अम्रिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी

हिमालय टाइम्स
Read Time = 5 mins

सुनसरी । गत वर्षको तुलनामा यस वर्ष अम्रिसोको भाउ बढेपछि किसान खुसी भएका छन् । धरानस्थित कृषिउपज बजारका अनुसार यस वर्ष अम्रिसो रू एक सय ५० मा किनबेच भइरहेको छ ।

गत वर्ष यही समयमा प्रतिकेजी रू एक सयसम्ममा बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय पूर्वी पहाडी भेगका अधिकांश कृषक नगदेबाली छाडेर व्यावसायिकरूपमा अम्रिसो खेतीमा आकर्षित भएका छन् । अम्रिसोको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

वर्षमा एकपटक उत्पादन हुने अम्लिसो तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानले यसको खेती गर्न थालेका धनकुटाका कृषक दिनेश राईले बताउनुभयो । एक सिजनमा करिब २५ देखि ३० क्विन्टलसम्म अम्रिसो बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । ओरालो र भिरालो ठाउँमा अम्रिसोको उत्पादन राम्रो हुने उहाँको भनाइ थियो ।

कुनै सयम बिक्री नभएर वस्तुचौपायको आहारा बन्ने गरेकामा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सुनसरी र पूर्वी पहाडी भेगका धेरै किसानले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्रिसो खेतीतर्फ आकर्षित हुन थालेका धनकुटाका व्यापारी राजकुमार राईले बताउनुभयो । “केही समय अगाडि प्रतिकेजी रू ९० देखि एक सयसम्ममा बिक्री हुने अम्रिसो अहिले बढेर रू एक सय ५० सम्म पुगेको छ”, उहाँले भन्नुभयो, “उत्पादन कम भएकाले भारतबाट अत्यधिक माग आइरहेको छ ।”

केही किसानले पहिलाको कुचो बेच्ने गरेकाले भाउ कम हुने गरेको व्यवसायी राईको भनाइ थियो । “जुन वर्ष अम्रिसोबाट कुचो बनाइएको हुन्छ त्यही वर्ष नै बेचिसक्नुपर्छ । अर्को वर्ष पर्खियो भने गुणस्तरहीन हुन्छ”, उहाँले भन्नुभयोे । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को वर्ष बेच्ने गरेकाले मूल्य कम पाउने गरेका उहाँले बताउनुभयो ।

यसअघिका वर्षको तुलनामा यस वर्ष मूल्य वृद्धि भएपछि किसान खुसी छन् । मूल्य बढेसँगै उत्पादित सबै अम्रिसो निकालेर बेच्न सुरु गरिएको व्यापारी राईले बताउनुभयो । मूल्यमा घटबढ भइरहे पनि यस वर्ष तुलनात्मकरुपमा बढी मूल्य पाएपछि चाँडै बेच्न हतारिएको उहाँको भनाइ थियो । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र मेहनत पनि कम गर्नु पर्ने भएकाले किसान अम्रिसो खेतीतर्फ आकर्षित हुन् ।

थोरै लगानी र मेहनतमा प्रशस्त आम्दानी हुन थालेपछि कृषकले धेरै क्षेत्रफलमा अम्रिसो खेती गर्न थालेका कृषिउपज बजारस्थलका व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादित अम्रिसोको ७० प्रतिशत व्यापार भारततिर हुने गरेको छ । अम्रिसोको मुख्य सिजन पुसदेखि भए पनि यस वर्ष मूल्य बढेकाले किसानले अगाडिदेखि बिक्री गर्न थालेका उहाँको भनाइ थियो ।

“अम्रिसोलाई प्रसोधन गरेर पठाउन सके अझ प्रभावकारी हुन्छ । व्यवस्थापनमा आधुनिकीकरण गर्नसके नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ”, व्यवस्थापक भट्टराईले भन्नुभयो । यहाँ भारतीय व्यवसायी आफैँ आएर लाने गरेकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो ।

वर्षमा ४५ देखि ५० मेट्रिक टनसम्म अम्रिसो बिक्री हुने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको मूल्य वृद्धि भएको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?