नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः खोटाङले जित्यो ११ स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

खोटाङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो कराँतेमा छवटा, पौडीमा दुईवटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तोलनमा एक÷एक वटा स्वर्ण पदक प्राप्त भएको हो ।

जिल्ला खेलकुद विकास समितिका अनुसार सितोरियो कराँतेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जित्नुभएको छ । महिला टिम कुमुतेमा विद्याकला राई, कञ्चन नेपाली र सञ्जीता राईले स्वर्ण पदक जित्नुभएको हो । यस्तै, कुमुते ५५ केजी समूहमा विद्याकला राई, ६१ केजी समूहमा कञ्चन नेपाली, ६८ प्लस तौल समूहमा मिसडोना राई र ७५ केजी तौल समूहमा रुरिहाङ राईले स्वर्ण पदक जित्नुभएको छ ।

पौडीमा क्रिस राईले दुई स्वर्ण जित्नुभएको छ । उहाँले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जित्नुभएको हो । भारोत्तोलनमा ज्योति थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताउनुभयो । शारीरिक सुगठनमा देवराज पराजुली र बक्सिङमा फुर्देन शेर्पाले स्वर्ण जित्नुभएको छ । प्रदेशमा स्वर्ण पदक विजेताले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दिर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन विक र प्रवीण कट्वाल पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट हुनुभएको छ । यस्तै, महिला भलिबलतर्फ विनिता राई र शिखा कोयीले पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्ने अवसर पाउनुभएको छ ।

प्रदेशस्तरीय प्रतियोगितामा खोटाङबाट सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तोलन र सफ्ट टेनिसका १५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?