
सिन्धुली । मदन भण्डारी राजमार्गको पश्चिम खण्डस्थित खारखोलाबाट उक्कालो चढेपछि जंगल भेटिन्छ । झण्डै एकघण्टा कच्ची सडक सवार गरेपछि जंगलभित्र छरिएर रहेका घर देखिन्छन् । यो क्षेत्र सिन्धुलीको कमलामाई नगरपालिका-१ कोप्चेमा पर्दछ । यही बस्नुहुन्छ, विष्णुमाया हायु । बढ्दै गएको चिसोले रात अनिँदो बित्न थालेको थियो । न्यानो सिरक किन्न उहाँको साथमा पैसा थिएन । पैसा भए पनि बजारमा पुगेर सिरक घर ल्याउन कठिन थियो ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ र कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख उपेन्द्रकुमार पोखरेलले उहाँको बस्तीमै पुगेर दुईवटा फाइबर सिरक संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो ।
बढ्दै गएको चिसोले थरथर काम्दै रात बिताउन नपर्ने भएपछि विष्णुमायामा खुसीको सीमा रहेन । ‘दिनमा घामले शरीर न्यानो बनाउँछ । रातको जाडो छल्न सिरक भयो,’ उहाँले भन्नुभयो, ‘सरकारले जाडो छल्न सिरक घरैमा ल्याइदिनुभयो । सामाजिक सुरक्षा भत्ताले खान र बालबच्चा पढाउन सहयोग भएको छ ।’
विष्णुमायालाई मात्रै होइन, कोप्चेका १२० घरका हायु परिवारलाई २४० थान फाइबर सिरक शुक्रबार वितरण गरिएको थियो । न्यानो सिरक पाउँदा गणेश हायुले खुसी व्यक्त गर्नुभयो । चिसोबाट बच्न राति अबेरसम्म आगो तापेर बस्नुपर्ने बाध्यता हटेको उहाँले सुनाउनुभयो ।
शनिबार हिटाकर्मीसँग भन्नुभयो, ‘सिरक उपलब्ध गराइदिनु भएकोमा सरकारलाई धन्यवाद । मेरो घरमा भएको ओढ्ने सानो थियो, न्यानो थिएन । सरकारले हिजो दिएको सिरक ओढेर सुतेको बिहान भएपछि मात्रै ब्युझिएँछु । सिरकको न्यानोले मस्त निदाएँछु ।’
पछिल्लो समय बढ्दै गइरहेको चिसोका कारण विशेषगरी बागमती प्रदेशका लोपोन्मुख र अति सीमान्तकृत समुदायको जनजीवन प्रभावित बन्दै गइरहेकाले कमलामाई नगरपालिकाको समन्वयमा न्यानो सिरक वितरण गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । कुनै पार्टी विशेष गरेर भोट बटुल्नको लागि फाइबर सिरक वितरण नगरिएको कुरामा प्रष्ट हुन उहाँको आग्रह छ ।
‘यो मानव सेवा गर्न खोजिएको हो । राजनीतिक रंग आउँछ कि भन्ने कुरामा हामी सचेत छौँ,’ सिरक लाभग्राहीहरूलाई केन्द्रित गर्दै भन्नुभयो, ‘यो सिरक तपार्इंहरूले तिर्नुभएको राजस्वबाट सरकारले किनेर दिएको हो । जतन गरेर प्रयोग गरेमा १० वर्षसम्म टिक्छ ।’
बागमती प्रदेश सरकारले वितरण गरेको फाइबर सिरक गुणस्तर भएको उहाँले बताउनुभयो । ‘हामीले वितरण गरेको सिरक ओढ्दा तातो भएन भने फोन गरेर भन्नुहोला, ‘मन्त्रीज्यू, सिरक तातो भएन ।’ हामी साटिदिन्छौँ,’ उहाँले भन्नुभयो ।
मन्त्री श्रेष्ठका अनुसार बागमती प्रदेशभित्र बसोबास गर्ने लोपोन्मुख र अति सीमान्तकृत जातिहरूलाई न्यानो सिरक वितरण कार्यक्रमको आयोजना गरिएको हो । शुक्रबारै घ्याङ्लेख गाउँपालिका वडा नम्बर-२ बस्तीपुरका ९३ घर थामी परिवारलाई दुई/दुई थान गरी १८६ थान फाइबर सिरक वितरण गरिएको थियो ।
शनिबार मरिण गाउँपालिका-७ गैरीगाउँका ५१ घरका थामी परिवारलाई १०२ वटा साइबर सिरक वितरण गरिएको छ । दुई दिनको अवधिमा सिन्धुलीका २६४ घरका परिवारलाई ५२८ वटा सिरक वितरण गरिएको उहाँले बताउनुभयो । कमलामाई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सिन्धुलीका पालिकाहरूको समन्वयमा राजनीतिक आस्थाभन्दा माथि उठेर मन्त्री श्रेष्ठले गर्नुको मानव तथा समाजसेवाको खुलेर प्रशंसा गर्नुभयो । लोपोन्मुख तथा सीमान्तकृत जातिलाई न्यानो सिरक सहयोग गर्नुभएकोमा प्रशंसा गर्दै उहाँले बागमती प्रदेश सरकार र आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठलाई संस्थागत धन्यवादसमेत व्यक्त गर्नुभएको छ । नागरिकको आवश्यकतालाई बुझेर सोही अनुसारको सेवा प्रवाहमा स्थानीय सरकार पनि केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो ।
कानुनमन्त्रीका प्रेस सल्लाहकार मनोज शर्माका अनुसार बागमती प्रदेश सरकारले तत्कालै मकवानपुरको मनहरी गाउँपालिकामा पनि फाइबरको सिरक वितरण गर्ने कार्यक्रम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच