काठमाडौं । मेलम्चीको पानी सोमबारदेखि पुनः काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको छ । मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण सात महिनाअघि बन्द मेलम्चीको पानी सोमबारदेखि पुनः वितरण सुरु गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी पुनर्वितरणको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्रले आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने बताउनुभयो । हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको उहाँले जानकारी गराउनुभयो ।
आयोजनाको मुहान स्थलबाट पुस २५ गते नै हेडवक्र्समा पानी पथान्तरण गरिएको थियो । २८ दिनभित्र काठमाडौं उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबीच पुस ३ गते राति समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ साल चैतमा पहिलोपटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिए पनि बाढीपहिरोका कारण पटक-पटक बन्द हुँदै आएको छ । अहिले पनि अस्थायी रूपमा नै मेलम्चीको पानी वितरण गर्न थालिएको हो ।
उद्घाटनमाथि महाउद्घाटन
मेलम्ची खानेपानीको सोमबारसँगै आठपटक उद्घाटन भएको छ । पटक-पटक पानी पथान्तरणको शुभारम्भ गरिए पनि राजधानी भने काकाकुल नै छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समेतले शुभारम्भ गर्नुभएको मेलम्चीको खानेपानी सिजनल रूपमा आउने गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमै पुगेर उद्घाटन गर्नुभएको थियो । २०७७ फागुनमा उहाँले बटन थिचेर प्रशोधन केन्द्रमा पानी हाल्ने कामको उद्घाटन गर्नुभएको थियो ।
त्यसको एक महिनापछि तत्कालीन राष्ट्रपति भण्डारीले पनि उद्घाटन गर्नुभएको थियो । भृकुटीमण्डपमा ढुंगेधारा निर्माण नै गरेर उहाँले उद्घाटन गर्नुभएको थियो । २०७७ चैतमा ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरणको उद्घाटन भएको थियो । जसलाई औपचारिक उद्घाटनको नाम दिइयो ।
पहिलोपटक मेलम्चीको पानी पथान्तरण २०७७ असार २१ मा तत्कालीन प्रजिअ उमेश ढकालबाट भएको थियो । तर, काठमाडौंमा पानी भने आउन पाएन । गेट भत्किएर दुई जनाको निधन भयो । त्यसपछि २०७७ फागुन १० गते तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको हेडवक्र्स अम्बाथान पुगेर दोस्रोपटक पानी पथान्तरण गर्नुभएको थियो ।
२०७८ चैत २९ गते तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको हेडवक्र्स पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको उद्घाटन गर्नुभएको थियो । निर्वाचन आचारसंहिताका कारण सो उद्घाटनका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भने जान पाउनुभएको थिएन ।
२०७९ वैशाख ११ गते चौधरीले नै उपत्यका खानेपानी लिमिटेडको मीनभवनमा रहेको पानी ट्याङ्कीमा पुगेर आयोजनाको पुनः वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले २०७९ मंसिर २३ गते चौधरीले वितरणको शुभारम्भ गर्नुभएको थियो ।
मेयर बालेनको व्यंग्य : ‘एउटै मन कतिपल्ट जित्नुहुन्छ’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मेलम्ची खानेपानी परियोजनाको बारम्बार उद्घाटन गरेर नेताहरूले विश्व कीर्तिमान कायम गरेको भन्दै व्यंग्य गर्नुभएको छ । राज्यको अर्बौं रुपैयाँको लगानीमा वर्षौंपछि पनि मेलम्ची पूर्ण र सुरक्षित रूपमा तयार नभए पनि प्रधानमन्त्री प्रचण्डले फेरि उद्घाटन गरेपछि बालेनले यस्तो व्यंग्य गर्नुभएको हो । ‘हामीसँग भएको एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार’, बालेनले सामाजिक सञ्जलामा लेख्नुभएको छ, ‘एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।’
‘विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उद्घाटन पाँचपटक भइसक्यो । मेलम्चीको पानी काठमाडौं ल्याउने भनेर वि.स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसको दुई वर्षपछि २०५७ सालमा आयोजनाको विस्तृत इञ्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो’, बालेनले भन्नुभएको छ, ‘तर सुरुङ खन्न सुरु गर्न पनि ११ वर्ष लगाएर २०६८ सालबाट मात्रै सुरुङ खन्न थालियो । त्यो ११ वर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरू नै फेरिएका थिए । मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तिको सूची त झन् निकै लामो बन्ला । मेलम्चीका नाममा अर्बौंका गाडी किनिएका थिए । एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना । तर, काठमाडौंमा पहिलोपटक पानी झर्न त्यसको नौ वर्षपछि मात्रै सम्भव भयो ।’
बाढीले संरचना ध्वस्त पारे पनि प्राविधिक जोखिमतिर ख्याल नै नगरी कीर्तिमानको पछि लाग्नु नागरिकको अवमूल्यन भएको उहाँको भनाइ छ । ‘कीर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो । त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौं लगानी मात्र जोखिमपूर्ण बनाइएन, काठमाडौंवासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो’ उहाँले भन्नुभएको छ, ‘देशव्यापी रूपमा नेपालमा केही हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढावा दिन मलजल ग¥यो । अनि सँगसँगै, व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौं झारेर उद्घाटन गर्ने कुप्रथाको सुरुवात भयो । त्यसकै सिलसिलाको नयाँ संस्करणको उद्घाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो ।’
अझै पनि खानेपानीको मुहानमा पहिरोको जोखिम रहेको भन्दै उहाँले लेदो र बालुवाले मुहान भरिने र अर्बौं रुपैयाँ लाग्न सक्नेतर्फ ख्याल नगरिएको बताउनुभएको छ । ‘अहिले पनि प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरुङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदै छ । बालुवा थेग्रिने संरचनाहरूको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौं समय र अर्बौंको लागत लाग्न सक्छ’ मेयर बालेनले भन्नुभएको छ, ‘वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरू निर्माण भइसकेका नै छैनन् । यसैले वर्षायाम लाग्नेबित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नुपर्ने अवस्था छ । हिउँदमै पनि लेदो नथिग्राई पानी सुरुङमा लैजाँदा त्यसमा भएका बालुवा सुरुङमा विस्तारै थिग्रिएर केही समयपछि सुरुङ पूरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच