काठमाडौं । इन्टेग्रिटी आइकन नेपालले २०२३ का लागि विभिन्न क्षेत्रका पाँच उत्कृष्ट व्यक्तित्व अर्थात् इन्टेग्रिटी आइकन नेपाल २०२३ सार्वजनिक गरेको छ । जसअन्तर्गत नारायणी अस्पताल वीरगञ्जकी नर्सिङ निरीक्षक हेमा थापा, महिला तथा बालबालिका विभागकी निर्देशक नीरा अधिकारी, शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाका बागवानी विकास अधिकृत पद्मनाथ आत्रेय, जिल्ला प्रशासन कार्यालय झापाकी प्रशासकीय अधिकृत प्रतीक राई र काठमाडौंको मनमैंजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन रहेका छन् ।
हेमा थापा विगत २८ वर्षदेखि नारायणी अस्पतालमा कार्यरत हुनुहुन्छ । हेमालाई चिन्नेहरू सबैले असहायको सहारा ठान्छन् भने कसैले प्रेरणाको स्रोत । कामको मूल्यांकन गर्दै उहाँलाई एनआइसियुको जिम्मेवारी दिइएको थियो । उहाँले सरकारी मापदण्ड पूरा हुने गरी दुई वर्षमा अक्सिजन पाइप लाइनदेखि कंगारु आमा हेरचाह इकाईसम्म स्थापना गरेर एनआइसियुमा हुनुपर्ने सबै मापदण्ड पूरा गर्नुभएको थियो । एनआइसियु विभाग पाँच बेडबाट स्तरोन्नति हुँदै १० बेडको भयो । २०७८ सालदेखि थापा एकद्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनका रूपमा पनि काम गर्दै आउनुभएको छ । एउटा साँघुरो कोठामा सीमित, नाममात्रको केन्द्रलाई चलायमान बनाउँदै सात महिनामा वीरगञ्ज अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्रले सरकारले तोकेको मापदण्ड पूरा गरेको थियो । कोरोनाकालका बेला त हरेक चुनौतीपूर्ण काममा उहाँ आफैं अघि सर्नुहुन्थ्यो ।
त्यस्तै, सरकारले अपांगमैत्री नीति बनाउँदा आउने निर्विकल्प नाम हो, नीरा अधिकारी । अपांगता अधिकार ऐनमा महिलाको खण्ड नै थिएन । व्यक्तिगत अपांगताको विषयमात्र उल्लेख थियो । अपांगता भएका महिलाको अवस्था फरक हो भनेर उहाँले बुझाउनुभयो । सोही कारण ऐन आउने बेलामा दफा थपेर नै ऐन ल्याइयो । हाल विभागलाई उहाँ कागजरहित कार्यालय बनाउने कामको नेतृत्व गरिरहनुभएको छ । उहाँले विभागले ल्याउने कार्यक्रमका लागि सार्वजनिक परीक्षणको ढाँचा परिवर्तन गर्नुभएको छ । संख्यामा आधारित सर्वेक्षणभन्दा पनि वास्तविक सेवाग्राहीले सरकारले दिने सेवालाई कसरी हेरेका छन् ? महिलाका लागि सरकारले उपयुक्त कार्यक्रम ल्याउन सक्यो कि सकेन ? कस्ता कार्यक्रम ल्याउँदा बढी प्रभावकारी हुन्छ ? जस्ता प्रश्नावली सर्वेक्षणमा राख्ने गर्नुभएको छ ।
त्यसैगरी पद्मनाथ आत्रेयलाई खोज्दै सेवाग्राही सरकारी कार्यालय पुग्छन् । उहाँ कृषकलाई उपयोगी सामग्री सबैले बुझ्ने भाषामा भिडियो, पुस्तक र सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरिदिनुहुन्छ । अर्को कारण सेवाग्राहीलाई आवश्यक पर्दा सकेसम्म जुनसुकै माध्यमबाट जुनसुकै समयमा सहजै उपलब्ध भइदिनुहुन्छ । उहाँलाई पछ्याउँदै युवाहरू विदेशबाट नेपाल फर्किएका अनि रोल्पाबाट सेवा लिन मुस्ताङ आइपुगेका उदाहरण पनि छन् । आत्रेयले नेपालमा उच्च उत्पादन दिने स्याउका गुणस्तरीय बिरुवा टिस्युकल्चर प्रविधिबाट नेपालमै पहिलोपटक मुस्ताङमा उत्पादन गर्दै हुनुहुन्छ ।
त्यस्तै, प्रतीक राई व्यवस्था, नियम कानुनअनुसार चल्नुपर्छ र सेवामा सम्मान हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढ्नुभएको छ । सकेसम्म सेवाग्राहीले सरल सेवा पाऊन् र सेवा प्रवाहमा नियम कानुन पालना होस् भन्ने उहाँको चाहना रहेको छ । अध्यागमन विभागको गैरपर्यटकीय शाखाको भिड व्यवस्थापन गरेर सेवाग्राहीको मन जित्ने, जिल्ला प्रशासन कार्यालय, उदयपुरमा प्रशासकीय अधिकृत हुँदा सेवाग्राहीलाई सेवा लिन यताउता भौंतारिन नपरोस् भनेर खरिदार र सुब्बाको कोठापछाडि टेबल-कुर्सी राखेर काम गर्नुभयो ।
त्यस्तै रविना महर्जनले व्यावहारिक शिक्षालाई जोड दिएपछि गणितमा रुचि नै नभएका विद्यार्थीका लागि ५० प्रतिशत अंक सामान्य हुन थाल्यो । विद्यालय छोडेर खेतीपातीमा रमाउने विद्यार्थी विद्यालय आउन थाले । रविनालाई आफू पढाउने विद्यालयको गुणस्तर कुनै पनि निजी विद्यालयभन्दा कम नहोस् भन्ने चिन्ता हुन्छ । त्यसका लागि उहाँ शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र व्यवस्थापनमा पनि सुधार गर्न लागिपर्नुभयो । विद्यार्थीले बाल क्लब गठन गरी त्यसको नेतृत्व आफंै लिन थाले । कक्षामा विद्यार्थीले सिर्जनात्मक क्रियाकलाप अभ्यास गर्न थाले । लेख रचनासँगै नियमित डायरी लेखन कार्य अघि बढाए । त्यसले विद्यार्थीको आत्मविश्वास बढ्यो । जसका कारण पाँच सयबाट बढेर विद्यार्थी संख्या आठ सय ३३ पुग्यो । आयोजकले उनीहरूलाई आगामी पुस २७ गते सम्मान गर्दैछ ।
आयोजक संस्थाकी अस्मिता शर्माका अनुसार अकाउन्टबिलिटी ल्याब नेपालले विगत १० वर्षदेखि इन्टेग्रिटी आइकनमार्फत् सार्वजनिक संयन्त्रभित्रका त्यस्तै कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आएको छ । यस वर्ष इन्टेग्रिटी आइकनका लागि देशभरबाट चार सय ६६ मनोनयन प्राप्त भएका थिए । जसमध्ये पाँचजना छनोटमा परेका हुन् । निर्णायक समितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच