प्रधानमन्त्री कप  : नेपाल पुलिसद्वारा कोशी प्रदेश पराजित, सुदूरपश्चिमको दोस्रो जित

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौँ  । नेपाल पुलिस क्लवले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा वागमती प्रदेशले तेस्रो खेलमा पहिलो सफलता आत्मसात गरेको छ ।

पुलिसले मंगलवार कीर्तिपुरमा कोशी प्रदेशलाई सात विकेटले हराउँदा सूर्य तामाङको ह्याट्रिकसहित ६ विकेटको उत्कृष्ट बलिङ प्रेरणामा वागमतीले मधेस प्रदशमाथि ८६ रनको जित निकाल्यो । सुजन थपलियाको शतकका बाबजुद कोसीले सहजै पुलिसलाई सुम्पिँदै तेस्रो हार सामना ग¥यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा निकै खराब ब्याटिङ गरेको कोशी ४८.२ ओभरमा एक सय ६६ रनमै अलआउट भयो । जबाफी ब्याटिङ गरेको पुलिसले सामान्य लक्ष्य २३.१ ओभरमै मात्र तीन विकेट गुमाएर पूरा ग¥यो ।

ओपनरद्वय सुनिल धमला १६ रन र कुशल भुर्तेल १२ रनमा आउट भएपछि पुलिसको शुरुवात राम्रो भएन । तर कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन र अर्जुन साउदले ६२ रनको अविजित इनिङ खेल्दै १६१ बल अगावै पुलिसको जित सुरक्षित गराए । यी दुईले ७३ रनको अविजित साझेदारी गरे । दीपेन्द्रले १७ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अर्जुनको इनिङमा पाँच चौका र दुई छक्का रह्यो । त्यसअघि दिलिप नाथले ३१ बलमा दुई चौका र एक छक्कासहित ३१ रनको योगदान दिए ।

कोशीका कमल खत्रीले दुई तथा सोनी मण्डलले एक विकेट लिएपनि पुलिसलाई कुनै चुनौति भएन । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोसीले सुजनको १०५ रनको शतकीय इनिङका बाबजुद ४८.२ ओभरमा अलआउट हुनुअघि एक सय ६६ रन मात्र जोड्न सक्यो । सुजनले १२६ बलमा आठ छक्का र ६ चौका प्रहार गरे । अन्य ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा कोसी सस्तैमा समेटियो । अभ्यास तिमिल्सिनाले २३ रन र कप्तान अंकित सुवेदी १० रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

सुजनले आठौं विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गर्दै कोशीलाई सम्मानजनक योगफलतर्पm अग्रसर गराए । पुलिसको बलिङमा करण केसीले ९.२ ओभरमा तीन विकेट लिँदा २८ रन खर्चिए । उनी म्यान अफ दी म्याचसमेत भए । ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई तथा रासिद खान, सागर ढकाल र कुशलले समान एक विकेट लिए । पुलिसले दोस्रो खेलमा शतप्रतिसत जित कायम राख्दा कोसीले भने तेस्रो हार सामना ग¥यो ।

मूलपानी क्रिकेट मैदानमा सूर्य तामाङको ह्याट्रिकप्रेरित वागमतीले मधेस प्रदेशलाई ८६ रनले हराउँदै तीन खेलबाट पहिलो दुई अंक जोड्यो । लगातार दोस्रो हार व्यहोरेको मधेसको पनि तीन खेलबाट दुई अंक नै छ । वागमतीले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको मधेश १९ ओभरमा १ सय ४ रनमै समेटियो । मधेसका पवन सर्राफले ४५, मायन यदावले ३१ र नीरज यादवले १५ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । २९ औं ओभरमा सूर्यको सनसनीपूर्ण बलिङसामु मधेसका ब्याटर निरिह बन्यो । यो ओभरमा सूर्यले ह्याट्रिकसहित चार विकेट लिए ।

पहिलो तीन बलमा क्रमशः रूपेश सिंहलाई २ रन, राजेश यादव र सांसद अन्सरीलाई शुन्यमा पवेलियन फर्काउँदै सूर्यले ह्याट्रिक पूरा गरे । उनले अन्तिम बलमा रञ्जित कुमारलाई पनि आउट गर्दै यो ओभरको चौथो सफलता पाए । कुल ९ ओभरमा सूर्यले तीन मेडनसहित ६ विकेट लिँदा १८ रन मात्र खर्चिए । प्रतिश जिसी र इशान पाण्डेको नाममा समान दुई विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वागमतीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रनको सामान्य योगफल बनाएको थियो । तर ब्याटिङमा साथ नपाउँदा मधेस असफल भयो ।

खराब ब्याटिङ गरेको वागमतीका लागि प्रतिश जिसीले नवौं नम्बरमा ब्याटिङ गर्दै अर्धशतक बनाए । ३०.३ ओभरमा वागमती १०३÷७ को नाजुक अवस्थामा थियो । तर प्रतिशले ५९ रन जोड्दै टोलीको इनिङ उकासे । रविन जोशीले २१, इशान पाण्डेले १५, विपिन आचार्यले १३, कप्तान रित गौतमले १२ र रिजन ढकालले ११ रन बनाए । मधेसको बलिङमा रूपेश सिंह र अर्निको यादवले दुई तथा राजेश यादव, पवन सर्राफ, कप्तान हरिशंकर शाह र रञ्जित कुमारले समान एक विकेट लिए ।

भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा मंगलवार भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशमाथि एक सय ३४ रनको फराकिलो जित निकाल्यो । सुदूरले पनि दोस्रो खेलमा शतप्रतिशत जित कायम राखेको छ । सुदूरपश्चिमले दिएको दुई सय ७८ रनको बलियो लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा एक सय ४३ रनमा अलआउट भयो । कर्णालीका कुनैपनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् । दिवान पुनले ३८ रन, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमान्शु शाहीले १७ रन बनाए ।

सुदूरपश्चिमको बलिङमा शेर मल्लले १० ओभरमा ३५ रन खर्चिंदै चार विकेट लिए । विकास आग्रीले दुई, नरेन भट्ट, भोजराज भट्ट र नारायण जोशीले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ७७ रनको योगफल बनाएको थियो । तीन ब्याटरले अर्धशतक बनाउँदा सुदूपश्चिमले राम्रो योगफल खडा ग¥यो । खडक बोहराले ८० रन अर्धशतकीय इनिङ खेले । उनले ११४ बलमा ६ चौका प्रहार गरे ।

टेक रावतले ९१ बलमा सात चौकासहित ५९ रन र किरण ठगुन्नाले ३३ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन बनाए । ओपनरद्वय खडक र टेकले एक सय ३८ रनको साझेदारी गरे । नारायण जोशीले ३१, कप्तान राजु रिजालले १९ र नरेन भट्टले १५ रन जोडे । कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान एक विकेट लिए । कुल १० टोलीले प्रतिष्पर्धामा गरेको प्रतियोगिता राउण्ड रोविनको आधारमा भइरहेको छ । शिर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थान सम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?