काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटको शैली परिवर्तन गर्ने बताउनुभएको छ ।
आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक कार्यक्रमका क्रममा देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले पुरातन शैलीको नीति तथा कार्यक्रमले नतिजा दिन नसकेको स्वीकार गर्नुहुँदै अब नयाँ शैली अपनाइने बताउनुभएको हो ।
“बजेट निर्माणको परम्परागत तरिकाले एकातिर प्राथमिकताप्राप्त आयोजनामा बजेट विनियोजन हुन सकेन भने अर्कोतिर खर्चको सही आङ्कलन पनि हुन सकेन । यसको प्रत्यक्ष्य असर पुँजीगत खर्चमा परी समग्र आर्थिक क्षेत्र नै प्रभावित भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस वर्षदेखि नीति योजना र बजेट निर्माणको परिपाटी फेरेर नयाँ तरिकाले जाने तयारीमा छु । हाम्रो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रणालीलाई परम्परागत धारबाट भिन्न बनाउँनै पर्दछ ।”
आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता यही फागुनमा सार्वजनिक गर्ने तयारी सरकारले गरिरहेको पनि उहाँले बताउनुभयो । बजेटको सिद्धान्त र प्राथमिकता समयमै सार्वजनिक गरेर त्यसमाथि जनप्रतिनिधि र आम नागरिकको सुझाव लिइने पनि उहाँको भनाइ छ ।
बजेट निर्माणको परम्परागत तरिका भत्काउने उद्घोष गर्नुहुँदै प्रधानमन्त्री दाहालले दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नेगरी नीतिगत, संरचनागत र कानुनी सुधारका काम सरकारले गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । गत वर्षको तुलनामा उपभोक्ता मूल्यवृद्धि घटेको उहाँको भनाइ छ ।
विकास र समृद्धिको यात्रा सन्तोषजनक नभए पनि सरकारले अधिकतम प्रयास गरिरहेको पनि उहाँको भनाइ छ । आफ्नो नेतृत्वको सरकार पूर्ण रुपमा सफल भएको दाबी आफूले नगर्ने पनि दाहालले बताउनुभयो ।
“आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि, सरकार असफल त भएन, तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “देश कति बन्यो भन्ने होइन, देश कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली फेरिन्छ ।”
केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै पनि सार्वजनिक कार्यक्रममा नजाने उद्घोष पनि प्रधानमन्त्री दाहालले गर्नुभएको छ । “केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै पनि सार्वजनिक कार्यक्रममा नगएर नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधानमा लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानविन्दु हुनेछ । यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु ।”
रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच