दुई खर्बभन्दा बढीको शोधनान्तर बचतमा

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । पछिल्लो समय नेपालको समग्र आर्थिक सूचकांकमा सुधार आएको छ । चालु आर्थिक वर्षको ११ महिनामा शोधनान्तर स्थिति, रेमिट्यान्स आय र मुद्रास्फीतिलगायतका सूचकांकमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/०८० को जेठ महिनामा शोधनान्तर स्थिति दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर समीक्षा अवधिमा एक अर्ब ७४ करोडले बचतमा रहेको छ । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठमा १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०८० जेठमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ । समीक्षा अवधिमा चालु खाता ६९ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता पाँच खर्ब ९२ अर्ब १४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाखले घाटामा रहेको छ ।

चालु आर्थिक वर्षको जेठमा शोधनान्तर स्थिति दुर्ई खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा थियो ।

११ महिनामा ११ खर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.० प्रतिशतले वृद्धि भई आठ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई चार लाख ५९ हजार चार सय १५ पुगेको छ भने वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले वृद्धि भई दुई लाख ६० हजार दुई सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

१५ खर्बको आयात
चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई एक खर्ब ४३ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, तयारी पोशाकलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतको निर्यात घटेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई झण्डै १५ खर्ब अर्थात् १४ खर्ब ८० अर्ब ९८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेसनरी सामानलगायतको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्ट्स, एमएस बिलेट, औषधि, कच्चा भटमास तेल, अन्य मेसिनरी तथा पार्ट्सलगायतकोे आयात घटेको छ । ११ महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो ।

मूल्यवृद्धि ६.८३ प्रतिशत
२०८० जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३५.२९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तिजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.६० प्रतिशतले घटेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.१९, तराईमा ६.९३, पहाडमा ६.२८ र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ जेठ महिनामा यी क्षेत्रमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?