काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारका कामलाई अझ प्रभावकारी बनाउने योजनामा रहनुभएको जनाएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विशेष रूपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताउनुभएको हो ।
प्रवक्ता सापकोटाले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले पुनर्गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताउनुभयो । उहाँले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनर्गठनका लागि तयारी गर्दै छु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ ।’
प्रवक्ता सापकोटाले भन्नुभयो, ‘तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा रिसफल गरेर भने पनि मन्त्रीहरूको कामलाई अघि बढाउनुपर्छ, सिंगो मन्त्रिपरिषद्को कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ । तर, ठोस समीक्षा भएको छैन । उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनु भएको छ । त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ ।’ प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताउनुभयो ।
पार्टीको जनतासँग विशेष रूपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी पनि माओवादीले गरेको छ । प्रवक्ता सापकोटाले जनतासँग विशेष रूपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गर्नुभयो । उहाँले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनःगठन गरेको बताउनुभयो । उहाँले कार्यकर्ताहरूमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभई माओवादी अरू बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गर्नुभयो ।
अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको संख्यामा वृद्धि हुँदै जान उल्लेखनीय भूमिका खेलेको प्रवक्ता सापकोटाको दाबी छ । प्रवक्ता सापकोटाले अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको बताउनुभयो । सापकोटाले राष्ट्रिययसभाबारे अवसर नपाउनेलाई ल्याउनुपर्छ भन्नेबारे पदाधिकारी तहमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म पार्टीमा हामीले पाउने सिट गठबन्धनमा भागबण्डा लगायतका नीतिगत विषयमा छलफल भएको छ । सबैतिरबाट सिफारिस आएपछि ठोस छलफल होला ।’
बालकुमारी घटना स्वाभाविक नभएको निष्कर्ष
नेकपा माओवादी केन्द्रले बालकुमारी घटना स्वाभाविक नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले घटना रहस्यमय जस्तो देखिएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो धेरै गम्भीर विषय हो । राज्य व्यवस्था समितिमा पनि छलफल भएको छ । घटना घटेको क्षणदेखि नै प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनु भएको छ ।
हामीलाई पनि के लाग्छ भने घटनालाई रूप र सारमा हेर्नुपर्छ । जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर, गोली नै चल्नुपर्ने स्थिति नआउनुपर्ने लाग्छ । समग्र घटनाको कुरा गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्षको आशय यो घटनाको गम्भीरतापूर्वक छलफल गर्नुपर्छ । सबैले अध्ययन गर्नुपर्छ । तर, यो त्यति स्वाभाविक छैन, रहस्यमय छ ।’ उहाँले उत्तेजना फैलाए जस्तो रहेको भन्दै स्वाभाविक जस्तो नदेखिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच