अवैध संरचनामाथि महानगरको निरन्तर नजर

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान जारी राखेको छ । झण्डै एक महिना अघिदेखि सुरु गरेको अवैध संरचना भत्काउने अभियान महानगरले हालसम्म जारी राखेको हो । अवैध संरचना हटाउने अभियानअन्तर्गत सडकपेटी र फुटपाथ खाली गराउनेदेखि मापदण्डविपरीत बनाइएका भवन, भवनका पार्किङस्थल महानगरले खाली गराउँदै आएको छ । नक्सा पासबिनै बनेका संरचना र नक्सामा उल्लेख भएविपरीत प्रयोग गरिएका संरचनामा महानगरले डोजर लगाइरहेको छ । झण्डै एक महिनाअघि महानगर प्रमुख बालेन्द्र साह (बालेन) स्वयं फिल्डमा गएर अवैध संरचना हटाउन लगाउनुभएको थियो । नयाँ बानेश्वर चोक क्षेत्रमा व्यावसायिक भवनका अण्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेका भवनमा पार्किङ खुलाउन भदौ ६ गते मेसिन प्रयोग गरेर महानगर प्रहरीले संरचना भत्काएको थियो ।

त्यसपछि मेयर साहकै उपस्थितिमा बानेश्वरकै अल्फाबिटामा डोजर चलाइएको थियो । सुन्धारा र न्युरोड क्षेत्रका अवैध संरचनामा भत्काउन मेयर साह नै फिल्डमा पुग्नुभएको थियो । महानगरले हालसम्म कोटेश्वर, शंखमूल, चाबहिल, बसुन्धारा, माछापोखरी, बालाजुलगायत ठाउँमा रहेको अवैध संरचना भत्काइसकेको छ । पछिल्लो समय भने महानगर प्रहरीले अवैध संरचना हटाउँदै आएको छ । अवैध रूपमा निर्माण भएका संरचना भत्काउने सम्बन्धमा कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरिएको हो । नक्साअनुसार निर्माण नगरिएका, नक्साअनुसार निर्माण गरिए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना अवैध ठहर गर्दै कामपाले त्यस्ता संरचनामाथि डोजर चलाएर भत्काउन सुरु गरेको हो । हालसम्म कामपाले अवैध ठहर भएका सानाठूला गरी दुई सयभन्दा बढी संरचना भत्काइसकेको जनाएको छ ।

जयनेपाल हलको कम्पाउण्ड खोतल्दा भेटियो टुकुचा खोला
काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले जयनेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला भेट्टाएको छ । बिहीबार डोजरसहित सो क्षेत्रमा पुगेको नगर प्रहरी टोलीले कम्पाउण्ड खोतल्दा खोला भेट्टाएको हो । डोजरले गहिरो खाल्डो खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायव भएको थियो । यस अघिदेखि नै स्थानीयले खोला अतिक्रमण गरेर संरचनाहरू निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेका थिए । महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायव भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको हो । महानगरका अनुसार टुकुचा खोलामाथि नारायणहिटी राजदरबार, जयनेपाल हल, न्युप्लाजालगायत सयौँ ठूल्ठूला भवन निर्माण भएका छन् । पुतलीसडकदेखि थापाथली क्षेत्रसम्म पनि खोला गायव भएको छ । कमलादी क्षेत्रस्थित काठमाडौं प्लाजा पछाडि केही ठाउँमा मात्रै टुकुचा देखा पर्छ ।

अवैध संरचना हटाउने अभियानविरुद्ध फुटपाथ व्यवसायीको प्रदर्शन
काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यापारीहरूले प्रदर्शन गरेका छन् । महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरविरुद्ध आन्दोलन गरेका हुन् ।

पूर्व-सूचनाबिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको भन्दै व्यवसायीहरूले बिहीबार प्रदर्शन गरेका छन् । जिफन्टनिकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् । महानगरपालिकाले सडकपेटी तथा गल्लीमा व्यापार गरेर जीवन चलाउने निम्नवर्गीय स्वरोजगार श्रमिकहरूको सामान कब्जा गर्ने, श्रमिकहरूलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको उनीहरूको आरोप छ । विरोध प्रदर्शनपछि नेपाल स्वरोजगार व्यापार श्रमिक संघले महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका हुन् । महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउने भनेर समय माग गरे पनि मेयर साहले समय नदिएपछि उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले तीन दिन अगाडिदेखि समय माग गर्दासमेत मेयर साहले समय नदिएको बताउनुभयो । व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले फुटपाथ व्यवसायीहरूको मागलाई जस्ताको त्यस्तै मेयर साहलाई बुझाउने बताउनुभयो ।

दिनमा दुई/तीन घण्टा व्यापार गर्न पाउनुपर्छ : फुटपाथ व्यवसायी
नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले महानगरले फुटपाथ व्यवसायीहरूको रोजीरोटी खोसिदिएको बताउनुभयो । उहाँले २४ घण्टामा दुई घण्टा गरिखाने वातावरण मिलाउन महानगरसँग माग गरेको बताउनुभयो । मेयर साहले १०औँ हजार नागरिकले सडकमा रोइरहेको आवाज सुन्नुपर्ने उहाँको भनाइ छ । त्यस्तै, संघका बागमती प्रदेश कमिटीका उपाध्यक्ष सनत ढकालले महानगरपालिकाले फुटपाथ व्यापारीहरूलाई गरेको अमानवीय व्यवहारको भत्र्सना गर्ने बताउनुभयो । उहाँले सडकमा व्यापार व्यवसाय गरेर आफैँ स्वरोजगार भएका नागरिकलाई सम्मान गर्नुपर्ने अवस्थामा महानगरले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभयो । व्यवसायीहरूसँग सहकार्य गरेर काम गरे सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?