
बझाङ । सूचना प्रविधिको विकाससँगै अप्टिकल फाइबर र एनटी फाइबर भित्रिए पनि बझाङका अधिकांश ठाँउहरूमा फोन गर्न घामनै कुनुपर्ने बाध्यता छ । गाउँको कोही व्यक्ति बिरामी पर्यो भने फोन गरेर स्वास्थ्यकर्मी तथा गाडी चालक वा धनीलाई सम्पर्क गर्न सकिँदैन । स्वास्थ्यकर्मी र गाडी चालकलाई खबर गर्न हातमा फोन भए पनि अर्को गाउँमा गएर फोन गर्नुपर्ने अथवा घाम कुर्नुपर्ने बाध्यता छ । ‘बिहान घाम लाग्यो भने मोबाइलमा नेटवर्क आउँछ, साँझ घाम अस्ताउँदा नेटवर्क पनि अस्ताउँछ’, जिल्लाको केदारस्युँ गाउँपालिका-३ झड्खेतका मुकेश खाती भन्नुहुन्छ ।
मुकेश मात्र होइन यहाँका सबै स्थानीयको पीडा एउटै छ । उनीहरू अझै अध्याँरोमै जीवन बिताउन बाध्य रहेको बताउँछन् । घाम लाग्दा पनि उनीहरू फोन गर्न अग्ला डाँडाकाँडा र रूखमा चढ्नुपर्ने बाध्यतामा छन् । खप्तडछान्ना गाउँपालिका–३ का वडा अध्यक्ष गौरी अधिकारी भन्नुहुन्छ, ‘गाउँमा कोही महिला सुत्केरी भएर स्वास्थ्यकर्मीलाई खबर गर्नुप¥यो भने मोबाइलमा नेटवर्क हुँदैन । स्वास्थ्यकर्मीलाई खबर गर्न मानिसलाई कुदाउनुपर्छ । इमर्जेन्सीमा गाडीधनी वा चालकलाई फोन गर्न पर्यो भने टावर हुँदैन । समयमै खबर नपाएर अस्पताल पुर्याउन नसकिँदा बिरामीहरूले अकालमा ज्यान गुमाइरहेका छन् ।’
खप्तडछान्ना गाउँपालिकाका-६ का स्थानीय ईश्वरबहादुर थापा भन्नुहुन्छ, ‘इन्टरनेटको जमनामा पनि सञ्चार सुविधाबाट वञ्चित हुनुपर्दा धेरै दुःख लाग्छ ।’ यस विषयमा पटक-पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराएको भए पनि आश्वासनमै सीमित भएको खप्तडछान्ना गाउँपालिका-४ कि स्थानीय गीता रोकायाको भनाइ छ । जिल्लाका विभिन्न स्थानहरूमा नेपाल टेलिकमको नेटवर्कको समस्या बेला बेलामा हुने गरेको स्थानीय बताउँछन् ।
२०७८ साल कात्तिक १ गते बझाङको थलारा गाउँपालिका-४ डिख्ला गाउँ माथिबाट खसेको पहिरोले २३ जना बेपत्ता भए । मध्यराति पहिरो आउँदा डिख्लाबासी कहाँ जाने के गर्ने दोधारमा परे । स्थानीय शिक्षक मानबहादुर साउदले जिल्ला प्रहरी कार्यालयमा फोन गर्न खोज्नुभयो तर मोबाइलमा नेटवर्क थिएन, गाउँमा उज्यालो दिने बिजुली पनि थिएन । रातभर छट्पटिएका डिख्लावासी भागेर महेन्द्रधार डाँडामा गएर बसे ।
बिहान उज्यालो भएपछि रेडियो बजाउन खोजे रेडियो पनि विद्युत् नहुँदा बन्द अवस्थामा थिए । त्यसपछि शिक्षक मानबहादुर साउदलगायत ६ जना गाउँभन्दा पाँच किलोमिटर माथि गढीगाउँको डाँडामा गएर नेटवर्क टिप्छ कि भनेर प्रयास गरे तर पनि नेपाल टेलिकमको कुनै पनि नेटवर्कले साथ दिएन । त्यसपछि एनसेल सिमकार्ड फेरेर हेर्दा बल्लतल्ल दुई धर्का नेटवर्क देखियो । त्यसपछि उहाँले हत्तपत्त प्रहरीकहाँ फोन गर्न खोज्नुभयो तर सदरमुकाममा रहेको प्रहरी कार्यालयमा फोन लागेन । किनभने त्यसबेला विद्युत् अभावमा नेपाल टेलिकम टावरले काम गरिरहेका थिएनन् । गाउँमा त्यत्रो घटना भएकाले खबर जसरी पनि पुर्याउनुपर्ने बाध्यता ती ६ जनालाई भएकाले उहाँहरूले एउटा रेडियोको एनसेल नम्बरमा फोन गरे । त्यसपछि रेडियोले उहाँहरूको आवाजसहित उक्त घटनाको प्रत्यक्ष प्रशारण गर्यो र पछिल्लो दिन प्रहरी प्रशासन उद्धारमा जुटेको थियो ।
