खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा मोहोरीयामा रहेको नेर्पा प्राथमिक विद्यालयमा कक्षा १ देखि ४ कक्षासम्म एक/एकजना मात्रै विद्यार्थी रहेका छन् । प्रधानाध्यापक नवराज घिमिरेका अनुसार कक्षा-१ मा युगल राई, कक्षा-२ मा स्मल राई, कक्षा-३ मा सन्देश राई र कक्षा-४ मा सन्दीप राईमात्रै अध्ययनरत हुनुहुन्छ ।
शैक्षिक सत्रको सुरुवातमा कक्षा-१ देखि कक्षा-४ सम्म नै तीन/तीनजनाले भर्ना गरेका थिए । तर, अभिभावकले बालबच्चा अन्तै पढाउन लगेपछि साउनदेखि विद्यालयमा विद्यार्थी संख्या एक/एकजनामा झरेको प्रअ घिमिरे बताउनुहुन्छ । बालविकास कक्षामा चारजनामात्रै बालबालिका छन् । विद्यालयमा स्थायी दरबन्दी दुई शिक्षकको थियो । प्रअ घिमिरे र रघुनाथ दाहाल । तर, विद्यालयमा विद्यार्थी कम भएकाले वडा शिक्षा समितिले शिक्षक दाहाललाई १४ मंसिरमा नेर्पाकै निरौली प्राविमा काजमा पठाइदियो ।
घिमिरे र दाहाल विद्यालयमा हुँदा आ-आफ्नो कक्षाकोठामा पढाइ हुने गर्दथ्यो । तर, दाहाललाई काजमा पठाइएपछि अहिले प्रअ घिमिरेले १ देखि ४ कक्षासम्मका चारजना विद्यार्थीलाई एकै कक्षाकोठामा राखेर पढाइरहनुभएको छ । बाध्यताका कारण बहुकक्षा शिक्षण गराउनुपरेको प्रअ घिमिरे बताउनुहुन्छ । बालविकासका चारजनालाई बालविकास शिक्षिका मनकुमारी खनालले अध्यापन गराउनुहुन्छ । विद्यालय कर्मचारी सन्तोषी राईले पनि विद्यार्थीलाई पढाउनुहुन्छ ।
विद्यालयसँग तीनवटा भवन छन् । एउटा दुईकोठे भवनमा अफिस र बालकक्षा, अर्को ट्रष्ट भवनमा दुई कोठा छ । त्यही कोठाको एक कोठामा चारजनालाई राखेर पढाइने गरेको छ । अर्को दुईकोठे पुरानो भवन छ । खास प्रयोगमा छैन । विद्यालयमा शौचालय, खानेपानी र कक्षाकोठाको समस्या नरहेको विद्यालयले जनाएको छ ।
विद्यालयहरूमा विद्यार्थी संख्या बढाउन आगामी शैक्षिक सत्रबाट सबै अभिभावकलाई सामुदायिक विद्यालयमै बालबालिका पढाउन अनुरोध गरिने नेर्पाका वडाध्यक्ष एवं वडा शिक्षा समिति संयोजक माधव राईले बताउनुभयो । ‘रोजगारी गर्न विदेश गएका परिवारले बालबच्चालाई वडाभन्दा बाहिर निजी विद्यालयमा पढाउँछन् । उहाँहरूलाई यही विद्यालयमा पढाउन अनुरोध गर्छौँ । शिक्षाको गुणस्तर सुधार्न सबै प्रअ, जनप्रतिनिधि, अभिभावकसँग चारदिने कार्यशालासमेत गरिसकेका छौँ,’ शिक्षा समिति संयोजक राईले भन्नुभयो । राईका अनुसार नेर्पाको नेर्पा प्रावि, साकेला प्रावि र जनजागृति प्रावि मोछामा विद्यार्थी संख्या ज्यादै न्यून रहेको छ ।
विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति संख्या, अघिल्लो महिना र चलिरहेको महिनाको विद्यार्थी हाजिरी हेर्दा नगरको शिक्षा शाखाबाट उपलब्ध भएको इमिस विवरणको विद्यार्थी संख्या र भौतिक संख्या कुनै पनि मेल खाँदैन । नगर शिक्षा शाखाबाट उपलब्ध इमिस विवरणमा नेर्पा प्राविमा बालविकासमा ६ जना, कक्षा-१ देखि कक्षा-४ सम्म तीन/तीनजना देखाइएको छ ।
इमिसको विवरणअनुसार नगरपालिकाबाट सम्बन्धित विद्यालयलाई सेवा-सुविधा गइरहेको वा नगएको विषयमा बुझ्नलाई नगर शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत तीर्थबहादुर विकलाई फोन गर्दा उहाँको फोन उठेन । यस्तै, मेयर एवं नगर शिक्षा समिति संयोजक तीर्थराज भट्टराईको धारणा बुझ्न उहाँलाई फोन गर्दा उहाँको पनि फोन उठेन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच