काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा ५२ जनाले उम्मेदवारी दिएका छन् । सोमबार निर्धारित समयमा विभिन्न दलका ५२ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ६, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा १५ जनाले मनोनयन दर्ता गराएका छन् । बागमतीपछि गण्डकी प्रदेशमा आठजना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । लुम्बिनी प्रदेशमा सात जनाले मनोनयनपत्र दर्ता गराएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश र कर्णालीमा समान ६/६ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै, कोशी प्रदेश र मधेशमा पाँच÷पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिहृन वितरण हुनेछ । निर्वाचनमा मतदानका लागि मुलुकका सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुईवटा मतदान केन्द्र कायम गरिएको छ । मतदान भने माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ । राष्ट्रियसभा निर्वाचनमा २०४७ मतदाताले मतदान गर्नेछन् ।
उनीहरूको मतभार ५७ हजार ५५९ रहेको छ । कोशीमा ३६७ जना मतदाता र १० हजार १३५ मतभार छ । मधेशमा ३७४ जना मतदाता र १० हजार मतभार ७४४ छ । त्यस्तै, बागमती ३४७ मतदाता र १० हजार ३३३ मतभार छ । गण्डकीमा २३० मतदाता ६ हजार ४१० छ । लुम्बिनीमा ३०५ मतदाता र मतभार आठ हजार ७५३ छ । त्यस्तै, कर्णालीमा १९६ मतदाता र मतभार ५०८४ छ । सुदूरपश्चिममा २२८ जना मतदाता र ६ हजार १०० मतभार छ । प्रदेशसभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभार १९ रहेको छ ।
राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुने २० मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदै छ । आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभाका सदस्यको पदावधि सकिने भएपछि एक महिनाअगावै निर्वाचन हुन लागेको हो । बिदा भएर जानेमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित २० जना छन् । यसमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का आठजना छन् । एमालेका समेत आठ सिटको सत्ता गठबन्धनले भागबण्डा गरेका छन् । जसमा कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६ जना, एकीकृत समाजवादीबाट दुई, जनता समाजवादीबाट एकजनाको उम्मेदवारी परेको छ । यता, प्रमुख प्रतिपक्षी नेकपा एमाले भने एक्लै मैदानमा उत्रिएको छ । एमालेले १९ जना नै उम्मेदवारी दिएको छ । राप्रपा पनि एक्लै चुनावी मैदानमा छ ।
अहिलेकै स्थितिमा सत्तारूढ गठबन्धनबीच तालमेल र इमानदार कार्यान्वयन भए एमालेले कुनै पनि सिटमा विजय हासिल गर्ने सम्भावना छैन । राष्ट्रिय सभाका लागि हुने निर्वाचनमा सबै प्रदेशमा गठबन्धन मतभारका हिसाबले बहुमतमा छ । राष्ट्रिय सभाका रिक्त २० सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । जसमा १९ जना निर्वाचनबाट र एकजना मनोनीत हुनेछन् ।
कोशीमा पाँच जनाको उम्मेवारी
कोशी प्रदेशमा नेकपा एमाले उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एमालेबाट अन्य कोटामा परशुराम अधिकारी र महिला कोटामा रुक्मिणी कोइरालाले मनोनयन दर्ता गराउनुभएको हो । यस्तै, सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पा कार्कीले मनोनयन दर्ता गराउनुभएको छ ।
मधेशमा पाँच जनाको उम्मेदवारी
मधेश प्रदेशबाट पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धन दल नेपाली कांग्रेसबाट आनन्द ढुंगाना र जसपाबाट पूजा चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो । कांग्रेसका ढुंगानाले अन्यतर्फबाट र जसपाकी चौधरीले महिला क्लस्टरबाट उम्मेदवारी दिनुभयो । यसैगरी, एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषा देवी थरुनीले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै, जनमतबाट रामशंकर महासेठले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारकै नाम मतदाता नामावलीमा भेटिएन
मधेश प्रदेशमा नेकपा एमालेको राष्ट्रियसभा सदस्य पदका उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नहुँदा मनोनयन रोकिएको छ । सिंहको मनोनयन नभएपछि विजेता झाले मनोनयन गर्ने तयारी गर्नुभएको छ । एमालेबाट राष्ट्रियसभा सदस्य अन्य तर्फका उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभएपछि एमालेले विजेता झालाई उम्मेदवार बनाएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनका लागि आउनुभएका सिंहको नाम मतदाता नमावलीमा नभेटेपछि झालाई उम्मेदवार बनाइएको एमालेले नाएको छ ।
बागमतीमा १५ जनाको उम्मेदवारी
बाग्मती प्रदेशमा १५ जनाले मनोनयन दर्ता गराएका छन् । बागमतीमा चार सिटका लागि निर्वाचन हुँदै छ । सोमबार राजधानी हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा चार सिटका लागि १५ जनाले उम्मेदवारी दिएका हुन् । बागमतीमा सत्ता गठबन्धन दलबाहेक नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएका हुन् ।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले २ सिटमा उम्मेदवारी दिएको छ । कांग्रेसबाट महिलातर्फ विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनकै तर्फबाट माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक–एक सिटमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट अपांगता÷अल्पसंख्यकतर्फ श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट दलिततर्फ घनश्याम रिजालले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।
एमालेले भने चारवटै पदमा उम्मेदवारी दिएको छ । एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ, वराज विक, अपांगता/अल्पसंख्यकतर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
राप्रपाबाट दलिततर्फ पूर्णबहादुर विश्वकर्मा, महिलातर्फ बालकुमारी डल्लाकोटी, अपांगता/अल्पसंख्यकतर्फ भरतमणि भट्ट र अन्यतर्फ हेमजंग गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । बागमतीमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ । महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपांगता÷अल्पसंख्यकतर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवारी दिनुभएको हो । बागमतीमा ३४७ जना मतदाता छन् ।
गण्डकीमा आठ जनाको उम्मेदवारी
गण्डकी प्रदेशमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । एमालेबाट महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अपांगता÷अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचनाले उम्मदेवारी दर्ता गराउनुभएको हो । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यतर्फ कास्कीका रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको हो । सत्ता गठबन्धन दल नेपाली कांग्रेसबाट अन्ततर्फ गोरखाका किरणबाबु श्रेष्ठ र अपांगता÷अल्पसंख्यकबाट तनहुँका पदम परियारले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, माओवादी केन्द्रबाट महिलातर्फ पर्वतकी मनरुपा शर्मा सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको छ । गण्डकीमा तीन सिटका लागि निर्वाचन हुँदैछ ।
लुम्बिनीबाट सात जनाको उम्मेदवारी
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको दुई सिटका लागि सात जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार तीनजना महिला र अन्यमा चार जनासहित सात जनाको उम्मेदवारी परेको हो । महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, अर्को एक सिटका लागि जनमत पार्टीका बालगोविन्द चौधरी, एमालेका झपेन्द्रबहादुर जिसी, राप्रपाका निरन्जन थापा र माओवादीका झक्कुप्रसाद सुवेदीको उम्मेदवारी दर्ता भएको छ ।
कर्णालीमा ६ जनाको उम्मेदवारी
कर्णालीमा सत्ता गठबन्धन र एमालेले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धन दलबाट अन्यमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल, दलित कोटामा माओवादीका विष्णु विकले उम्मेदवार मनोनयन गराउनुभएको हो । यस्तै, एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुदूरपश्चिममा ६ उम्मेदवारी दर्ता
सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा गठबन्धन र एमालेका उम्मेदवारको उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट कांग्रेसले अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपांग तथा अल्पसंख्यक कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेणु चन्दले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेबाट अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपांग तथा अल्पसंख्यक कैलालीकै रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराउनुभयो ।
राष्ट्रका चुनौती सामना गर्न पार्टीले टिकट दियो : सिटौला
कोशी प्रदेशबाट उम्मेदवार बन्नुभएका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताउनुभएको छ । त्यही जिम्मेवारी पूरा गर्न आफूलाई पार्टीले राष्ट्रिय सभाको टिकट दिएको सिटौलाले बताउनुभयो । सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकाहरूसँग कुरा गर्दै सिटौलाले भन्नुभयो, ‘राष्ट्रिय सभामा पुगेपछि राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्न र जनताको हितमा काम गर्न साझा दृष्टिकोणका साथ पार्लियामेन्ट अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो । मलाई मेरो पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर नै उम्मेदवार बनाएको हो ।’
आफू राष्ट्रियसभा सदस्यमा निर्वाचित भएमा राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्न सबै दलहरुको समझदारी निर्माण गर्न पहल गर्ने उहाँले बताउनुभयो । ‘नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढंगले अगाडि जान आवश्यक छ । सबै दलहरुबीचमा संसदबाट समझदारी निर्माण गरेर नयाँ ढंगले मुलुकसामु उपस्थित चुनौतीको सामना गर्ने कुरामा नीतिगत रुपबाट संयुक्त भएर जानु आवश्यक देखेको छु,’ उहाँले भन्नुभयो ।
चार दलको सिण्डिकेटले जनतामा निराशा छायो : राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुकमा चार राजनीतिक दलको सिण्डिकेटका कारण जनतामा निराशा छाएको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले चार दलले राज्यको हरेक अंगमा कब्जा गरेको टिप्पणी गर्नुभयो । दलहरूको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि ? भन्ने नैराश्यपूर्ण धारणा विकास भएको उहाँको भनाइ थियो । ‘वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अव्यवस्थाबाट जनता आजित भइसकेका छन् । यस्तो अवस्थामा जनताले सडकबाट परिवर्तन खोज्नु स्वाभाविक हो’, राउतको जिकिर थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच