काठमाडौं । भनिन्छ ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।’ नेपाल र नेपाली समाजको कालजयी उखान हो यो, जसले नेपाल र नेपाली समाजका सबै क्षेत्रको प्रतिनिधित्व गर्छ । खासगरी नेपालको प्राकृतिक स्रोत साधन उपयोगका सन्दर्भमा विज्ञहरूले यस उखानलाई बढी उद्धृत गर्ने गरेको पाइन्छ । सन्दर्भ हो, हाम्रै गाउँबस्तीमा पाइने बाँसको । खाना, नाना र छाना तीनवटैमा प्रयोग आउन सक्ने बहुउपयोगी बाँस श्रीखण्डभन्दा पनि अब्बल छ तर नेपालमा भने खुर्पाकै बिँडमा सीमित रहँदै आएको छ । संकटसमेतको सारथि बाँसले आयात प्रतिस्थापनका साथै निर्यात व्यापारमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
सोही कारण कतिपय मुलुकले बाँसलाई औद्योगीकरण अर्थतन्त्रको दिगो र भरपर्दो आधार मान्दै बाँस मिसन नै सञ्चालन गरेका छन् । नेपालमा भने बाँस उपेक्षित, अपहेलित छ । नेपालमा बेत बाँसको विकास, विस्तार र व्यावसायीकरणका लागि बेत बाँस नीतिको तयारी सुरु भएको डेढ दशक बितिसक्दा पनि नीति आउन सकेकोे छैन । नेपालमा भारत र चीनमा पाइनेभन्दा पनि गुणस्तरीय बाँसका प्रजाति छन् । तर, बाँसको व्यावसायीकरण, औद्योगीकरण र विविधीकरण हुन नसक्दा बाँसको परम्परागत उत्पादनसमेत हराउँदै गएको अवस्था छ ।
बाँसको चोयाबाट बनाइएका डोका, डाला, थुन्से, भकारी, मान्द्रो, चित्रा, नाङ्ला, चाल्नालगायतका सामग्रीलाई आयातित प्लाष्टिकजन्य सामग्रीले विस्थापित गर्दैछ । कुचोलाई समेत प्लाष्टिकको कुचोले विस्थापित गर्दैछ । पर्यावरणीय र व्यावसायिकरूपमा पनि बाँस तुलनात्मक लाभको वस्तुमा पर्छ । बाँस प्राकृतिकरूपमै हुर्किने भएकाले अन्य खाद्यान्न बाली जस्तो सिँचाइ, मल र स्याहार आवश्यक पर्दैन तर आम्दानी भने खाद्यान्न बालीभन्दा बढी लिन सकिन्छ । बाँदरलगायतका जंगली जनावरले पनि क्षति नगर्ने बाँसखेती र बाँसजन्य उद्योगको नेपालमा राम्रो सम्भावना रहेको अभियन्ताहरू बताउँछन् ।
वन विभागका पूर्वमहानिर्देशक तथा बाँसविज्ञ डा. अन्नपूर्ण दासका अनुसार अन्य रुखको तुलनामा बाँस छिटो बढ्नुका साथै अक्सिजन पनि बढी दिन्छ । बायो इञ्जिनियरिङका लागि पनि बाँसखेती अब्बल मानिन्छ । बाँस अन्य काठभन्दा बहुउपयोगी छ, जसबाट विभिन्न निर्माण सामग्रीदेखि फ्लोरिङ फर्निसिङ, कपडा, कागज जे पनि उत्पादन गर्न सकिन्छ । बाँसको तामा उत्पादन गरेर विश्व बजारमा निर्यात गर्न सकिन्छ । विश्वभर रहेका नेपालीहरू नै नेपाली तामाको ठूलो बजार हुन सक्छ । किनभने नेपालीहरू अमिलो तामाका पारखी नै हुन् । बाँस छिटो बढ्ने भएकाले छिटो उत्पादन लिन सकिन्छ । तीन वर्ष पुरानो बाँसमात्रै औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोगमा आउने भएकाले बाँसखेती दिगो र पर्यावरणमैत्री हुन्छ । रुखको जरा तल जान्छ तर बाँसको जरा फैलिन्छ ।
धरान–धनकुटा सडक किनारामा दासकै सक्रियतामा बाँस रोपिएको थियो । तत्कालीन समयमा धरान-धनकुटा सडक छेउमा बस्ती नै थिएन । तर, अहिले बस्ती भरिएको छ । ट्रिटमेन्ट गरेको बाँस ३०-४० वर्षसम्म केही नहुने भएकाले बाँस वैकल्पिक निर्माण सामग्रीका रूपमा समेत प्रयोग हुने गरेको छ । भारतमा त ट्रिटमेन्ट गरिएको बाँसबाट छाना पनि बनाउने गरेको छ । अर्का बाँसविज्ञ हस्तबहादुर थापाका अनुसार नेपालमा ५० भन्दा बढी प्रजातिका बाँस पाइन्छन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले इन्टरनेशनल बेम्बो एण्ड ¥याटन अर्गनाइजेसन(इनबार)लगायतको सहयोेगमा नेपालमा बाँसको अवस्था र सम्भाव्यताबारे अध्ययन गरेको थियो भने पछिल्लोपटक फ्युचर रिसर्च डिजाइन कम्पनी(एफआरडिसी)ले पनि नेपालमा बाँसको अवस्था र सम्भाव्यताको अध्ययन गरिरहेको छ ।
मोसो बांँसः चीनले अर्बौंको तामा निर्यात गर्छ
बाँस तथा बाँसजन्य उत्पादनमा चीन विश्वमै अग्रणी मानिन्छ । उसले मोसो प्रजातिको बाँसबाट फड्को मारेको हो । पछिल्लो समय नेपालमा पनि मोसोको खेती सुरु भएको छ । बाँसविज्ञ डा. दास र हस्तबहादुर थापाको पहलमा चीनबाट नेपालमा मोसो बास भित्र्याएर परीक्षण उत्पादन सुरु गरिएको थियो । नेपालमा विभिन्न सामुदायिक वनमा मोसो रोपिएकोमा काभ्रेपलाञ्चोकको धनेश्वर सामुदायिक वनमा भने फस्टाएको छ । जसका लागि निकै संघर्ष गर्नुपरेको उक्त सामुदायिक वनका अध्यक्ष बद्री अधिकारी बताउनुहुन्छ । समुद्री सतहबाट एक हजारदेखि दुर्ई हजार मिटर उचाइसम्म यसको खेती गर्न सकिने भए पनि १५ सयदेखि १८ सय मिटर उचाइ र उत्तरी सेपिलो क्षेत्रमा राम्रो फस्टाउन सक्ने उहाँको भनाइ छ ।
अधिकारीका अनुसार मोसो बाँस बहुउपयोयी छ, टुसा पनि असाध्यै मिठो हुन्छ । छिमेकी चीनले ‘बेम्बो सट’ ब्राण्डमा टिनमा प्याकिङ गरेर विश्वभरि नै टुसा बिक्री गर्दै आएको छ । मोसो बाँस नेपालमा पाइने अन्य बाँसजस्तो एकै ठाउँमा झाँगिँदैन, रुखजस्तै फैलिँदै जान्छ । बाँस रोपेको केही वर्षमै माटोमा चिस्यान कायम भई पानीको सञ्चिती बढाउँछ । ७५ फिट अग्लो र सिधा आकारमा बढ्ने भएकाले चीनका दुर्गम गाउँमा मोसो बाँस विद्युत्को पोलका रूपमा पनि प्रयोग हुने गरेको छ । भित्र प्वाल भएको कडा बाँस भएकाले किराले खाँदैन । नेपालका मध्य पहाडी क्षेत्रमा विस्तार गर्न सके नेपालको धन हरियो सुन बनाउन सकिने उहाँ बताउनुहुन्छ । धनेश्वर सामुदायिक वनले मोसो बाँसको नर्सरी पनि सञ्चालन गरेको छ । नेपालमा २०६४ सालदेखि मोसो बाँसको प्रवद्र्धन थालिएको हो । धनेश्वर सामुदायिक वनको चरीचरणको खुला क्षेत्रमा तारबार घेरेर आधा हेक्टरमा मोसो बाँसको बिरुवा रोपिएको थियो । हुर्कन एक दशकभन्दा बढी समय लागे पनि अहिले राम्रो हुँदै गएको अधिकारी बताउनुहुन्छ ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले मार्केट डेभलपमेन्ट अफ बेम्बो एण्ड र्याटन बिथ पोटेन्सियल प्रोजेक्टअन्तर्गत मोसो बाँस प्रवद्र्धन सुरु गरेको थियो । बाँसविज्ञ थापाका अनुसार मोसोको अर्को विशेषता भनेको एक वर्षमै दुईपटक टुसा पलाउँछ ।
बाँझो जमिन सदुपयोगको उपयुक्त विकल्प
खेतीयोग्य बाँझो जग्गा उपयोग गर्नेसम्बन्धी कार्यविधि २०७२ अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टरमध्ये ३० लाख ९१ हजार हेक्टरमा मात्र खेती हुन्छ । अर्थात् १० लाख ४० हेक्टर जमिन अझै बाँझो छ । त्यसबाहेक खोला, नदीनाला, सडक किरानाका साथै भिरपाखामा समेत बाँसखेती गर्न सकिन्छ । त्यस्तै सरकारी तथा सामुदायिक वनका साथै चुरे क्षेत्रको संरक्षण गर्न पनि बाँसखेती वरदान साबित हुन सक्ने अभियन्ताहरू बताउँछन् । त्यसो त नेपालमा परम्परागतरूपमा बाँसको खेती हुँदै आएको छ । किनभने बाँसको धार्मिक र सांस्कृतिक महत्व पनि छ । जन्मदेखि मृत्यु संस्कारसम्म नभइनहुने भएकाले पनि बाँस संरक्षित अवस्थामा रहन सकेको हो । धार्मिक तथा सांस्कृतिक कारणमात्र नभई खोल्सातिर पहिरो रोक्न र बार बार्ने उद्देश्यले बाँस रोप्ने गरिँँदै आएको हो । नेपालमा रैथाने बाँसका प्रजातिमा तामा, धनु, कट, तरु, मुरली, भालु, तास, ढुंग्रे, कोभी, मालिंगोलगायत हुन् ।
हालैमात्र नेपाल भ्रमणमा आउनुभएका विश्व खाद्य तथा कृषि संगठन प्रमुख क्यु दोङ युले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका लागि नेपालमा बाँसखेतीको सम्भावना धेरै रहेको भन्दै राष्ट्रिय कार्यक्रम नै बनाएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको थियो । गरिबीको रेखामुनिको जनसंख्याको जीवनस्तर उकास्न, जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँसखेती विकल्प हुन सक्ने भन्दै उहाँले बाँझो जमिनमा उपयोग गर्न सुझाव दिनुभएको थियो ।
नैतिक दबाबमा नेपाल
नेपाल सरकारले बाँसलाई उपेक्षा गर्दै आए पनि पछिल्लो समय नेपाल नैतिक दबाबमा छ । किनभने नेपालले हाल इन्टरनेशनल बेम्बो एण्ड रटान अर्गनाइजेसन(इनबार)को अध्यक्षता गरिरहेको छ । प्रतिष्ठाकै लागि पनि बाँससँग सम्बन्धी नीति तथा पूर्वाधारमा जोड दिनुपर्ने नेपालको बाध्यता छ । सोही कारण पनि वन तथा वातावरण मन्त्रालय बाँस नीतिको तयारीमा रहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रवक्ता विमलकुमार आचार्य बताउनुहुन्छ । केन्द्रले नीतिको मस्यौदासँगै बाँसको १० वर्षे कार्ययोजनासमेत मन्त्रालयमा पेश गरेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता ढकालले भन्नुभयो, ‘बाँस नीति अन्तिम चरणमा छ, यसलाई मन्त्रालयले पनि प्राथमिकता राखेकाले अब विगत जस्तो हुँदैन । बाँस बहुउपयोगी छ, बाँसजन्य सामानको विविधीकरण गर्न सक्यो भने यो प्लाष्टिककै विकल्प बन्न सक्छ ।’
त्यसो त चिनियाँ लगानीमा नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता नै भएको थियो । तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको चीन भ्रमणका क्रममा सोसम्बन्धी सम्झौता भएको हो । तर, हालसम्म नेपालमा बाँसजन्य ठूला उद्योग आएका छैनन् । उद्योग स्थापनाका पहल र प्रयास भने नभएका होइनन् । विगतमा केही उद्योग सञ्चालनमा आएका थिए, कतिपयले राम्रै मुनाफा कमाएका पनि थिए । व्यवस्थापकीय कमजोरीका कारण दिगो हुन सकेनन् ।
बाँसजन्य उद्योगले धेरै वस्तु आयात प्रतिस्थापन गर्न सक्छ : डा. अन्नपूर्ण दास, बाँसविज्ञ
नेपालमा बाँसको अवस्था के छ ?
अहिलेसम्म बाँसले ढाकेको क्षेत्रफलको यकिन तथ्यांक छैन । धेरैजसो बाँस निजी जमिनमा रहेको पाइएको छ । नेपालको पूर्वी क्षेत्रमा भने जंगल र सार्वजनिकस्थलमा पनि बाँसखेती विस्तार भएको छ ।
चीनले खर्बौंका बाँसजन्य वस्तु निर्यात गर्छ, नेपालमा चाहिँ सम्भावना छैन ?
चीनमै जस्तो नेपालमा धेरै बाँसखेती त छैन । तर, नेपालमा पनि यसको ठूलो सम्भावना छ । नेपालको अन्य क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा बाँस बढी छ । त्यही भएर विगतमा पूर्वमा एउटा कम्पनी आउन पनि खोजेको थियो । म त्यतिबेला वन विभागमा थिएँ । इटहरीको नजिकै बकलौरीमा बाँस कम्पनी खोल्ने भनेर आवश्यक तयारी सुरु भएको थियो । तर, माओवादी द्वन्द्वकाल थियो, कम्पनी खोल्ने थाहा पाएपछि उनीहरूबाट ठूलो रकमको डिमाण्ड हुन थाल्यो भन्ने सुनियो, काम अघि बढाएनन् ।
हिमालयन बेम्बो थियो नि ?
कुशकुमार र अजय मुडभरीले हेटौंडामा उद्योग सुरु गरेका रहेछन् । हटौंडामा त बाँस पाइँदैन, अन्यत्रबाट ल्याएर उद्योग प्रतिस्पर्धी बन्न सक्दैन, चिनियाँँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । उनीहरू उद्योग स्थापनापछि मेरो सम्पर्कमा आएका थिए, मैले त्यही कुरा भनेँ । यदि हेटौंडामै राख्ने भए पनि त्यसका लागि १० वर्षअघिदेखि त्यससम्बन्धी आवश्यक पूर्वाधारको तयारीमा लाग्नुपथ्र्यो । तर, त्यो पनि चल्न सकेन । पछि मुरारका ग्रुप पनि आउन खोजेको थियो । पशुपति मुरारका, अशोक मुरारकाहरू, उनीहरू बाँस उद्योग स्थापनाकै लागि भनेर चीनतिर घुमेर पनि आए । बाँस सम्मेलन इण्डियामा भएको थियो, त्यहाँ पनि गए । उनीहरूले पछि मलाई पनि नोकरी छाडेर आफ्नोमा आउन आग्रह गरेका थिए तर म सचिवको लाइनमा थिएँ, नोकरी छाड्न सक्ने अवस्था थिएन ।
त्यसपछि अरू कम्पनी आएनन् ?
विगतमा बुटवलमा पनि बाँसको मान्द्रो बनाउने उद्योग सञ्चालनमा आएको थियो । मान्द्रोलाई प्रेस गरेर बोर्ड बनाउने । उनीहरू पनि उद्योग स्थापनापछि मेरो सम्पर्कमा आएका थिए तर त्यो उद्योग पनि सही लोकेसनमा थिएन, बाँस कहाँबाट ल्याउने ? उद्योग त राम्रो हो, नेपालमा बाँसको मान्द्रो ठूलो माग छ । धेरै माग भएकाले उनीहरूले भारतको आसामबाट समेत बाँसको मान्द्रो ल्याउँथे । धेरै फाइदा हुन थालेपछि लगानीकर्ताबीच पनि झगडा भयो, मुद्दासुद्दा चल्दै थियो । पछि के भयो ? कमसेकम मान्द्रो नै भए पनि यहीँ बनेको थियो ।
त्यसपछि पनि चिनियाँहरूले प्रस्तावित योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (ओबिआर)अन्तर्गत नेपालमा बाँसको पाइप उद्योग खोल्न खोजेका थिए । त्यस्तो पाइप निर्यात गर्ने गरी नेपालीसँगै मिलेर उद्योग सञ्चालन गर्ने उनीहरूको तयारी थियो । तर, यहाँको नीतिगत, प्रक्रियागत अन्य झमेला देखेपछि उनीहरू फर्किएर गए भन्ने सुनेको थिएँ ।
तत्काल कतिवटा उद्योग सञ्चालन गर्न सकिन्छ ?
अहिलेलाई पूर्वी क्षेत्रमा एउटा उद्योग सञ्चालन गर्न सकिन्छ, त्यहाँ एउटा ठूलै उद्योग सञ्चालन गर्न सकिन्छ । स-साना घरेलुस्तरका उद्योग त धेरै सञ्चालन गर्न सकिन्छ । त्यस्ता साना उद्योग अहिले पनि ठाउँ-ठाउँमा सञ्चालन भइरहेका छन् । बाँसका हस्तकला, फर्निचर उद्योग पनि सञ्चालन भइरहेका छन् । चीनमा बाँसकै जंगल छ, त्यो पनि लाखौं हेक्टरमा । हाम्रो वनजंगल जस्तो चीनमा बाँसको जंगल हुन्छ । चेन्दु नजिकको जंगल सबै बाँसको हो ।
बाँसमा चीन सबैभन्दा अगाडि हो ?
पहिलो चीन नै हो । त्यसपछि इण्डिया, ताइवान, थाइल्याण्ड, इण्डोनेसियालगायत रहेका छन् । इण्डिया पहिले हामी जस्तै थियो तर अहिले धेरै अगाडि आइसक्यो ।
चीनले मोसो बाँसबाट फड्को मारेको भनिन्छ, नेपालमा पनि मोसो भित्रिएको छ ? अहिले कस्तो छ ?
पछिल्लो समय नेपालमा पनि मोसो बाँस विस्तार हुँदैछ । हामीले चाइनाबाट बिउ ल्याएर काभे्रको धनेश्वर, ललितपुरको लामाटार सामुदायिक वनमा मोसो रोपेका थियौँ । अन्यत्र पनि धेरै ठाउँमा रोपिएको हो । काभ्रेमा त अहिले धेरै विस्तार भइसकेको छ ।
चीनले त तामामात्रै खर्बौंको निर्यात गर्छ भन्छन् नि ?
हो, चीनले बाँसजन्य अन्य सामग्रीका साथै तामा पनि खर्बौंको निर्यात गर्छ । तर, उसले हाम्रो जस्तो अमिलो तामा होइन, फ्रेस तामा उत्पादन गरी निर्यात गर्छ । त्यहाँ हाम्रो जस्तो तामा बाँस पनि हुन्छ तर धेरैजसो तामाका लागि बाँस नै प्रयोग गर्छ ।
डेढ दशकअघि नै बाँस नीतिको तयारी चलेको थियो तर अहिलेसम्म आएन नि ?
नीतिमात्रै बनाएर त केही हुँदैन । नेपालमा त्यस्ता नीति, ऐन, कानुनहरू धेरै छन् । कार्यान्वयन नहुने नीतिको काम छैन । यसमा राज्यकै कमिटमेन्ट हुनुपर्यो, पोलिटिकल लेवलमै कमिटमेन्ट हुनुपर्यो । नेताहरूमा देशका लागि केही गर्छु भन्ने भावना हुनुप¥यो । बाँस अभियान नै चलाउनुपर्यो । इण्डियामा बेम्बो मिसन नै छ, चाइनामा त्यस्तै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच