सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सधैँ फ्लाईटको समस्या

जहाजको टिकट सर्वसाधरणको पहुँच भन्दा बाहिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडाैं । सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधरणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ ।

मौसमको प्रतिकुलता र एयरलाईन्सहरुको सिमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्युन हुनु, निजी एयरलाइन्सहरुले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधरणलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।

नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधरणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त विचौलियालाई । सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ ।

सुत्केरी गराउन नेपालगञ्ज आएकी लुम्बिनी प्रदेश पूर्वीरुकुमकी टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहनुभएको छ । नेपालगञ्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन । रुकुमपूर्व सिस्ने गाउँकी टिका जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगञ्ज आउनुभएको थियो । १८ दिनकी सुत्केरी टिकासँग जहाजको टिकट छैन । पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यता उता गरिरहनुभएको छ ।

उहाँ भन्नुहुन्छ “फ्लाईट पनि गारो छ । पाइँदैन । उतै अपरेसन भएपनि ब्लड पाइँदैन । आईसियु छैन । सेवा सुविधा केही पनि छैन । सके पनि नसकेपनि यही(नेपालगञ्ज) आउनैपर्ने बाध्यता छ । अब यहाँ यत्तिका समय भइसक्यो फ्लाइट नै पाइँदैन ।’

पूर्वीरुकुम पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर ८ की निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगञ्ज आउनुभयो । जुम्लयाहा नानीहरुकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुंगो छैन । एक महिना भईसक्यो नेपालगञ्ज होटलमा बसेको अझै कतिदिन बस्नुपर्ने हो भन्ने पिरलो उहाँमा पनि देखिन्छ ।

निशाले भन्नुभयो ‘म डेलिभरीको लागि यहाँसम्म आएको हो । पुर्वी रुकुम देखि पश्चिम पठाईदियो । दुईवटा बच्चा छ नेपालगञ्ज जानुपर्छ भनेका कारणले यहाँ सम्म आएको । यहाँ आएपछि । अप्रेसन भयो । ४ दिन हस्पिटल बसेको हो । अनि होटलमा एक महिना बस्यौ । अब घर जान लागेको । जहाजको टिकट मिल्दैन भन्नुभएको छ ।’

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका वडा नम्बर ४ का विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउनुहुन्छ । कसैलाई भनसुन नगरि हवाई उडानको टिकट पाउन नसकिने अनुभव उहाँको छ । शाही भन्नुहुन्छ ‘नेपाल वायुसेवा निगमले रेगुलर उडान गर्ने हो भने पनि निजी एयरलाइन्सको भर पर्नुपर्ने थिएन । नेपाल वायु सेवा निगमलाई सिस्टममा ल्याउन सकिएको छ । मुख्य समस्या यही हो । प्राईभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन् । मुख्य कुरा टिकट नै पाईदैन । सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन । च्यानलमा जानुपर्छ । नेताको ज्याक लिएर जानुपर्छ । टिकट पाउन बहुत गारो छ । विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउँला ?’

विदेशी टोली आउँदा दिनमा ५ वटा सम्म चार्टर गर्ने निजी एयरलाईन्सहरुले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन् । कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरु बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरु हवाई उडान सेवा प्रति नै आक्रोशित बन्दै गएका छन् ।

नेपाल वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरि स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ । निगमको जहाजको उडान धेरै जसो स्थगित भइरहँदा निजी एयरलाइन्ससँग मिलेमतो भएको हो कि भन्ने शंका पनि स्थानीयको छ । निजी एयरलाईन्सहरुले पनि नियमित उडान स्थगित गरेर चार्टर उडान गर्ने गर्दा बल्ल बल्ल टिकट पाएका सर्वसाधरण चर्को भाडा तिर्न बाध्य हुने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?