यी प्रतिनिधि घटना मात्रै हुन् बझाङका । बर्खामास र हिउँदमा दुर्गमका बस्तीहरू बेहाल हुने गर्छन् । फोन र विद्युत्को त कुरै छोडौँ । एक गाउँबाट खबर दिन अर्को गाउँ जान बाटोसमेत रहँदैन । जुन ठाउँमा बसोबास छ त्यही ठाउँमा मात्रै सुरक्षित बस्नुपर्ने अवस्था छ । विज्ञान प्रविधिको युग भए पनि बझाङमा आधारभूत आवश्यकताको रूपमा रहेको टेलिफोन र इन्टरनेट सेवा बादल लाग्नासाथ हराउनु लज्जास्पद भएको जयपृथ्वी बहुमुखी क्याम्पसका प्राध्यापक लालबहादुर बोहराले बताउनुभयो ।
बझाङमा फोन तथा इन्टरनेट सेवा प्रदान गर्न नेपाल टेलिकमले २२ वटा टावर निर्माण गरेको छ । तर, ती टावरमध्ये ६ वटा मात्रै राष्ट्रिय प्रशारण लाइनको विद्युत्सँग जोडिएका छन् भने बाँकी १६ वटा सोलार सिष्टमबाट सञ्चालन भइरहेका छन् । यी टावरले घाम लाग्दा मात्रै काम गर्छन्, बादल लाग्नासाथ बन्द हुने गरेका छन् । विद्युत् पनि आकाशमा बादल लाग्नासाथ र हावा चल्नासाथ अवरुद्ध हुने गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको छ ।
बादल लाग्दा पनि नेटवर्क नआउने भएपछि समस्या हुदाँ इमर्जेन्सी काममा पनि सञ्चारविहीन हुनु परेको स्थानीयले गुनासो गरेका छन् । जिल्लाको खप्तडछान्ना, छविसपाथिभेरा, दुर्गाथली गाउँपालिका, बित्थडचिर गाउँपलिका साईपाल गाउँपालिका, बुंगल नगरपालिकालगायत विभिन्न स्थानहरूमा नेपाल टेलिकमको नेटवर्कको समस्या बेला बेलामा हुने गरेको स्थानीयले बताएका छन् ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका-४ नेटाकाटियाँको चौकाडाँडा र वडा नं.६ बयानाको डाँडामाडौँ, बुंगल नगरपालिकाको जयनली डाँडा, थलकाँडा, दहबगर डाँडा यस्तै केदारस्युँ गाउँपालिकाको केदार डाँडा र छविसपाथिभेरा–२ को मेल्लेख डाडाँमा नेपाल टेलिकमका टावरहरू रहेका छन् ।
यता, नेपाल टेलिकम दूरसञ्चार कार्यालय बझाङका कार्यालय प्रमुख बमबहादुर सिंहले डाँडामा टावरहरू भएको भए पनि अहिलेसम्म टावर रहेका डाँडासम्म विजुली पुर्याउने पहल नभएको र टावरहरूमा विद्युत् आपूर्ति हुन नसकेका कारण यस्तो समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै जस्तो जडान गरेका टावरमा विद्युत् आपूर्ती तथा ब्याट्रीको समस्या छ । अन्य प्राविधिक समस्याका कारण नेटवर्कले काम नगर्ने र काम गरेको ठाउँमा पनि राम्रोसँग काम नगर्ने वातावरण रहेको स्वीकार गर्नुभयो ।’ उहाँले यसका लागि कार्यालले क्षेत्रीय कार्यालयमा समस्याका बारेमा पुनः मर्मत सम्भारका विषयमा पत्राचार गर्दै आएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच