इतिहास रच्ने चेलीहरूलाई एसपिएको सम्मान

हिमालय टाइम्स
Read Time = 7 mins

धनगढी । गत माघमा सुनसरीको इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमको टोलीले जित्दै इतिहास रचेको थियो । सुदूरपश्चिमको महिला टोलीले राष्ट्रिय प्रतियोगिताको उपाधि उचालेको यो नै पहिलोपल्ट थियो ।

यो त्यही पल थियो, जहाँबाट महिला क्रिकेटमा विभागीय टोली एपिएफ र प्रदेश १ को उपाधि यात्रामा ब्रेक लागेको थियो । त्यसअघिका सम्पूर्ण महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू एपिएफको पोल्टामा जान्थे । एकाध प्रतियोगिता प्रदेश १ को पक्षमा थिए । यी दुवै टोलीमा राष्ट्रिय टोलीका खेलाडीहरू थिए ।
यस प्रतियोगितामा भने यी दुवै टोलीलाई पन्छ्याउँदै सानदार प्रदर्शन गरेको थियो सुदूरको टोलीले र त्यसका नायक हुनुहुन्थ्यो, कविता कुँवर र मनिषा चौधरी ।

कविताले एसपिएफविरुद्धको फाइनल खेलको अन्तिम ओभरमा जितका लागि आठ रन आवश्यक भएका बेला लगातार दुई छक्का प्रहार गर्दै सुदूरपश्चिमलाई उपाधि दिलाउनुभएको थियो ।
कविताले उपाधिमात्रै जित्नुभएन । उहाँ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर पनि चुनिनुभएको थियो । त्यसबाहेक भविष्यको स्टार खेलाडीको उपमा पाउँदै उहाँले स्कुटर पनि जित्नुभयो ।
यस्तै, प्रतियोगितामा उत्कृष्ट बलरको उपाधि सुदूरपश्चिमकै मनिषा चौधरीले जित्नुभयो । मध्य गतिकी बलर उहाँले गण्डकीविरुद्ध चार, सेमिफाइनलमा मधेश र फाइनलमा प्रदेश एकविरुद्ध दुई–दुई विकेट लिँदै सुदूरलाई उपाधि दिलाउनुभएको थियो ।

यी दुवै खेलाडीसहित उपाधि विजेता टोलीका सदस्यहरू ईश्वरी विष्ट र रुवि पोदार धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) कलेजमा अध्ययनरत हुनुहुन्छ । कलेजले रजत जयन्तीको उपलक्ष्यमा शुक्रबार उहाँहरूलाई नगद र सम्मान पत्रसहित सम्मानित गरेको हो । सबैजना कलेजमा छात्रवृत्तिमा अध्ययन गर्छन् ।

उहाँहरूलाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, एसपिएका अध्यक्ष योगेन्द्रबहादुर शाही, प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित गर्नुभएको थियो ।

यीमध्ये कविता कुँवर राष्ट्रिय टोलीकी महत्वपूर्ण अलराउण्डर हुनुहुन्छ भने बाँकी सबै खेलाडीले उमेर समूहमा देशको जर्सी लगाइसक्नुभएको छ । महिला खेलाडीहरूलाई थप प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताउनुभयो ।

‘हाम्रा कलेजमा अध्ययनरत चेलीहरूले आफ्नो भूमिको पहिचानका लागि गरेको कार्यले हामीलाई गौरवान्वित बनाएको छ,’ क्याम्पस प्रमुख उपाध्यायले भन्नुभयो, ‘एसपिएले खेल र खेलाडीलाई सदैव उच्च सम्मान गर्दै आएको छ । यसपल्ट चेलीहरूलाई प्रोत्साहित गर्न पाउँदा हामी अन्त्यन्तै गौरवान्वित छौँ ।’

सम्मान ग्रहणपछि कविता कुँवरले आफूले पढिरहेको कलेजबाट सम्मानित हुँदा गौरव महसुस भएको बताउनुभयो ।

‘कलेजले हामीलाई सदैव साथ दिँदै आएको छ । हरेक टुर्नामेन्टअघि आर्थिक तथा भौतिक सहयोग पनि गरेको छ,’ कविताले भन्नुभयो, ‘यसपल्ट रजत जयन्तीको विशेष समारोहमा हामीलाई सम्मान गर्दा एकदमै गौरवान्वित भएका छौँ । सम्पूर्ण खेलाडीका तर्फबाट क्याम्पस परिवारप्रति आभार व्यक्त गर्दछौँ ।’

एसपिएले सधैं परेको बेला सहयोग गरेकाले आफ्नो रोजाइमा यही कलेज परेको कविता बताउनुहुन्छ ।
‘एसपिएले हामी खेलाडीलाई हरेक क्षेत्रमा राम्रो गरेको छ । हामीलाई अध्ययनसँगै खेल अघि बढाउन चाहिने सम्पूर्ण सानोतिनो कुरामा सहयोग गरेको छ,’ कविताले भन्नुभयो, ‘हामीलाई अवसर, खेल सामग्री, अप्ठ्यारो परेका बेला आर्थिक सहयोग गरेको छ । यस्तै, छात्रवृत्तिसमेत उपलब्ध गराएर हामीलाई अध्ययन अघि बढाउन सहयोग पुर्‍याएको छ ।’

उहाँहरूसँगै एसपिएले मलेसियामा दुई वर्षअघि सम्पन्न पाँचौँ गोजुरियो विश्व कराँते च्याम्पियनसिपमा नेपालका लागि रजत पदक जितेका कमल ओलीलाई पनि नगदसहित सम्मान गरेको थियो ।
एसपिएमा आठजनामात्रै अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी अध्ययनरत छन् । उनीहरूलाई कलेजले छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाएको छ ।

एसपिएले खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको छ । धनगढीलाई क्रिकेटको शहरका रूपमा चिनाउने श्रेय एसपिएकै प्रबन्ध निर्देशक सुवास शाहीलाई जान्छ । शाहीकै अग्रसरतामा एसपिए कप, डिपिएल जस्ता फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको सुरुवात भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?