✍️ विमल भौकाजी
साहित्यको उत्थान साहित्य रचेर-लेखेर मात्रै हुँदैन, त्यसलाई पढिनु पनि पर्छ । केवल आत्मसन्तुष्टिका लागि मात्रै लेख्ने हो भने त्यसको सीमा-घेरा लेख्ने व्यक्तिसम्म मात्र हुन्छ । तर, आफ्नो निजत्वलाई पर सारेर आफ्नो वर्गको कुरा, आफ्नो समाजको कुरा, आफ्नो राष्ट्र आफ्नो माटोको कुरा, अझ फ्त्यसको पनि सिमाना नाघेर सम्पूर्ण भूगोलको कुरा लेख्ने हो भने; जसमा कला होस्, शिल्प होस् र समष्टिमा गहन अनुभूति होस्-त्यसले साहित्यको स्वाद दिन्छ । र, त्यो साहित्यले पक्कै पनि सभ्य समाजको बाटो देखाउँछ ।
कति सामथ्र्य हुन्छ साहित्यमा ! कवि ज्ञानेन्द्र खतिवडा आफ्नो नवकवितासङ्ग्रह ‘ऐना अघिल्तिर’ मा लेख्छन्-
एकान्त त
ध्वनिको जन्मभूमि हो
जहाँ, कविहरू(ले) ध्वनि र शब्द बटुलेर
भीडतिर हुत्याइदिँदा
समाजले बोली पाउँछ
निमुखाले शक्ति पाउँछ-
शब्दशक्ति ।...
एउटै सङ्ग्रहमा चारवटा विविध शीर्षक ‘माटाका हरक’, ‘प्रतिविम्ब’, ‘पहिचान’, ‘अवबोधन’ भित्र ३८ वटा कविता, प्रयोग कविताअन्तर्गत ‘माटो-अनुहार-श्रम’ शीर्षकमा कविताकै रूपको अनुभूति र ‘बेघरबार’ शीर्षकमा अन्तिम कविता समेटिएका छन् ।
कविता भनेको केवल शब्दहरूको शैलिगत भण्डारण गरिएका हरफहरू होइन, न कि बिम्ब र प्रतीकको भरमार संयोजन नै कविता हो; कविता त त्यो हो जसका शब्दहरूले मन छोऊन्, मुटु छोऊन्, जीवन भेटून् । .
‘मेरो साख्खै नाता हो माटो । ऊसितकै उठबसमा मेरो प्राण चल्छ ।...’ पुस्तकभित्रका यी पङ्क्तिहरू पढ्ने नेपाली मन बोक्ने पाठकलाई यसले माटोप्रेमको उच्चतम नमुनालाई आत्मसात् गराउन पुग्छ । जो जहाँ रहून् आफ्नो कला, आफ्नो संस्कृति, आफ्नो भाषा सदैव प्रिय रहिरहेको हुन्छ र’त कविको भावुक मन बोल्न पुग्छ-
‘मैले मेरो शरीरको अग्लाइ काटेर
यस देशका पहाड-पर्वतलाई दिएको छु
यसर्थ
यहाँका पहाड-पर्वत अग्ला-अग्ला छन्...
मैले मेरो निधारको चौडाइ काटेर
यस देशको मानचित्रलाई
अझ विस्तृत बनाइदिएको छु...’
यसभन्दा महान् माटो-प्रेम अर्को के हुन सक्छ ? नेपालीभाषी, जो देशभित्र बसेर केवल देशको झण्डा उठाउँछन्– तिनका लागि प्रवासका ज्ञानेन्द्र खतिवडाका यी शब्दहरू भाषिक चुनौती हो । उनले यति प्रभावशाली ढङ्गले कवितामार्फत भन्न सक्ने क्षमता प्रदर्शित गरेका छन् कि सम्भवतः यहाँका कुनै पनि कविहरूले आजसम्म कवितामा भन्न सकेका छैनन् ।
वास्तवमै मान्छेको आवाज मान्छेले नै नसुन्ने भएपछि अथवा सुनेरै पनि नसुने झैँ नबुझे झैँ गर्ने भएपछि मान्छे हुँ भन्नुको पनि के अर्थ ? यस अर्थमा मान्छे नामको दैलो ढकढकाएर कसले स्वागत गर्नु ? न गुनासो सुन्ने कोही छ, न पीडा बुझ्ने कोही छ ।
कविता भनेको केवल शब्दहरूको शैलिगत भण्डारण गरिएका हरफहरू होइन, न कि बिम्ब र प्रतीकको भरमार संयोजन नै कविता हो कविता त त्यो हो जसका शब्दहरूले मन छोऊन्, मुटु छोऊन्, जीवन भेटून् । कवि ज्ञानेन्द्र मूलतः माटोप्रेमी कवि नै हुन् । उनको आशयमा- सबै स्वार्थ लिएर बोले, केवल आफ्नै लागि बोले । कुनै बुट्टा नभरिकनै उनी सिधैं भन्छन्- सीमापार गरेर नागरिकहरू चोक्टा-चोक्टामा विभक्त प्रवासी हुनुको अर्थमा सम्पूर्ण देश नै विदेश बनिसक्दा पनि देशका लागि कोही बोलेनन् ।
देशको गर्व त अमरसिंहसितै खुकुरी सेरिएरै मर्यो । सोच्छन् कवि- देश त बेवारिस लाश बनिसकेको छ । सम्भवतः अब घर फर्कने बाटो नै भुलिसकेका छन् सबैले । अन्यथा, आफ्नो बाटो हिँड्नलाई आफ्नै अनुहार बोकेको सशक्त पाइला नै चाहिन्छ । तर, आफ्नो स्वत्व नै भुलिसक्नेले वास्तविक बाटो नै कहाँ पहिल्याउन सक्छ र ?
ठोकुवा गरेर भन्न सकिन्छ- ‘ऐना अघिल्तिर’ प्रवासबाट आएको बहुमूल्य कवितासङ्ग्रह त हुँदै हो, यस अर्थमा कि यसले विशेष लाक्षणिक मूल्य बोकेर आएको छ । कति कुरो स्पष्ट नभनेरै पनि भनिन्छ र त्यसले सिधै ठाउँमै प्रहार गर्छ । उदाहरणका लागि, सम्भवतः स्वतन्त्रताविहीन समयलाई कति बलियोपूर्वक आफ्नो अनुभूति व्यक्त गर्छन्, यसरी-
किन भाग्नै मात्र खोज्छ–...
किन एक्लै एक्लै
कालो बादलको पछ्यौरीमा
अनुहार लुकाएर
मेरो अकास (आकाश) बाट
भाग्नै मात्र खोज्छ घाम ?
र, घाम झुल्कन नसकेको त्यही अवस्थितिमा त्यतै कतै उनको विद्रोही आवाजले क्रान्तिको विगुल फुक्ने र त्यही आवाजको साथ दिएरअनगिन्ती हातहरूले आगोको ज्वाला सल्काउने सक्नेसम्मको साहस देखाएको छ । यस्तो साहस उनमा यसकारण पनि उजागर भएको छ कि यहाँ विद्रोह गरिनुको अन्य विकल्प केही पनि देख्दैनन् उनी । किनकि उनी उभिएको माटोमा असमानता व्याप्त छ । एउटा मान्छेले आफूजस्तै अर्को मान्छेलाई मान्छेको रूपमा नदेख्नेसम्मको अन्याय, अत्याचार र शोषणले जरा गाडेको छ यहाँ ।
यतिसम्म कि पशुजन्य स्वभाव लिने मान्छेहरूको समाज स्थापना भएको छ यो सम्पूर्ण पृथ्वीभरि नै । भनिनलाई सभ्य समाज भनिन्छ तर चरित्रमा दाह्रा, नङ्ग्रा, सिङ उमारेर बाँचेका छन् कथित सामाजिक मान्छेहरू । विडम्बना ! पुच्छर भने लुकाइएको छ । जबकि पशुहरूले चाहिँ मानिसजस्तो भएर विलासी जीवन बिताइरहेका छन्, मान्छेबाट उसको नामसमेत खोसेर तिनले आफ्नो नामकरण गरेका छन् ।
त्रसित छन् कवि, कतै मान्छे नामको अस्तित्व नै समाप्त हुने त होइन ? उनी यही प्रसङ्गमा डाइनोसर सम्झिन पुग्छन् । एकातिर समाज बेइमान छ, अर्कातिरप्रकृतिले समेत मानव-सभ्यतामाथि नै प्रहार गरिरहेको छ- कहिले बाढी-पैह्रोले, कहिले भूकम्पले त कहिले कोरोनाजस्तो रहस्यमय रोगव्याधिले । त्यसैले, कविको भित्री मन बोल्छ-
‘म मानिस हुँ,
धरतीबाट
मानिसको जीवन समाप्त गर्ने खेलबाट
म आफू सधैँ टाढा भागूँ ।...’
वास्तवमै मान्छेको आवाज मान्छेले नै नसुन्ने भएपछि अथवा सुनेरै पनि नसुने झैँ नबुझे झैँ गर्ने भएपछि मान्छे हुँ भन्नुको पनि के अर्थ ? यस अर्थमा मान्छे नामको दैलो ढकढकाएर कसले स्वागत गर्नु ? न गुनासो सुन्ने कोही छ, न पीडा बुझ्ने कोही छ । छ त बस्ती-बस्तीमा कपट छ, जाल छ, झेल छ । बाटोमा-उकालो चढ्दा उकालीमै लुटिन्छ मान्छे, ओरालो झर्दा ओरालोमै गलहत्याइन्छ, मुन्ट्याइन्छ, ढुनमुन्याइन्छ मान्छेलाई । तथापि, यही अँध्यारो विसङ्गतिमै पनि उनीभित्रको कवि–मन कहीँ उज्यालो किरणको अपेक्षामा कञ्चनजङ्घालाई आफ्नो काँधमा बोक्न सक्ने मात्रै होइन, सकिन्छ भनै आफैँ कञ्चनजङ्घा भएर हिँँड्न हौस्याउँछन् मान्छेलाई । भन्छन्-त्यस्तो हिँडाइ वास्तवमा तेञ्जिङको पाइलाको गणित हो ।
समष्टिमा, ‘ऐना अघिल्तिर’ ले स्पष्ट रूपबाट मान्छेको अनुहार देखाएको छ-दुष्ट, घमण्डी, नैतिकहीन । अर्को शब्दमा, ऐनाको प्रतिविम्ब स्वयम् जसको अस्तित्व ऐनामै सीमित हुन्छ-मान्छे-विकृतिले त्यसलाई धमिल्याइसकेको छ, चर्काइसकेको छ । जसले समाजमा यसरी जरा गाडेको छ कि ऐनाको अनुपस्थितिमै पनि आफ्नो त्यो विद्रुप अनुहार जहिँतहीँ देखिन सक्छ ।
bimalbhaukajee@hotmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच