कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, राष्ट्रिय सभामा उम्मेदवार मुख्य एजेन्डा

File Photo

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
राष्ट्रियसभा चुनावबारे छलफल गर्न पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।

बैठकमा राष्ट्रियसभा निर्वाचनसँगै पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षा पनि हुने बताइएको छ ।

बैठकमा मुख्य रूपमा राष्ट्रिय सभामा उम्मेदवारको विषय एजेन्डाका रूपमा छ । २९ मंसिरमा बसेको कार्यसम्पादन समिति बैठकले १० पुसभित्र प्रदेशलाई नाम पठाउन निर्देशन दिएको थियो । तर, धेरै आकांक्षी र विवादको सम्भावनाका कारण प्रदेशले सबै आकांक्षीको सूची केन्द्रमा पठाएका छन् ।

कांग्रेस विधानको धारा ३२ को उपधारा ९ मा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने क्षेत्रका एक सिटका प्रदेशले सहमति या बहुमतबाट तीनजनाको नाम निर्णय गरी केन्द्रमा पठाउनुपर्ने व्यवस्था छ । यसरी आएका नामबाट केन्द्रीय संसदीय समितिले टुंगो लगाउनुपर्ने र केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ । तर, कांग्रेसले हालसम्म संसदीय समिति गठन गरेको छैन ।

यसअघिका तीनै तहको निर्वाचनमा पनि सभापति देउवाले संसदीय बोर्ड गठनमा कुनै चासो दिएका थिएनन् । कांग्रेसको शेखर–गगन समूहले भने नयाँलाई अवसर दिनुपर्ने, उम्मेदवार छनोटमा मापदण्ड बनाउन र बोर्ड गठनका लागि दबाब दिने तयारी गरेको छ ।

उम्मेदवारको टुंगो भने केन्द्रीय समिति बैठक सकिएसँगै लगाउने तयारी छ ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बैठकले मापदण्ड बनाउने र उम्मेदवारको टुंगो नेतृत्वले टुंग्याउने गरी जिम्मेवारी दिने तयारीमा रहेको बताउँछन् । बैठकमा संस्थापन पक्षकै नेताहरूले सिफारिसमा अधिकांश अवसर पाएकाको नाम समेटिएको भन्दै ‘नयाँलाई अवसर’का लागि दबाब दिने तयारी गरेका छन् ।

राष्ट्रिय सभाका १९ सदस्यीय चुन्न ११ माघमा निर्वाचन हुँदै छ । २३ पुसमा मनोनयनको मिति छ । आजको बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?