सिन्धुली । ‘सिन्धुलीमा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिरहँदा जिल्लाको शान्ति सुरक्षा, विशेषरी महिला, बालबालिका, अपांगता भएका र ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर सेवा प्रदान गर्नु, क्रियाशील राजनीतिक दल, विभिन्न सञ्जाल, सामाजिक संस्था, व्यवसायी तथा व्यापारिक संस्थालगायत आफू मातहतका कार्यालयसँग समन्वयात्मक भूमिकामा देखाउनु भएको सक्रियता र सेवा सिन्धुलीवासीका लागि अनुकरणीय छ ।
छोटो समयमा जिल्लाको विभिन्न क्षेत्रमा पुगि त्यहाँको वस्तुस्थिति बुझ्ने र सेवा प्रदान गर्ने कार्यमा देखाउनु भएको चासोका लागि आभारी छु । सर्वसुलभ तरिकाले सेवाग्राहीले सेवा प्राप्त गरोस् भन्ने उद्देश्यले गरिएको व्यवस्थापन प्रशंसनीय छ । तपाईंको सरुवा भएको कुराले सिन्धुलीले यो सक्रितासहितको प्रशासकलाई बिदाइ गर्नुपर्ने भएकोमा दुःखित छु । यो क्रियाशीलता र सेवा अर्को जिल्लाले पनि प्राप्त गर्ने नै छ । कुनै पनि विवाद, तिक्तता, वैमनुश्यता र आक्षेपरहित भएर बिदाइ लिनु आजको परिवेशमा सुखद् मान्नुपर्छ ।’
सिन्धुलीका स्थानीय युवा तथा सामाजिक अभियन्ता मिलन श्रेष्ठले भन्नुभए जस्तै ११ महिनादेखि सिन्धुलीको कमाण्ड अब्बल रूपमा समाल्दै आउनुभएकी प्रजिअ सुनिता नेपालको क्रियाशीलता र उहाँले प्रदान गर्ने नागरिकमैत्री सेवा अब स्याङ्जा जिल्लाले पाउने भएको छ । राष्ट्रसेवक कर्मचारीको सरुवा नियमित प्रक्रिया हो । उहाँ सोही प्रक्रियाका क्रममा प्यूठानबाट सरुवा भई गत माघ १६ गते यहाँ आउनुभएको थियो । त्यसैगरी, सिन्धुलीबाट उहाँ बिहीबार स्याङ्जा जाँदै हुनुहुन्छ ।
२०२७ सालयता ४६ जना पुरुष प्रजिअले यस जिल्लाको कमाण्ड सम्हालेका थिए । ४७औं प्रजिअ सुनिताले महिला नेतृत्व शालीन, असल, कुशल र काममा अब्बल हुन्छन् भन्ने दर्बिलो उदाहरण प्रस्तुत गर्नुभयो । प्रजिअको जिम्मेवारीसँगै सामाजिक कार्यमा देखाउनु भएको सक्रियता उदाहरणीय छ । निर्णयमा परिपक्कता र काममा अब्बल हुनुहुन्छ । नागरिकका आवश्यकतालाई बुझेर जिल्ला प्रशासनबाट प्रवाह हुने सेवालाई नागरिकमैत्री बनाउन उहाँले गर्नु भएको प्रयास प्रशंसनीय छ ।
उहाँले जिल्ला आउने बित्तिकै कार्यालयमा अभिलेख व्यवस्थापनको कामलाई अगाडि बढाउनुभयो । पहिला कपडामा पोको पारेर राखिएको अवस्था थियो । अहिले ढड्डा बनाएर व्यवस्थापन गर्नु भएको छ । यसका लागि तीनपाटन गाउँपालिका र मरिण गाउँपालिकाले सहयोग गरेको प्रजिअ सुनिताले बताउनुभयो । स्थानीय तहसँगको समन्वयमा अपांगता भएका व्यक्तिलाई घर-घरमा पुगेर नागरिकता वितरण गर्ने तथा नागरिकता, विवाह र जन्म दर्तासम्बन्धी सचेतना बढाउन उहाँको नेतृत्वमा भएको कार्यको सर्वत्र सकारात्मक चर्चा छ । उहाँले आफ्नो पहलमा बुढेसकालसम्म नागरिकता नबनेका कारण राज्यले दिइने सेवा, सुविधाबाट बञ्चित भएका तीनजना ज्येष्ठ नागरिकलाई कानुनी प्रक्रिया पु¥याएर नागरिकता वितरण गर्नु भएको थियो ।
अझै पनि कतिपय कानुनी समस्याका कारण केही व्यक्तिको नागरिकता जारी गर्न समस्या भइराखेको उहाँको भनाइ छ । ‘जिल्ला प्रशासन कार्यालयमा रहेर कामहरू आफैं गर्नेभन्दा पनि समन्वय र सहजीकरण गरेर अरूबाट गराउने रहेछ । जन्म दर्ता, नागरिकता, विवाह दर्ता र खोप कार्ड महिलाहरूको पिएनसी टेष्टसँग जोडिदिन पाए समयमै बन्थ्यो । बच्चालाई ४५ दिनको खोप लगाउन जाँदा तपाईंको बच्चाको जन्म दर्ता छ कि छैन भनेर सोध्ने, छैन भने अर्को पटक आउँदा त्यो पनि लिएर आउनु है, यो अनिर्वाय छ भन्यो भने त्यही बेला बच्चाको जन्म दर्ता बन्थ्यो । प्रिगेन्सी टेष्ट गर्ने बेला नागरिकता र विवाह दर्ता अनिर्वाय लिएर आउनु नभए सुत्केरी भएपछि राज्यले दिने सेवा सुविधा पाइँदैन भनेर जोड दिन पायौं भने आमा-बुबाका कारण बच्चाको भविष्यमाथि खेलबाड हुने काम बन्द हुने थियो,’ उहाँले भन्नुभयो ।
१३ वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेर काम गर्नुभएकी प्रजिअ सुनिता जिल्लामा रहेको सुरक्षित आवास गृह (सेफ हाउस)को व्यवस्थापन र संरक्षणका लागि पालिकाहरूको बैठक राखेर कार्यविधि बनाउन सफल हुनुभयो । उहाँ सिन्धुली खटिएलगत्तै दुईजना आमाहरूको बच्चा जन्माउने क्रममा मृत्यु भयो । यो घटनापछि जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीलाई सुविधा सम्पन्न अस्पतालमा पुर्याउन आकस्मिक हवाई सेवा निःशुल्क उपलब्ध गराउन पहल गर्नु भएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य सचिव र मन्त्री दुवै जनाले यसका लागि बजेटको व्यवस्था गरिएको र अहिले कार्यविधि बनिरहेको जनाएका छन् ।
प्रजिअ सुनिता नागरिकको अपेक्षा तथा जनभावनानुसार सेवा प्रवाह गर्न विशेष जोड दिनुहुन्छ । तर, यसका लागि चुनौती छ । सेवाग्राहीको अपेक्षा कार्यालय प्रवेश गर्ने वित्तिकै काम भइदियोस् भन्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयमा आवश्यक जनशक्ति छैन । २२ जनाको दरबन्दी छ । सात दरबन्दी रिक्त रहँदा कार्य सम्पादनमा समस्या भइरहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार हाल पालिकाहरूबाट तीनजना र हुलाकबाट दुईजनाको सहयोेग लिएर जिल्ला प्रशासन चलिरहेको अवस्था छ ।
कतिपय कार्य सम्पादन समय लिएर नै गर्नुपर्ने हुन्छन् । ‘नागरिकता भन्ने विषय एकदमै जटिल विषय हो । यो राष्ट्रियतासँग जोडिएको छ । नीति बनाउँदा एक घण्टामा नागरिकता वितरण गर्ने भन्नेछ । कुनै गलत विवरणको आधारमा नागरिकता जारी भयो भने जाहेरी गर्ने कर्मचारीसमेत अदालतमा जानुपर्ने, मुद्दा खेप्नुपर्ने चुनौती छ,’ उहाँले भन्नुभयो, ‘विदेशमा भए कम्तीमा १५ दिन उसको बारेमा बुझ्न समय लाग्छ, हाम्रो सिस्टम नै परिवर्तन गर्नुपर्दछ ।’
जिल्लाको विकट भौगोलिक बनावटका कारण जिल्लामा इलाका प्रशासनको आवश्यकता देखिएको छ । उहाँका अनुसार एक दिनको पुरै समय खर्चिएर सात सय गाडी भाडा तिरेर सेवाग्राही जिल्ला प्रशासनमा आउने गर्दछन् । आज बसेर भोलि जानु भन्न खर्च बोकेर आएका हुँदैनन् । कहिलेकाही प्रशासनमा भएका कर्मचारीले साँझ ८ बजेसम्म खटिनुपर्ने बाध्यता छ । दशैँ, तिहारको बीच र अहिले दैनिक ७ बजेसम्म नागरिकता जाहेरी गर्नु परिरहेको उहाँले बताउनुभयो । भन्नुभयो, ‘त्यस्ता सेवाग्राहीलाई पायक पर्ने गरि इलाका कार्यालय स्थापना गर्न सकियो भने नागरिकमैत्री सेवा प्रवाहमा सहयोग पुग्ने थियो ।’
जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्षसमेत रहनु भएको प्रजिअ सुनिता कुनै विपद् आउँदा आर्थिक व्यवस्थापनमा समस्या हुने गरेको सुनाउनु हुन्छ । केन्द्रले बनाएको नीतिमा विपद्मा परेर मृतक भएकाको परिवार र आवास पूर्णरूपमा क्षति भएको अवस्थामा मात्रै राहत दिने व्यवस्था छ । गतवर्ष सीटीईभीटीको गाडी दुर्घटना भएर सुनकोशी नदीमा डुब्यो । गाडी निकाल्न गोताखोर टोली कुरिनटारबाट मगायौं । उहाँहरूलाई केन्द्रले पनि व्यवस्थापन नगरिदिने रहेछ । खान, बस्नका लागि पनि समस्या थियो । उहाँहरूको गाडीमा तेल हालिदिनुपर्ने भयो । त्यस्तो आकस्मिक अवस्थामा चाहिने स्रोतसाधनको अभाव तथा तत्काल गर्नुपर्ने खर्च व्यवस्थापनका लागि विपद् कोष नहुँदा तत्कालै उद्धार, रातहका लागि समस्या हुने गरेको उहाँको भनाइ छ ।
विपद् व्यवस्थापनका लागि तत्कालै आवश्यक परेका सामग्रीहरूको विवरणसमेत प्रदेश र केन्द्रमा पठाइसकेको र विपद् कोष निर्माणका लागि प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो । बाढी, पहिरो र आगलागी पीडितलाई उहाँले घटनास्थलमै पुगेर राहत, उद्धार र पुनस्र्थापनका लागि सहयोग गर्नुभएको थियो । सरकारी निकाय तथा गैरसरकारी संघसंस्थासँगको सहयोग, समन्वय र सहजिकरणमा उहाँको नेतृत्वमा भएका यस्ता कार्यको जिल्लामा प्रशंसासमेत हुने गरेको छ ।
सिन्धुली विशेषगरी तीनवटा ठूला राजमार्गहरू (बीपी राजमार्ग, मध्यपहाडी र मदन भण्डारी)मा जोडिएकाले सडक दुर्घटना यहाँको मुख्य चुनौतीका रूपमा देखिएको छ । अत्याधिक तीव्रगतिमा सवारी चल्नु पनि दुर्घटनाको एउटा कारण भएकाले प्राइभेट गाडी र बाइकलाई पनि टाइम कार्ड अनिर्वाय गरिएको उहाँले बताउनुभयो ।
जिल्लामा आत्माहत्या विकराल समस्याका रूपमा देखिएकाले यसको न्यूनीकरणका लागि सबै निकाय लाग्न आवश्यक रहेको उहाँले सुनाउनुभयो । उहाँ भन्नु हुन्छ, ‘तालिम प्राप्त मनोविर्मशकर्ता पालिकाका सबैजसो वडामा हुनुहुन्छ । अहिले मानसिक बिरामी घरमा छन् । मनोविर्मशकर्ता वडामा छन् । दुईबीच प्रभावकारी मिलन हुनसकेको अवस्था छैन । यसका लागि स्वास्थ्य स्वयंसेविका प्रत्येक घरघरमा पुगेको हुनुहुन्छ । उहाँहरूलाई तालिम दियो भने गर्भवती महिला छन्, छैनन्, खोप लगाए वा लगाएनन् भनेर घरघर जाँदा समस्या पहिचान गरेर यो घरमा काउन्सिलिङ आवश्यक छ । यसरी बिरामीसँग मनोविर्मशकर्ता जोडिदिन सकियो भने आत्माहत्यामा कमी आउँछ जस्तो मलाई लाग्छ ।’
पालिकाहरूले बजार अनुगमनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । ‘हाम्रो भोट बैंक हो । हामीले अनुगमन गर्दा रिसाउँछन् । गरिदिए हुन्थ्यो भन्ने जनप्रतिनिधिहरूको मनसाय रहन्छ । हाम्रो यहाँ (जिल्ला प्रशासन कार्यालयमा) जनशक्ति कम छ । हाम्रो एक सयवटा काममा एउटा अनुगमन पर्न आउँछ । अधिकार सम्पन्न पालिकाहरूले अनुगमनमा विशेष ध्यान दिन आवश्यक छ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच