वन संरणकर्मी सम्मानित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । धादिङ नीलकण्ठ नगरपालिका वडा नं ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्‍याएबापत आफ्ना चारजना संरणकर्मीलाई सम्मान गरेको छ ।

समितिको साधारण भेलाका अवसरमा शनिबार नीलकण्ठ-५ स्थित महेन्द्रोदय कालिका माध्यामिक विद्यालयको परिसरमा आयोजित कार्यक्रममा सम्मानित हुनेमा रामहरि शर्मा नेपाल, बलराम ढुङ्गाना, दुर्गाप्रसाद रिमाल र मसिना पौडेल हुनुहुन्छ ।

सम्मानित व्यक्तित्व नेपालले तत्कालीन महेन्द्रोदय कालिका प्राथमिक विद्यालय स्थापनार्थ नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । साथै उहाँले सोही विद्यालयमा प्रधानाध्यपक भई लामो समय सेवा गर्नुभएको थियो । विद्यालयमा निम्नमाध्यमिक तथा माध्यमिक तहको पठनपाठन सुरुआत गराउन उहाँले नेतृत्वदायी भूमिकासमेत निर्वाह गर्नुभएको थियो ।

धादिङको समग्र शैक्षिक एवं प्राज्ञिक उन्नयका लागि लामो समय व्यतित गर्नुभएका समाजसेवी नेपाल पछिल्ला दिनमा जिल्लाको वन क्षेत्रको संरक्षणमा जुट्दै आउनुभएको छ । कार्यक्रममा नीलकण्ठ-५ का वडा सदस्य राजाराम ढुङ्गाना, डिभिजन वन कार्यालय धादिङका अधिकृत दीपक पुडासैनी तथा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशोर ढुङ्गानाले सम्मानित व्यक्तिलाई सम्मानपत्र अर्पण गर्नुभएको थियो ।

साविकको खाल्टे गाउँ विकास समितिका वडा नं ४ र हाल नीलकण्ठ-५ मा रहेको सो सामुदायिक वन समिति विसं २०५७ गठन भई वन संरक्षणमा सक्रिय हुँदै आएको छ । करिब एक सय ९५ हेक्टरमा फैलिएको सो वन जिल्लाकै उत्कृष्ट वनभित्र रहेको जनाइएको छ ।

सो अवसरमा नीलकण्ठ-५ का वडा सदस्य राजारामले स्थानीय विकास निर्माणमा आफूले राजनीति विचारभन्दा माथि उठेर सेवा प्रदान गर्दै आएको बताउनुभयो । वन समितिका अध्यक्ष किशोरले वन क्षेत्रका संरक्षणमा स्थानीय उपभोक्ता नै चनाखो बन्नुपर्छ भन्नुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?