बालकुमारी घटनाका दोषीलाई फौजदारी अभियोजन दर्ता गर्न नागरिक समाजको माग

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । सचेत नागरिक समाजले ललितपुरको बालकुमारीमा बिहीवार भएको घटनाबारे आपत्ति जनाउँदै सरकारको बिरोध गरेको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफ्ना नागरिकको रक्षा गर्ने दायित्व बोकेको राज्यले निहत्था नागरिकको हत्या गर्न नमिल्ने बताएका हुन् । उनीहरुले दुवै पक्षबाट गोली चलेको भए राज्य संयन्त्रलाई गोली चलाउन छुट रहेपनि निहत्था नागरिकमाथि सरकारले कुन आधारमा गोली चलाएको हो भन्नेकुराको छानबिन हुनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफ्ना नागरिकको रक्षा गर्ने दायित्व बोकेको राज्यले निहत्था नागरिकमाथि गोली प्रहार गरी हत्या गर्नु लोकतन्त्रको सबैभन्दा खराब पक्ष रहेको जिकिर गर्नुभयो । उहााले राज्य नै अपराधी भएको जिकिर गर्नुभयो । उहाँले निहत्था नागरिकको हत्या गर्नेहरुलाई कारबाही हुनैपर्ने बताउनु भयो । बालकुमारी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र फौजदारी अभियोजन दर्ता गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राज्य नै क्रेमिनल जस्तो भइसकेको छ । राज्यका पदाधिकारी, सञ्चालकहरु क्रेमिनल जस्ता छन् । कानून कार्यान्वयन गर्ने व्यक्तिहरु नै सबैभन्दा ठूला अपराधीक व्यक्ति भएका छन् । राज्यमा निरन्तर अपराधीकरण भएको छ । राज्यले आफ्ना नागरिकको रक्षा गर्ने दायित्व बोकेको नागरिकको हत्या गर्छ । लोकतन्त्रमा यो भन्दा खराब कुरा हुनै सक्दैन । यो भन्दा गम्भीर आपत्तिजनक कुरा अर्को हुन सक्दैन । यो जस्तो गम्भीर अपराध अदण्डित रहनु हुँदैन । निहत्था नागरिकमाथि कुटेर मार्ने, निहत्था नागरिकमाथि गोली प्रहार गर्न पाइँदैन, दुवैतिरबाट गोली हानाहान भएको थियो ? प्रदर्शनकारीको हातमा पनि बन्दुक थियो ? बन्दुक थिएन भने निहत्था नागरिकमाथि गोली प्रहार गर्न पाइँदैन । हिजोको जुन घटना छ, यसको छानबिन हुनुपर्छ । यसमा फौजदारी अभियोजन हुनुपर्छ । तत्काल सरकारले यो दंगा नियन्त्रण गर्ने पुलिसलाई मान्छे मार्ने गोली प्रहारलाई रोक्नुपर्छ ।’

उहाँले जनता मार्ने अधिकार सरकारलाई नरहेको बताउनु भयो । बिहीवार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरुले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा दुई जना युवाको ज्यान गएको थियो । परीक्षा दिन पाउनुपर्ने माग राखि आन्दोलनमा उत्रिएका युवाहरुमाथि प्रहरीको गोली र लाठि चार्ज हुँदा दुई युवकहरुको ज्यान गएपछि यतिबेला सरकारको चर्को आलोचना भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?