अस्ट्रेलियाली राजदुत फेलिसिटी भोकद्वारा ‘फायर एण्ड रेन’ विमोचन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । ‘प्रतिक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषाङ्क ‘फायर एण्ड रेन’ (आगो र वर्षा) को विमोचन भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच नेपालका लागि अस्ट्रेलियाली राजदुत फेलिसिटी भोक तथा साहित्यकार युयुत्सु आरडी शर्माले ‘प्रतिक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषाङ्क ‘फायर एण्ड रेन’ विमोचन गर्नुभएको हो । नेपालस्थित अस्ट्रेलियाली राजदुतावासमा आयोजित समारोहमा विमोचित विशेषाङ्कमा अस्ट्रेलियाली कवि लेखकका कविता, कथा र निवन्ध, चित्रहरूका साथै राजदुत भोकसँग सम्पादक शर्माले लिएको लामो अन्तर्वार्ता समावेश गरिएको छ ।

नेपालबाट प्रकाशन भइरहेको साहित्यिक अंग्रेजी पत्रिका ‘प्रतिक’, एशिया प्यासिफिक राइटर्स एण्ड ट्रान्सलेटर्स र रेड रुम पोयट्रीको सहकार्यमा प्रकाशित विशेषाङ्क हो । जसका सम्पादकमा साहित्यकार शर्मा, स्याली ब्रिन र जेनिफर म्याकेन्जी हुनुहुन्छ । विशेषाङ्कमा प्राकृतिक र शहरी विश्वको सम्बन्धबारे चिन्ता र अनिश्चितता तथा हिंसा र कोमलतासम्बन्धी विषय अभिव्यक्त छन् ।

राजदुत भोकका दुई उपन्यास ‘लाइटनिङ’ (चट्या-ङ) र ‘डिजायर लाइन्स’ शिर्षकमा प्रकाशन पनि भइसकेका छन् । सो अवसरमा राजदुत तथा साहित्यकार भोकले जहाँ बसेका भएपनि मानिसको अनुभव विश्वव्यापी हुने बताउँदै ‘प्रतिक’ को अस्ट्रेलिया विशेषाङ्क नेपाल र विश्वभरका लागि अस्ट्रेलियाली लेखकहरूलाई बुझ्ने पाउने एक उपहार हुने विश्वास व्यक्त गर्नुभयो । युद्ध र जलवायु परिवर्तनको यस समयमा मानवता नै आवश्यक हुने उहाँले बताउनु भयो ।

कार्यक्रममा साहित्यकार तथा ‘प्रतिक’ को विशेषाङ्कका सम्पादक शर्माले राजदुत भोक वास्तविक रूपमा भाषा, साहित्य र संस्कृतिको पनि वास्तविक राजदुत भएको विचार राख्दै उहाँकै सहयोगमा आदिवासी जनता, जलवायु परिवर्तन, पुर्खाका स्मृति प्रश्तुत विशेषाङ्क प्रकाशन गर्न सकिएको बताउनु भयो । उहाँले यस विशेषाङ्कमा अस्ट्रेलियाका ३० जना लेखकहरुका कविता,कथा, निवन्धहरु समावेश रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसमा अस्ट्रेलियाका ३० जना जति लेखकहरुको लेख प्रकाशन गरिएको छ । अहिलेको जलवायु परिवर्तनका असरहरुबारे जुन आक्रमण भइरहेको छ, त्यसका लेख, उपन्यास र कथाहरु छन् । यसमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सुदृढीकरण गर्नेकुरा रहेको छ । अस्ट्रेलियाको अहिलेको अवस्थाबारे लेखिएको छ । विश्व क्राइसिस र भायोलेन्स स्टोरीहरु छन् । स्थानीयहरुलाई हेपेको स्मृतिमा लेखिएको छ । वन अतिक्रमणका बारेमा लेखिएको छ ।’

साहित्यकार शर्माले विशेषाङ्कमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सुदृढीकरणका साथै विश्व क्राइसिस र भायोलेन्स स्टोरीहरु समावेश रहेको बताउनु भयो । पुस्तकमा जलवायु परिवर्तनले पारेका असर र वन अतिक्रमणको बारेमा लेखिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?