुरु गरिएको पानी यो वर्ष पुस लागिसक्दासमेत आउने छाँटकाट छैन । यो वर्ष बाढी-पहिरोले आयोजनामा ठूलो क्षति पुर्याए पनि अहिलेसम्म मर्मतसम्भार तथा निर्माण सुरु हुन नसकेको आयोजनाले जनाएको छ । अहिलेसम्म आयोजनाको मुहानसम्म पुग्ने सडकसमेत बगाएकाले हेडबक्र्स र मुहान क्षेत्रमा पुगेको क्षतिसमेत यकिन हुन सकेको छैन ।
मर्मत तथा निर्माणसम्बन्धी निर्णय गर्ने मेलम्ची खानेपानी समिति नै डेढ महिनादेखि समिति कार्यकारीविहीन छ । कार्यकारी पदाधिकारी नियुक्त नहुँदा समितिको बोर्ड बैठक बस्न सकेको छैन । मर्मत सुरु गरिएको डेढदेखि दुई महिनामा पुनः पानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ । यसरी हेर्दा तत्काल मर्मत सम्हारको काम सुरु भइहाले पनि कम्तीमा माघअघि काठमाडौंमा मेलम्चीको पानी आउने सम्भावना न्यून छ ।
दुई वर्षअघि नै आयोजनाको बाँधमा बाढीले पुगेको क्षति मर्मत नभएको र विकल्पमा खोलिएको डाइभर्सन टनेलसमेत थुनिने डरले बर्खा लागेसँगै खानेपानी बन्द गरिएको थियो । आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ चैत १५ गते पहिलोपटक मेलम्चीको पानी उपत्यकामा वितरण गर्न सकिएको थियो । २०७८ असार र साउनमा मेलम्ची खोलामा आएकोे भीषण बाढी–पहिरोले आयोजनाको मुहान र हेडबक्र्समा ठूलो क्षति पुर्याएको थियो । त्यसपछि बन्द रहेको मेलम्चीको पानी २०७९ वैशाख ११ गतेबाट अस्थायी रूपमा वितरण सुरु गरिएको थियो ।
खाली भाँडासहित काठमाडौंमा प्रदर्शन
काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । सोमबार काठमाडौंको कोटेश्वरदेखि मीनभवनसम्म उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलशलगायत सामग्री प्रदर्शन गरेका थिए । उनीहरूले ‘मेलम्ची पानी छिटो खोल्’, ‘मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्’ लगायत नारासमेत लगाएका थिए । मनसुन सकिएको तीन महिनासम्म पनि धारामा मेलम्चीको पानी नचुहिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । अहिले काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । तर, आपूर्ति भने १० करोड लिटर हाराहारी मात्रै छ ।
तारन्तार निरीक्षण र अवलोकन, छैन उपलब्धि
गत मंसिर १६ गते अम्बाथान पुग्नुभएका खानेपानी मन्त्री महिन्द्रराय यादवले दुई दिन बसेर आयोजनास्थलको अवलोकन गर्नुभएको थियो । यादव काठमाडौं फर्किएलगत्तै खानेपानी मन्त्रालयले एसियाली विकास बैंकको रिपोर्ट एक महिनाभित्र पुनरवलोकन गराउने निर्णय गरेका थियो । सुक्खायाम सुरु भई खानेपानीको समस्या विकराल रूपमा सिर्जना भइसकेको हुँदा आवश्यक मर्मत गरेर विद्यमान संरचनाबाट मेलम्चीको पानी तत्काल काठमाडौं पथान्तरण गर्ने निर्णय पनि मन्त्रालयले गरेको थियो । खानेपानी मन्त्री यादव मात्रै होइन त्यसपछि सभामुख देवराज घिमिरेले समेत मेलम्ची खानेपानीको मुहान अवलोकन गर्नुभएको थियो । आइतबार मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु-१ अम्बाथानको निरीक्षण गर्दै उहाँले प्राविधिक स्टमेट गरेर मेलम्ची खानेपानी काठमाडौं सक्दो चाँडै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँहरू मात्रै होइन गत असार स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मेलम्ची पुग्नुभएको थियो । मेलम्ची पुगेर उहाँले ओजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो । जसले जतिपटक निरीक्षण र अवलोकन गरे पनि मेलम्चीको पानी भने अझै काठमाडौं आउन सकेको छैन ।
मुहान सार्न प्रस्ताव, चार अर्ब खर्च थपिने
मेलम्चीमा हरेक वर्ष बाढी-पहिरोको समस्याका कारण पानी ल्याउन समस्या हुने भएपछि त्यसको दीर्घकालीन समाधानका लागि एसियाली विकास बैंकले अध्ययन गरेर एक प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा काठमाडौं पानी पठाउने दीर्घकालीन समाधानका लागि हालको पानी पठाउने ठाउँभन्दा ७०० मिटरमाथि नयाँ बाँध बनाउन प्रस्ताव गरेको छ । त्यसका लागि चार अर्ब हाराहारी खर्च लाग्ने पनि प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार आयोजना स्थलमा एउटा थप टनेल थप्न सुझाव दिइएको छ । दीर्घकालीन समाधानका लागि नयाँ ठाउँमा हेडबक्र्स बनाउन सुझाव दिइएको हो ।
एडिबीले गरेको अध्ययनमा अर्को ठाउँमा हेडबक्र्स बनायो भने पहिरोको असर, बाढीको असरलाई कम गर्न सकिन्छ । दुई वर्षअघि २०७८ सालको असारमा मेलम्चीमा भीषण बाढी-पहिरोले क्षति पुर्याएपछि एडिबीले क्षति रोक्ने उपायका लागि अध्ययन थालेको थियो ।
मेलम्ची खानेपानी आयोजनाको जिम्मा पाएको सिनो हाइड्रो कम्पनीले अहिले काम रोकेको छ । निर्माण कार्यमा रकम उपलब्ध नभएको भन्दै कम्पनीले निर्माण रोकेको हो । तत्काल रकम उपलब्ध नगराए काम गर्न नसकिने उसको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच