महोत्सवको आकर्षण : स्थानीय उत्पादन

हिमालय टाइम्स
Read Time = 5 mins

बागलुङ । पछिल्ला समय मेला र महोत्सव आयातीत उत्पादन बिक्रीवितरणमा प्रेरित भइरहेका सन्दर्भमा बुधबारदेखि बागलुङमा सुरु भएको बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।

महोत्सवको मुख्य मञ्चतर्फ ‘मेड इन बागलुङ’ नाम दिएर स्टलमा स्थानीय उत्पादनअन्तर्गत अल्लोका कपडा, नेपाली कागज, भाँगो, गुन्द्रुक र सिस्नोको धुलोलगायतका सामग्री बिक्रीका लागि राखिएका छन् ।

कृषि ज्ञानकेन्द्रको व्यवस्थापनमा स्थानीय उत्पादन र कृषिउपजको प्रदर्शनी समेतको व्यवस्था मिलाएको छ । उत्कृष्ट कृषिउपज प्रदर्शन गर्ने किसानलाई पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमार्फत् जिल्लाको पहिचान दिने तथा स्थानीय उत्पादनको बिक्रीसँगै प्रचारप्रसार गर्ने उद्देश्यले स्टल राखिएको रुद्रताल सामाजिक उद्यमी महिला सहकारी जैमिनी नगरपालिका-३ दमेकका अध्यक्ष चित्रा छन्त्यालले बताउनुभयो । उहाँका अनुसार स्टलमा मकै, भटमास, आलु चिप्स, काँकोको गुन्द्रक, सिस्नोको पाउडर, मङ्सिरे सिमी र भाँगो बिक्रीका लागि राखिएका छन् ।

“नगरपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा आलु चिप्स, सिस्नोको पाउडर र गुन्द्रुकको ब्राण्ड बनाएर बिक्रीका लागि महोत्सवमा आएका छौँ । बिक्रीभन्दा हेर्नेको भीड छ । कम्तीमा प्रचारप्रसार होस् भन्ने हाम्रो चाहना छ”, छन्त्यालले भन्नुभयो, “महोत्सवले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर स्टल उपलब्ध गराएकामा धन्यवाद दिन चाहान्छौँ ।” मेलामा आउने धेरैले सिस्नोको पाउडर र बाँकोको गुन्द्रक लिने गरेका उहाँले बताउनुभयो ।

अध्यक्ष छन्त्यालका अनुसार सहकारीमार्फत स्थानीय उत्पादनको बजारीकरण गर्दा दमेकका महिलालाई आयआर्जनमा सहयोग पुग्नेछ । महोत्सवमा ताराखोला गाउँपालिकामा उत्पादित सेतो र रातो च्याउ, अल्लोको कपडा, धागो, नेपाली हाते कागज, आलु, मकै र सिल्टमुर लगायतका वस्तुलाई स्टलमा राखिएको छ ।

गाउँपालिकाको ताराखोला उद्यम विकासअन्तर्गत स्थानीयस्तरमा उत्पादन भएका अग्र्यानिक वस्तुको बजारीकरण गर्न बागलुङ बजार आएको उद्यम विकास सहजकर्ता निरु घर्तीले बताउनुभयो । उहाँका अनुसार ताराखोलामा पाइने स्लेट ढुङ्गाको समेत प्रदर्शनीमा राखिएको छ ।

“कतिपयलाई यहाँको स्थानीय उत्पादनका बारेमा जानकारी नभएर बजार नपाएको हुनसक्छ । महोत्सवमा बिक्रीसँगै प्रचारप्रसार मुख्य कुरा हो । यसले प्रदर्शनीमा राखिएका स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्नेछ । आगामी नौ दिनमा स्थानीय उत्पादनको बिक्री राम्रो हुनेछ भन्नेमा आशावादी छौँ”, घर्तीले भन्नुभयो, “मुख्य स्टल नै स्थानीय उत्पादनका भएकाले धेरैले चासो दिएर खरिद गर्ने र जानकारी लिने गर्नुभएको छ ।”

महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको महत्त्व बढाउन सहज हुने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै जिल्लामा पाइने भाँगो, गुन्द्रक र रातो च्याउलाई नेपालभर चिनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

महोत्सवमा एक सय २० भन्दा बढी स्टल छन् । महोत्सव अवधिभर रू १० करोडको कारोबार गर्ने लक्ष्य आयोजकको रहेको छ भने करिब सात लाख दर्शक भित्रिने अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?