
म्याग्दी । म्याग्दीको सदरमुकाम र नगरपालिकामा मात्रै होइन,पाँचओटा गाउँपालिकाका गाउँ वस्तीहरुमा पनि विकासका सम्पूर्ण पूर्वाधारहरु पुगेका छन् ।
कृषिजन्य उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । गाउँ गाउँका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा समेत डिजिटल एक्सरे सेवा उपलव्ध छ । गाउँ नजिकै विद्यालय छन् । संचार,खानेपानी,सिंचाइ लगायतका सुविधाहरु वृद्धि हुँदै गएका छन् ।
तर, यी सुविधाहरुको उपयोग गर्ने मानिसहरु भने घट्दै गएका छन् । ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्यार्थीहरुको संख्या अत्यन्त न्यून हुँदै गएको छ । गाउँका स्वास्थ्य चौकीहरुमा सेवा लिने विरामीहरु घट्दै गएका छन् ।
पछिल्लो एक दशकयता म्याग्दीका ग्रामीण क्षेत्रहरुमा जतिजति विकासका पूर्वाधारहरु थपिदै गएका छन् त्यो भन्दा बढी बसाइँसराइ गरेर बाहिर जानेहरुको संख्या बढ्दै गएको छ ।
गाउँपालिकाले किसानलक्षित कार्यक्रमहरुलाई प्राथमिकताका साथ सञ्चालन र व्यवस्थापनमा महत्व दिन थालेपछि गाउँहरु कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्दै गएका छन् ।
म्याग्दीका कुल छ ओटा स्थानीय तहहरुमध्ये सवै स्थनीयतहहरुमा कृषिजन्य उत्पादन वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
एक÷डेढ दशक अघिसम्म ‘गाउँमा अभाव छ,अवसरै छैन’ भन्ने मानसिकता व्यापक थियो । तर, अहिले समय फेरियो । गाउँ गाउँमा विकासको पूर्वाधारहरुको पहुँच पुगेपनि ती सुविधाहरुको उपयोग गर्ने जनता घट्दै गएका मालिका गाउँपालिका वडा नं २ का वडासदस्य भक्तबहादुर पुनले बताउनुभयो ।
गत वर्ष २०७९ सालमा साउनदेखि चैत मसान्तसम्म म्याग्दी जिल्लाका एकहजार ९१ घर परिवार बसाइँसराइ गरि अन्य ठाउँहरुमा गएका स्थानीय तहहरुको तथ्याङ्कले देखाएको छ ।
एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तहबाट एक हजार ९१ जना बसाइँसराइ गरी काठमाडौँ, पोखरा, चितवन, नवलपुर, बुटवललगायतका ठूला शहरमा गएका छन् । स्थानीय तहका पञ्जीकरण शाखाका अनुसार गत आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा बेनी नगरपालिकाबाट दुई सय ४२, रघुगङ्गा गाउँपालिकाबाट एक सय १४, मङ्गला गाउँपालिकाबाट एक सय ६०, मालिका गाउँपालिकाबाट एक सय २४, धौलागिरि गाउँपालिकाबाट तीनसय चार र अन्नपूर्ण गाउँपालिकाबाट एक सय ४७ गरी एक हजार ९१ घर परिवार बसाइँसराइ गरी अन्यत्र गएका हुन् ।
“गाउँमा जतिजति विकासका पूर्वाधारहरु थपिदै गए त्यति त्यति वस्तीहरु खालीहुँदै जान थाले,यस्तो अवस्था किन उत्पन्न हुँदैछ भन्ने विषयमा सरोकारवालाहरुको ध्यानाकर्षण हुन जरुरी छ” दरबाङका बालकृष्ण शर्माले भन्नुभयो “गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । विकास र अवसरलाई सदुपयोग गर्ने युवा छैनन् ।”
जसको ज्वलन्त उदाहरण बनेको छ म्याग्दीको सदरमुकाम बेनीबजारसँगे जोडिएको बेनी नगरपालिका वडा नं २ मा पर्ने बगरफाँट गाउँ ।
राजनीति गर्ने नेताहरुदेखि लिएर पढेलेखेका र निजामती सेवाको उपल्लो तहमा पुगेका मानिसहरुको पुख्र्यौली यो गाउँ अहिले बसाइँसराइका कारण रित्तिदै जान थालेको छ ।
यहाँका अधिकांश युवाहरु विदेशमा छन् । गाउँमा बाँकी रहेका र उमेर पुगेका युवाहरु पनि विदेश जाने तयारीमा छन् । अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापानदेखि लिएर युरोप र खाडी मुलुक यहाँका युवाहरुको गन्तव्य हुने गरेको छ ।
गाउँ सुन्दर छ । सुगम छ । विकासका सबै पूर्वाधारहरु यहाँ उपलव्ध छन् । गाउँको शिरानमा जंगल,पुछारमा म्याग्दी नदी र बिचमा समथर उर्वर फाँट छ । विदेशबाट रेमिट्यान्स आउँछ तर काठमाण्डौ,पोखरा जस्ता सहरमा घर घडेरीका लागि जान्छ । गाउँको जमिनमा लगानी गर्ने,उत्पादन र विक्री गर्नेतर्फ ध्यान नजाँदा कतिपय उर्वर जमिन पाखोमा परिणत भएको छ । थोरै जमिनमा गरिएको खेतीले नै यहाँका स्थानीयलाई पुगेपछि अरु जमिन बाँझै छोडिएको छ ।
गाउँमा जति जति विदेशी आम्दानी भित्रिदै छ त्यति नै बढी परनिर्भरता पनि बढ्दै गएको छ । यो बगरफाँट गाउँको मात्र अवस्था होइन म्याग्दीका प्रायः सबै गाउँहरुको यही अवस्था रहेको छ । बगरफाँटका ८७ वर्षिय बेदप्रसाद उपाध्याय गाउँका खेतबारी बाँझिदै गएकोमा चिन्तित हुनुहुन्छ ।
पशुपालन घट्दै गएको छ । व्यवसायिक रुपमा केही युवाहरुले गरेको कृषि पेसा रहर लाग्दो देखिए पनि उत्पादित कृषि उपजले राम्रो बजार पाउन नसक्दा कृषि पेसाप्रति नै वितृष्णा उत्पन्न हुन थालेको व्यवसायिक कृषकहरुले बताउन थालेका छन् ।
वार्षिक करोडौं रुपैयाँको आयातित तरकारी खपत हुने म्याग्दीमा स्थानीय उत्पादनले लागत अनुसारको मूल्य नपाउँदा कृषकहरु निरास बनेका म्याग्दीका अगुवा कृषक चन्द्रवहादुर कार्कीले बताउनुभयो ।
“बारीभरी बन्दा र टमाटर छन्, तर मूल्य छैन । बाहिरबाट आएको तरकारी सस्तोमा पाइन्छ । तर,यहाँको अर्गानिक उत्पादन व्यपारीहरुले सस्तोमा खोज्छन्” उहाँले भन्नुभयो ।
बसाइँसराइको मुख्य कारण गाउँमा सुविधाको कमी र अवसरको अभाव नभएर सुख सुविधा र ऐयासी जीवनशैली भएको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुको भनाइ रहेको छ । नेपाल कांग्रेस म्याग्दीका भुतपूर्व सचिव समेत रहनुभएका क्या. मीनवहादुर कार्कीले गाउँमा अब अवसरै अवसर र सुविधै सुविधा भएको तर ती अवसर र सुविधाभन्दा बढी अवसर र सुविधाको खोजीमा बसाइँसराइ गरी अन्य ठाउँहरुमा जाने क्रम नरोकिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच