
कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-६ मेहलमुडीकी अप्सरा दर्जीको १६ वर्षको कलिलो उमेरमा बाल्यकालमै विवाह भयो । विवाह भएको एक वर्षपछि उहाँलाई पहिलो सन्तानका रूपमा छोरी प्राप्त भयो । अहिले अप्सराको उमेर २१ वर्ष भएको बेला अर्को सन्तानका रूपमा पाँच महिनाको छोरा साथमा छ । सोही ठाउँकी मिठ्ठु लुवारको पनि १७ वर्षकै उमेरमा विवाह भयो । विवाहको एक वर्षपछि उहाँको पहिलो सन्तानका रूपमा छोराको जन्म भयो । अहिले २२ वर्ष पुग्नुभएकी मिठ्ठुको साथमा तीन छोरा छन् । उहाँहरू दुईजना त्यस क्षेत्रका प्रतिनिधि पात्रमात्रै हुनुहुन्छ ।
अहिले पनि कालीकोटको ग्रामीण क्षेत्रमा कम उमेरमा विवाह हुने र १८ वर्षको हुँदासम्म आमाबुबा हुने क्रम भने घटेको छैन । सान्नी त्रिवेणीको दलित बस्तीमा जनचेतनाको अभाव, कम उमेरमा विवाह गर्दा आमा र बच्चालाई हुने असरलगायतका विषयमा प्रभावकारीरूपले जानकारी नहुँदा दलित बस्तीमा कम उमेरमै विवाह हुने गरेको पाइएको छ ।
विवाहबारी २० वर्षपारिलगायतका नारा सञ्चारमाध्यममा मात्र होइन, यससम्बन्धी विषयका गोष्ठी, सभा र सभामा घन्किन थालेको धेरै भइसक्यो । विवाह पनि २० वर्ष पूरा भएपछि मात्र गर्नुपर्ने कानुनी प्रावधान छ । तर पनि दलित बस्तीका बालबालिकालाई त्यसले खासै असर पारेको देखिँदैन । दशदेखि १७ वर्षसम्मको उमेर भनेको पढ्ने, लेख्ने र भविष्यका बारेमा दत्तचित्त हुँदै अघि बढ्ने बेला हो । तर, यहाँको दलित बस्तीको त्यो समूहका कतिपय बालबालिका सन्तानको स्याहारसुसार गर्न व्यस्त रहेको पाइन्छ ।
विभिन्न नगरपालिका, गाउँपालिका, संघसंस्था र वडाले बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम वार्षिकरूपमा सञ्चालन गर्छन् । त्यो कार्यक्रम कागज र कोठामा मात्र सीमित छ । कानुनमा कम उमेरमा विवाह गरे केटा र केटी पक्षलाई दण्ड जरिवाना गर्ने व्यवस्था छ । त्यसले पनि उक्त समुदायमा पूर्णतया छुन सकेको भने देखिँदैन ।
केही दिनअघि हिटाकर्मीसहित केही सञ्चारकर्मी दलित बस्तीमा पुग्दा अप्सराका आठमहिने छोराले हजुरआमा तुलसाको काखमा बसेर हातको औँला पिइरहेका थिए । बिहानको चिसो सिरेटोमा ५ बजे आठमहिने शिशुलाई छोडेर अप्सरा दाउराको जोहो गर्न जंगलमा जानुभयो । घरमा न त खानेकुरा नै छ न त न्यानो हुने लुगा नै छ । बुढी सासूको भरमा पाँचमहिने छोरा र तीन वर्षीया छोरी छोडेर दाउराको जोहो गर्न जंगल जानुभएकी अप्सरालाई दाउराको भन्दा छोरा र छोरीको चिन्ताले बढी सताएको थियो ।
जंगलबाट घर फर्किएपछि बुढी सासू र छोराछोरीलाई के खुवाउने भन्ने चिन्ताले उहाँलाई झन् सतायो । मनमा त्यही कुरा खेलाएर साढे १० बजे थोरै दाउराको जोहो गरेर अप्सरा घर फर्किनुभयो । एक तले घर छ कच्ची, पानी परे चुहिने, त्यही घरमा गुजारा चलाउँदै विवाह भएको बल्लतल्ल चार वर्ष पार गर्नुभयो अप्सराले ।
श्रीमान्को उमेर पनि भर्खर १९ पुग्यो । घरपरिवारको भविष्यका लागि अप्सराका श्रीमान् तपेन्द्र रोजगारीका लागि भारतमा हुनुहुन्छ । भारतमा जानुभएका श्रीमान्सँग अप्सराको न त फोन नै हुन्छ, न त म्यासेज नै । ‘फोन गर्न मोबाइलमा पैसा छैन । कुन ठाउँमा छन्, के गर्दैछन्, त्यसको जानकारी अहिलेसम्म पाएकी छैन,’ अप्सराले आँखामा आँसु टिलपिल पार्दै भन्नुभयो ।
‘सानै उमेरमा माइतीको दबाबले विवाह गरेँ, सानैमा बच्चा जन्मिए, अहिले उनीहरूको पालनपोषण र खानलाउनसमेत समस्या छ । न त बस्ने घर नै छ, न त खाने गाँस नै,’ अप्सराले भन्नुभयो, ‘गरिबहरूको भगवान् पनि हुँदैन रहेछन् । दुःख पर्दा न आफन्तले हेर्छन्, न समाजले हेर्छ । विभिन्न ठाउँमा संघसंस्थाले काम गर्छ, दुखी र गरिब बालबालिकालाई सहयोग गर्छ भन्थे मेरा लागि न संघसंस्था भए, न त स्थानीय सरकार नै ।’
‘चुनावमा भोट माग्न आउँदा नेताहरू नमस्कार गर्न आए अनि फर्किए, भोट दिएर जितायौँ, अहिले हामीले नमस्कार गर्दा पनि फर्काउँदैनन्,’ अप्सराले गुनासो गर्नुभयो । ‘विदेश गएका श्रीमान्को बाटो हेरेर बसिरहेकी छु । अलि-अलि कपडा सिलाउन जानेकी छु । त्यही कपडा सिलाएर भए पनि जेनतेन छोराछोरी पालेकी छु । कपडा सिलाइ नभएको दिन भोकै बस्छौँ । काम गरी खान गाउँमा काम छैन । छोडेर घरबाहिर जाऊँ फूलजस्ता छोराछोरी छोडेर कसरी जाऊँ, बाल्यकालमै विवाह गर्दा पाउनुसम्मको दुःख पाएँ, अहिले आएर सोच्दा बालविवाह गर्नु भनेको दुःख पाउनु मात्रै रहेछ,’ उहाँले भन्नुभयो ।
‘तपाईं आउनुभयो खुसी लाग्यो, हाम्रो आवाज सहयोग गर्ने ठाउँसम्म पुर्याइदिनुहुनेछ भन्ने विश्वास छ,’ अप्सराले भन्नुभयो । ‘एक छोरा, एक छोरी ईश्वरको वरदान, कपडा सिलाएर भए पनि उनीहरूलाई हुर्काउँछु । पढाउन र लेखाउनलाई त आर्थिक अवस्थाले पुग्दैन, त्यो पछिको कुरा हो । अब सहयोग गर्ने निकाय भइदिएको भए आभारी हुने थियौं,’ उहाँले गुनासो गर्नुभयो । अप्सराको घरमा अहिले उहाँसहित पाँचमहिने छोरा, तीन वर्षकी छोरी र ८३ वर्षीया बुढी सासू हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच