काठमाडौं । कोशी प्रदेश प्रधानमन्त्री कप २०२४ मा २५ रनमै अल आउट भएको छ । गण्डकी प्रदेशसँग आइतबार पराजित हुने क्रममा छैटौँ खेलमा पनि हार बेहोरेको छ । जितका लागि १६८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले १५.२ ओभरमा अल आउट हुँदै २५ मात्र रन जोड्न सक्यो । कप्तान विपिन खत्रीको स्पिनविरुद्ध कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीले भने १४२ रनको जित हात पार्यो ।
खेलमा सोनु अन्सारी पहिलो बलमै विपिन खत्रीबाट बोल्ड हुनुभयो । दोस्रो ओभरको अन्तिम बलमा कप्तान अंकित सुवेदी ८ रन जोड्दै अंकित न्यौपानेको शिकार बन्नुभयो । सुजन थपलिया १५ बलमा २ रन जोड्दै विपिनकै बलमा क्याच आउट हुनुभयो । प्रतियोगितामा रन जोड्न संघर्ष गरिरहनुभएका मिनाश थापा ९ बलमा १ रन जोड्दै सन्दीप पराजुलीको बलमा बोल्ड आउट हुनुभयो । उहाँले पाँच खेलमा चार रन जोड्नुभयो । त्यसपछि फिर्दोस अन्सारी खाता नखोली आउट हुनुभयो ।
आइश भट्टराई ३ रन र समिर कार्की खाता नखोली विपिनकै एक ओभरमा आउट हुनुभयो । सोनु मण्डल १, कमल खत्री ५ र हेंत राई शून्यमा पेभेलियन फर्केपछि कोशी खेलमा टिक्न सकेन । विपिनले ६ विकेट लिँदा सन्दीप पराजुलीले ३ तथा अंकित न्यौपानेले १ विकेट लिनुभयो ।
त्यसअघि अभ्यास तिम्सिनाले ६ विकेट लिँदा टस जितेर फिल्डिङ रोजेको कोशीले गण्डकीलाई ४८.२ ओभरमा १६७ रनमा अल आउट गरेको थियो । प्रतियोगितामा जितविहीन रहेका दुई टोलीबीचको खेलमा गण्डकीले सोचेजस्तो सुरुवात गर्न सकेन । शीर्षक्रमका ब्याटर अभ्यासको बलिङसामु चल्न नसक्दा गण्डकी एक समय ६ रनमा ३ विकेट गुमाएको दयनीय स्थितिमा थियो ।
गण्डकीका लागि मुस्कान थापा र कप्तान विपिन खत्रीले सातौँ विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याउनुभएको थियो । मुस्कानले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ६७ रनको योगदान दिनुभयो । उहाँले ४२औँ ओभरमा आउट हुनुअघि १२२ बल खेल्दै ७ चौका प्रहार गर्नुभयो ।
अभ्यास तिम्सिनाले उत्कृष्ट बलिङ गर्दै शीर्षक्रम धराशायी बनाउनुभयो । उहाँले समिर कँडेल र कृष ऐरलाई खाता नखोली पेभेलियन फर्काउनुभयो । अश्विनी रानालाई ६ रन र अमृत गुरुङलाई ४ रनमा अभ्यासले आउट गर्नुभयो ।
गण्डकीका लागि कमल परियारले १३ रन तथा कप्तान विपिनले ४२ रन जोड्नुभयो । कोशीका लागि अभ्याससँगै फिर्दोस, कमल खत्री र सोनु मण्डलले १-१ विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच