काठमाडौं । गत वर्षको आम चुनावअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभएको थियो, ‘सम्भवतः अब मेरो अन्तिम इनिङ हो । एकपटक देशको नेतृत्व गरेर राष्ट्र र जनताले सम्झिरहने काम गर्ने इच्छा छ ।’ चुनावपछि नभन्दै उहाँलाई देशको नेतृत्व गर्ने अवसर जुर्यो । सत्ता सारथि फेरिए पनि नेतृत्व फेरिएको छैन । उहाँ झण्डै एक वर्षदेखि सरकारको नेतृत्वमा हुनुहुन्छ । पुस १० गते उहाँ प्रधानमन्त्री भएको एक वर्ष पुग्दै छ । पूर्व-सहमतिअनुसार राजनीतिक समीकरण नफेरिए अझै एक वर्ष उहाँकै नेतृत्वमा सरकार अगाडि बढ्नेछ ।
प्रधानमन्त्री आफैँले उद्घोष गरेको ‘अन्तिम इनिङ’मा चुनौतीका चाङबीच राष्ट्र र जनताले सम्झिरहने काम गर्ने अन्तिम अवसर पनि थियो । तर, एकवर्ष बित्नै लाग्दा पनि अवस्थामा खासै परिवर्तन आएको छैन । प्रमुख समस्या ज्युँका त्युँ छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदो थियो, अहिले पनि छ । संघीयताले डेलिभरी दिन नसक्दा प्रदेश संरचनामाथि गम्भीर प्रश्न उठेको छ । विकासको गति सुस्तै र उस्तै छ । स्वास्थ्य, शिक्षा र रोजगारजस्ता आमसरोकारका विषय असरल्लै छन् । राजनीति र सरकारप्रतिको वितृष्णा घट्नुको साटो बढिरहेको छ ।
उहाँ प्रधानमन्त्री नियुक्त हुँदा केही आशाको सञ्चारसमेत भएको थियो । उहाँले पनि राम्रो गर्नेबाहेक आफूसँग विकल्प नभएको उद्घोष गर्नुभएको थियो । प्रधानमन्त्री भएलगत्तै सचिवहरूलाई कडा निर्देशन दिनुभएका उहाँले कार्यसम्पादनमा निरन्तर प्रश्न उठेपछि गत साउनमै मन्त्रीको मासिक रिपोर्ट कार्ड बनाउने भन्दै मन्त्रीहरूलाई हस्ताक्षर गराएरै सम्झौता गर्नुभएको थियो । तर, मन्त्रीको रिपोर्ट कार्डमा को अब्बल ठहरियो, को कमजोर रहृयो भन्ने विषय बाहिर ल्याइएको छैन ।
एकाधबाहेक अरू मन्त्रीको रिपोर्ट कार्ड निराशाजनक छ । नागरिकहरू चरम निराशामा रहँदै गर्दा उनीहरूले आशा जगाउने कुनै काम गर्न सकेका छैनन् । मन्त्रीहरू झण्डायुक्त गाडी चढ्ने र स्टण्टबाजीमा रमाउनेभन्दा माथि उठ्न सकेका छैनन् । प्रधानमन्त्री प्रचण्ड आफ्नो कार्यकाललाई अन्तिम अवसरका रूपमा लिँदै दौडिरहेका बेला मन्त्रीहरू भने सुस्त गतिमा छन् । उहाँ आफ्नै मन्त्रीहरूप्रति असन्तुष्ट भएकाले पुनर्विचार गर्ने मनस्थितिमा पुग्नुभएको छ । अधिकांश मन्त्रीहरूको ‘पफरमेन्स’ (कार्यसम्पादन) प्रति प्रधानमन्त्री प्रचण्ड सन्तुष्ट हुनुहुन्न ।
एक वर्ष पुग्नै लाग्दा पनि आशातीत काम हुन नसकेपछि मन्त्री फेर्ने निष्कर्षमा उहाँ पुग्नुभएको हो । सरकारको एक वर्ष पुग्नै लागेको बेला प्रधानमन्त्री प्रचण्डले मन्त्रालयको काम अपेक्षा गरेअनुसार नभएको भन्दै मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको हो ।
यसअघि बिहीबार माओवादी पदाधिकारी बैठकमा पनि उहाँले मन्त्रिमण्डल पुनर्गठनको कुरा उठाउनुभएको थियो । ‘सरकारका कामलाई प्रभावकारी बनाउन यही गतिले हुँदैन । अब नयाँ ढंगले काम गर्नुपर्छ भन्ने लागेको छ । त्यस्तै परे नयाँ कदम चाल्नुपर्ने हुनसक्छ,’ बैठकमा उहाँले भन्नुभएको थियो । मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्को कुरा गरे पनि सबै उहाँको हातमा भने छैन । संसदीय अंकगणितमा उहाँको पार्टी माओवादी तेस्रो दलका रूपमा सरकारको नेतृत्व गरिरहेको छ । मन्त्री फेर्ने कुरा उहाँले चाहेर मात्रै सम्भव छैन । गठबन्धनमा रहेका दलहरूबीच सहमति भए मात्रै उहाँले भनेजस्तै मन्त्री फेरबदल हुनसक्छ ।
मन्त्री फेरेर भए पनि परिणाम दिनेगरी अगाडि बढ्छु : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिनेगरी काम गर्ने बताउनुभएको छ । मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताउनुभएको हो । प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने उहाँको भनाइ छ । ‘आफूले सहमति व्यक्त गरेर प्रतिबद्धता जनाएका कतिपय काम पनि पूरा गरेका छैनन् । त्यस्ता मन्त्रालयको पुनर्गठन, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु,’ उहाँले भन्नुभयो ।
पुस १० मा राष्ट्रका नाममा सम्बोधन
प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पूरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिनुभएको हो । एक वर्षे कार्यकालमा सुशासन, सामाजिक न्याय र सम्मृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउन धेरै भूमिका खेलेको उहाँको दाबी छ । ‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष पूरा हुँदै छ । यो बीचमा मैले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउन धेरै भूमिका खेलेको छु’, प्रचण्डले भन्नुभयो, ‘यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दै छु ।’ अर्को वर्ष आफू नेतृत्वको सरकारले नयाँ ढंगले काम गर्ने पनि उहाँले बताउनुभयो । ‘मैले जहिले पनि निरन्तरतामा क्रम भंग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु । १० गते मेरो एक वर्ष पूरा हुन्छ । १० गते नै म राष्ट्रका नाममा सम्बोधन गर्ने र ११ गतेबाट नयाँ प्रक्रियाबाट विकास निर्माण र जनताका सेवाका कामहरू अगाडि लाने मैले प्रतिबद्धता व्यक्त गरिसकेको छु’, उहाँले भन्नुभयो ।
डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण गर्ने
प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ । शुक्रबार सुनसरीस्थित इनरुवा सबस्टेसन उद्घाटन कार्यक्रममा उहाँले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने बताउनुभयो । ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत् प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ,’ उहाँले भन्नुभयो, ‘घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रशारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन् ।’
प्रधानमन्त्री प्रचण्डले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको स्मरण गर्नुभयो । देशभित्र उत्पादित विद्युत् यहीँ खपत गर्न सरकारले केही दिन अघि मात्र विद्युत् खपतवृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्बाट पारित गरेको उहाँले स्पष्ट पार्नुभयो । यसले विद्युत् खपत बढाउनका लागि ठूलो दिशानिर्देश गरेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर-सहर र गाउँगाउँमा पुर्याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताउनुभयो । ‘वर्षको वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारतर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रूपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युत्को अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ । यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच