पुस्तक : विष्णु पन्तको ‘मनोभाव’

सुशीला घिमिरे
Read Time = 7 mins

‘मनोभाव’ साहित्यकार विष्णुप्रसाद पन्तको नवीनतम् पुस्तक हो । हालैमात्र सार्वजनिक भएको यो पुस्तक काव्य विधा हो । सर्वाधिकार लेखकमै रहेको यस पुस्तकको प्रकाशक पनि लेखक स्वयम् नै हुनुहुन्छ । प्रथम संस्करणका रूपमा यो पुस्तक ५०१ प्रति छापिएको छ । दीपेन्द्र बस्नेतको लेआउट रहेको पुस्तकको मुद्रण सूर्योदय छापाखाना हाँडीगाउँ, काठमाडौंमा भएको छ । डिएमआई साइजको यस पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । छपाइ स्तरीय छ र अशुद्धिहरू कमैमात्र पाइन्छन् । पुस्तक ९६ पृष्ठको छ र मूल्य १५० रूपैयाँ रहेको छ ।

यस पुस्तकको आवरण पृष्ठ आकर्षक छ । अमूर्तकलामा विभिन्न भाव झल्किने गरी सिर्जना गरिएको यस पृष्ठको माथि ठूला सेता अक्षरमा पुस्तकको शीर्षक लेखिएको छ ‘मनोभव’ भनेर । तल साना अक्षरमा काव्यकार विष्णुप्रसाद पन्तको नाम छ । पृष्ठ आवरणमा काव्यकार पन्तको फोटो राखिएको छ र भूमिकाकार ठाकुर शर्मा भण्डारीको काव्यकार पन्त र उहाँको काव्यकारिताका सम्बन्धमा लेखिएको एक श्लोक पद्य कविता छ । त्यसमुनि भूमिकाकार युवराज मैनालीको भनाइ एक अनुच्छेदमा दिइएको छ ।

भूमिका खण्डमा साहित्यकार ठाकुर शर्मा भण्डारीको ‘मनोभाव’ प्रतिको काव्यगत अवधारणा’ श्लोकमै दिइएको छ । आठ श्लोको यस पद्य कविताका माध्यमबाट उहाँले काव्य र काव्यकारका बारेमा बताउनुभएको छ । त्यसपछि युवराज मैनालीको ‘ ‘मनोभाव’ काव्यबारे केही कुरा’ शीर्षकमा यस काव्यका बारेमा बताउनुभएको छ । उहाँको यो लामो भूमिकापछि काव्यकार पन्तको विचार ‘आफ्नै कुरा’ शीर्षकमा आएको छ । त्यसपछि मनोभाव शीर्षकको काव्य सुरु हुन्छ । ३२५ श्लोकको यस काव्यको समाप्तिपछि अन्त्यमा स्रष्टा परिचय दिइएको छ ।

यस काव्यमा उहाँले जीवनगतिको चित्रण गर्नुभएको छ । एक प्रकारका सूक्ति जस्ता लाग्ने यस काव्यभित्रका विभिन्न श्लोकले उहाँको जीवनलाई मात्र होइन सबै मानिसको आदर्श, नैतिक जिम्मेवारी, कर्तव्य, समाजिक दायित्वलगायत जीवनका विभिन्न पक्षलाई उजागर गर्ने प्रयास गरेको पाइन्छ ।

यसबाट प्राप्त जानकारी अनुसार पन्त २००७ साल फागुन १ गते काभ्रेपलाञ्चोक जिल्लाको बिर्ता देउराली पाटीगैरामा जन्मिनुभएको हो र हाल उहाँ काठमाडौं महानगरपालिका वडा–७ चाबहिलमा बस्तै आउनुभएको छ । गुणनिधि पन्त तथा धनलक्ष्मी पन्तका छोरा विष्णुप्रसाद पन्तले अर्थशास्त्रमा एमए र कानुनमा एलएलबी गर्नभएको छ । उहाँका कविता, सूक्ति, संस्मरण, नियात्रा, हाइकु, साइनो, सुसेलीलगायतका विभिन्न विधाका एक दर्जन जति पुस्तक प्रकाशित छन् ।

पशुपति बहुमुखी क्याम्पसका संस्थापक पन्त त्यस कलेजको अर्थशास्त्रको प्राध्यापनमा संलग्न हुनुभयो र लामो समयसम्म सहायक क्याम्पस प्रमुखसमेत बन्नुभयो । विभिन्न शैक्षिक संस्था स्थापना र सञ्चालनसमेत गर्नुभएका उहाँ सफल व्यवसायीसमेत हुनुहुन्छ । धेरैवटा संघसंस्थाहरूको सदस्य तथा सल्लाहकारसमेत रहनुभएका पन्तकै पहलमा सुकेधारमा नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना भएको छ । उहाँ हाल त्यसको अध्यक्ष हुनुहुन्छ । उहाँले एक दर्जन जतिको सङ्ख्यामा मान, सम्मान र पुरस्कारसमेत प्राप्त गर्नुभएको छ ।

यस काव्यमा उहाँले जीवनगतिको चित्रण गर्नुभएको छ । एक प्रकारका सूक्ति जस्ता लाग्ने यस काव्यभित्रका विभिन्न श्लोकहरूले उहाँको जीवनलाई मात्र होइन सबै मानिसको आदर्श, नैतिक जिम्मेवारी, कर्तव्य, समाजिक दायित्वलगायत जीवनका विभिन्न पक्षलाई उजागर गर्ने प्रयास गरेको पाइन्छ । मानिसले आफ्ना कुसस्ंकार, कुप्रवृत्तिजस्ता नकारात्मक भावना त्यागेर सत्कर्ममा लाग्नुपर्ने सन्देश काव्यले प्रवाह गर्न चाहेको छ । राष्ट्र, राष्ट्रियता र जन्मभूमि सबैभन्दा ठूला कुरा हुन् भन्ने सन्देश पनि काव्यले दिन खोजेको छ । उहाँले:
स्वदेशी वस्तु रुच्दैन सडेर फाल्नुपर्दछ
श्रमको मूल्य पाइन्न रोएर बाँच्नुपर्दछ
बाँच्दैछौँ सबको लागि इसारामै चली सधैँ
हित साच्नु छ अर्काको बढ्दै छ क्रम यो अझै
भन्नेजस्ता सन्देश दिन चाहनुभएको छ । समग्रमा भन्दा काव्य सन्देशमूलक छ त्यसैले सङ्ग्रहणीय र पठनीयसमेत छ । यस पुस्तकका लागि काव्यकार पन्तलाई बधाई तथा सफलताको शुभकामना । उहाँबाट अझै यस्ता पुस्तकहरू नेपाली साहित्यले पाइरहोस् । हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?