
काठमाडौं । नेपाल एपिएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा लगातार जित हात पारेको छ । एपिएफले मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ८८ रनको जित हात पारेको हो । एपिएफले दिएको २०८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकी ३३.४ ओभरमा ११९ रनमा समेटियो । गण्डकीका लागि ओपनर समिर कंडेलले ३३ रनको इनिंङ खेल्नुभयो । यस्तै अर्का ओपनर ईश्वर छेत्रीले २८ तथा कप्तान बिपिन खत्री १८ रन थप्नुभयो । एपिएफका लागि अमर राउटेलाले सर्वाधिक ४ विकेट लिनुभयो । यस्तै मौसम ढकालले ३ तथा भुवन कार्कीले २ विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४७.२ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको थियो । एपिएफका लागि ओपनर लोकेश बमले ६७ बलमा ५ चौका र २ छक्का सहित ५० रन बनाउनुभयो । यस्तै भुवन कार्कीले ५२ बलमा ४५ रनको इनिंङ खेल्नुभयो ।
प्रदिप ऐरिले ४५ बलमा ३९ रन बनाउनुभयो । यस्तै पुरन विकले ४६ बलमा ३० रन थप्नुभयो । गण्डकीका लागि कमल परियारले ३ विकेट लिनुभयो । यस्तै बिपिन खत्री, अमृत गुरुङ र सन्दिप पराजुलीले समान २-२ विकेट लिनुभयो ।
एपिएफ सात खेलमा चार जित र तीन हारसहित छैठौ स्थानमा छ । गण्डकी भने आठ खेलमा दुई जितसहित आठौं स्थानमा छ ।
यस्तै अर्को खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित हात पार्यो । जितसँगै बागमतीले नौ खेलमा ६ जितसहित १२ अंक बनाउँदै लिग चरण टुंगाएको छ । बागमतीले अब आफ्नो शीर्ष दुई र शीर्ष चारमा आफू परे नपरेको थाहा पाउन अन्तिमसम्म कुर्नु पर्नेछ ।
लुम्बिनी प्रदेशले दिएको १०७ रनको सामान्य लक्ष्य बागमतीले ४ विकेट गुमाएर १७.२ ओभरमा पुरा गर्यो । बागमतीका लागि ओपनर इशान पाण्डेले ५४ बलमा ५ चौका र २ छक्कासहित ५० रनको अर्धशतकिय इनिङ खेल्नुभयो । यस्तै कप्तान रित गौतमले ३३ बलमा २४ रन बनाउनुभयो । ओपनर आशुतोष घिराइयाले १४ रन जोड्नुभयो । लुम्बिनीका लागि निर्मल गुरुङले २ विकेट लिनुभयो । त्यसबाहेक कृष्ण कार्की र अभिषेक गौतमले समान १-१ विकेट हात पार्नुभयो ।
त्यसअघि किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ३२.२ ओभरमा १०६ रनमा समेटियो । स्पिनर सूर्य तामाङले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बागमती प्रदेश विरुद्ध लुम्बिनी प्रदेशले लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको हो । बागमतीका लागि सूर्य तामाङले १० ओभरमा २ मेडनसहित २६ रन खर्चिंदै ६ विकेट लिनुभयो । योसँगै सूर्यको यस संस्करणमा नौ खेलमा ३० विकेट पुगेको छ । यस्तै बिपिन आचार्यले २ विकेट लिँदा प्रतिष जिसी र क्रिजन गुरुङले समान १-१ विकेट लिनुभयो ।
लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाउनुभयो । उहाँले ५५ बल खेल्दै ३ चौकासहित २८ रन बनाउनुभएको थियो । यस्तै तल्लोक्रमका ब्याटर निर्मल गुरुङ ३२ बलमा ३ चौका र १ छक्कासहित २७ रनको अविजित इनिङ खेल्नुभयो । प्रज्वल थापाले १४ रन बनाउँदा बिराट भण्डारी १३ रनमा आउट हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच