प्रहरी महानिरीक्षकद्वारा प्रहरी कार्यालय पाल्पाको नवनिर्मित भवन उद्घाटन

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कार्यालय पाल्पाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको छ ।

आइतबार एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले कार्यालय भवनसहित कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर, हिरासत र मेश भवनहरूको उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमानदारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवद्र्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले सिमित स्रोत र साधनको प्रयोग गरी शान्ति सुरक्षा प्रवाह गर्दै आएको बताउनुभयो । महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको अभावमा देशको समृद्धि हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले नागरिकमैत्री प्रहरी संगठन भएमात्रै जनविश्वास जित्न सकिने पनि उल्लेख गर्नुभयो । ‘नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जवाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारबाहीहरू उत्कृष्ट हुन्छन्,’ महानिरीक्षक कुँवरले भन्नुभयो, ‘त्यसका लागि प्रहरी कर्मचारीको मनोबल बढाउन आवश्यक छ । प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धिमार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्य हासिल गर्न हामी लागि परेका छौं ।’ उहाँले जनअपेक्षा अनुसार शान्ति सुरक्षा प्रवाह गर्न जिल्लाको प्रहरी संगठनलाई निर्देशन समेत दिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले संगठनलाई सुधार्न, थप सुदृढ एवं बलियो बनाउन सबैको साथ सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले शान्ति सुरक्षाको हिसावले पाल्पा जिल्ला प्रदेशकै नमुना जिल्ला रहेको समेत बताउनुभयो । महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारी र एसईइमा उत्कृष्ट अंक ल्याइए उत्र्तिण हुने प्रहरीका सन्ततीहरुलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।

नेपाल सरकारको नियमित बजेटबाट दुई चरणमा ठेक्का आह्वान गरी ६ करोड ९५ लाख ५५ हजार ४ सय ३९ रुपैयाँको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको हो । भवन निर्माणको काम २०७६ /१२/०६ मा सुुरु भई २०८०/२/३० मा सकिएको हो । कार्यालय प्रमुख निवास भवनको भुई र पहिलो तलामा ५ वटा कोठा रहेका छन् । ३ तले ब्यारेक भवनमा १२ वटा कोठा छन् ।

यसै गरी २ र आधा तले भान्सा घरमा ७ वटा कोठा छन् भने, शौचालय भवनमा १० वटा कोठा रहेका छन् । २ र आधा तले सिनियर प्रहरी अधिकृत निवास भवनमा १० वटा कोठा, महिला तथा पुरुषका लागि छुट्टछुट्टै हिरासत कक्षमा ८ वटा कोठाहरु रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक हेरम्बर शर्मा बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?