कर्णालीमा १४ लाख भेडाबाख्रामा पिपिआर खोप अभियान

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । कर्णाली प्रदेश भित्रका दश जिल्लाका करिब १४ लाख ३९ भेडाबाख्रालाई पिपिआर खोप लगाउने भएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बराहताल गाउँपालिका ८ सुर्खेतस्थित कुमीकोटमा आज डाक्टर प्रतिभा श्रेष्ठ र सोविना मल्ललाई खोप हस्तान्तरण गरी खोप अभियानको शुभारम्भ गर्नुभएको हो ।

अभियानको शुभराम्भ गर्दै मन्त्री शर्माले भेडाबाख्राको रोग प्रतिरोधात्मक क्षमता बढाउन र किसानहरुको व्यवसाय संरक्षण गरी उनीहरुको आयआर्जन सुनिश्चित गराउन अभिायन शुभारम्भ गरिएको बताउनुभयो ।

“कर्णालीबाट निर्यात हुने खसी बोका नै जसमा यो प्रदेश आत्मनिर्भर छ,” उहाँले भन्नुभयो, “विशेषगरी सुर्खेत, दैलेख र सल्यानमा खसी बोका हुने गर्दछ ।” सन् २०३० सम्ममा भेडाबाख्रामा लाग्ने महामारी रोगको उन्मूलन गर्न र पशुधनलाई सुरक्षित गरी किसानहरुको जीवनस्तर उकास्न सरकार लागि परेको मन्त्री शर्माको भनाई थियो ।

उहाँका अनुसार कर्णाली प्रदेशबाट सबैभन्दा बढी खसी बोकाहरु निकासी हुन्छन् । पशु धन सुरक्षा गर्न प्रदेश सरकार जहिले पनि किसानसँगै रहेकाले किसानको गोठबाट अभियान सुरु गरिएको हो । बाख्रापालनको लागि पकेट क्षेत्रको रुपमा रहेको बरातालको कृषि र पशु क्षेत्र विकासमा प्रदेश सरकार तयार रहेकोले कृषि र पशुपालन क्षेत्रमा लाग्न किसानहरुलाइ उहाँले आग्रह गर्नु भयो।पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले भेडाबाख्राको क्षेत्रमा यो संक्रामक रोग महामारी नै भएकोले त्यसबाट बचाउन अभियानको शुभारम्भ गरिएको बताउनुभयो ।

उहाँका अनुसार सुर्खेतमा मात्र तीन लाख भेडाबाख्रा छन् । कर्णालीभरि करिब साढे १४ लाख भेडाबाख्रा भएकोले संघीय सरकारको सहयोगमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामार्फत् पर्याप्त मात्रामा खोप उपलब्ध भइसकेको छ ।

निर्देशक पंगेनीले भन्नुभयो, “जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत र दैलेखमा पहिलो चरणमा माघमा र कालीकोट, जुम्ला, डोल्पा, मुगु तथा हुम्लामा चैतदेखि पिपिआर खोप लगाउँछौं । यो खोप भेडाबाख्रामा एक पटक लगायो भने तीन वर्षसम्म पुग्छ । यदि लगाएन भने ५० देखि ९० प्रतिशत मृत्युको दर बढ्ने खतरा हुन्छ । प्रत्येक पालिकाका पशु शाखामार्फत नियुक्त भएका भ्याक्सिनेटरहरुले खोरमा पुगेर खोप लगाउने छन् ।”

बराहताल गाउँपालिका ८ सुर्खेत जयुपुरका बाख्रापालक कृषक जीतबहादुर शाहीले यो व्यवसायबाट सन्तुष्टि रहेको बताउनुभयो । आफूले एक सय ६३ बाख्रा पालेको बताउँदै उहाँले प्रति बाख्रा न्यूनतम रु १६ हजारदेखि अधिकतम् अधिकतम् रु।४५ हजारसम्ममा बिक्री हुने गरेको जनाउनुभयो । कृषक शाहीले सिंचाई र घाँस उत्पादनमा सरकारले सहयोग गरे व्यवसाय अँझ फस्टाउने प्रतिक्रिया दिनुभयो ।सोही वडाका देवीसरा मिजारले आफूसँग २४ बाख्रा भएको र वृद्धि हुने क्रम बढिरहेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “व्यवसाय ठिकै छ । यसमा हामी खुशी नै छौं तर रोग लागेर मर्ने अवस्था नआउने गरी सरकारले बेला बेलामा यस्तै खालका अभियान चलाईदिनु प¥यो । बराहताल कर्णालीकै सबैभन्दा बढी बाख्रापालन हुने ठाउँका रुपमा परिचित भएको पशुपंक्षी विकास निर्देशनालयका सुर्खेतका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो ।

सुरुका दिनहरुमा जीवन निर्वाहका लागि एक÷दुई बाख्रा पालेका किसान अहिले प्रदेश सरकारले बाख्रा श्रोत केन्द्र स्थापना गरी एक किसान ५० बाख्रा रहेको अवस्था छ । अहिले बराहतालको ८ नम्बर वडामा मात्रै नौ हजार खसी बोका रहेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?