- भूमिकला पौडेल
‘बिट लेप्रोसी’ अर्थात् ‘कुष्ठरोगलाई हराउनुहोस्’ भन्ने नाराका साथ विश्वभर ७१औं विश्व कुष्ठरोग दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाइन्छ । कुष्ठरोगको बारेमा गलत भ्रम हटोस्, यसको रोकथाम तथा उपचार बारे सबैमा जनचेतना फैलियोस्, यस रोगको गाम्भीयताका कारण अपांगता ननिम्तिओस् र यस रोगलाई निर्मूल पार्नमा सबैको ध्यान आकृष्ट होस् भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष संसारभरि कुष्ठरोग दिवस मनाइने गरिन्छ ।
कुष्ठरोग प्राचीनकालदेखि नै मानव समाजमा परिचित हुँदै आए तापनि सन् १८७३ मा नर्वेका डाक्टर गेरहार्ड हेनरिक आर्मर हृयान्सनले कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यसैले यस रोगलाई ‘हयान्सन्स् डिजिज’ पनि भन्ने गरिन्छ । समयमै उपचार नगर्दा अंगभंग हुनेकारणले गर्दा यस रोगदेखि मानिसहरू साह्रै डराउने गर्दथे । तर अब सो डर बिस्तारै कम हुँदै गएको अवस्था छ । कुष्ठरोगको बेलैमा पहिचान गर्न तथा समयमै नियमपूर्वक यसको उपचार गर्न सकिएन भने यसको असरले कालान्तरमा हातखुट्टाका औंलाहरू झरेर शारीरिक रूपमा अपांगता हुनसक्छ । त्यसैले यस रोगको बारेमा सबैले विस्तृत रूपमा जान्न, बुझ्न, सचेत हुन तथा सबैलाई यस बारेमा सचेत गराउनका लागि जनचेतना फैलाउनु आवश्यक छ ।
कुष्ठरोग लागेका सबै व्यक्तिबाट अरूलाई यो रोग सर्दैन । यो रोग उपचार सुरु नगरेका कुष्ठरोगका बिरामीबाट मात्र अरूलाई सर्न सक्दछ । मुख्यतयाः श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ । धेरै किटाणु भएको र उपचार नलिएको बिरामीले श्वास फेर्दा वा हाछ्यु गर्दा कुष्ठरोगका किटाणुहरू बिरामीको शरीरबाट बाहिर आउँछन् र निरोगी व्यक्तिले श्वास लिँदा उसको शरीरमा प्रवेश गर्दछन् ।
कुष्ठरोग एक प्रकारको सरुवा रोगमध्ये कम सर्ने रोग हो जुन माइकोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुबाट लाग्दछ । मानिसको शरीरमा कुष्ठरोगको किटाणुले प्रवेश गरेपछि यदि त्यस मानिसमा कुष्ठरोगको किटाणुविरूद्घको प्रतिरोधात्मक शक्ति कमजोर भएमा साधारणतया दुईदेखि पाँच वर्षभित्र यो रोगको प्रारम्भिक चिहृन वा लक्षण देखा पर्न सक्छ । यो रोग मानिसमा ढिलो गरी लाग्ने र बिस्तारै निको हुने गर्दछ, यो रोगले छाला र सतहको स्नायूमा असर गर्दछ । कुष्ठरोग लागेका सबै व्यक्तिबाट अरूलाई यो रोग सर्दैन । यो रोग उपचार सुरु नगरेका कुष्ठरोगका बिरामीबाट मात्र अरूलाई सर्न सक्दछ । मुख्यतयाः श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ । धेरै किटाणु भएको र उपचार नलिएको बिरामीले श्वास फेर्दा वा हाछ््यु गर्दा कुष्ठरोगका किटाणुहरू बिरामीको शरीरबाट बाहिर आउँछन् र निरोगी व्यक्तिले श्वास लिँदा उसको शरीरमा प्रवेश गर्दछन् । हात खुट्टामा भएको घाउको पीपबाट, बिरामीको दिशापिसाबबाट, बिरामीले प्रयोग गरेको भाँडाकुँडा वा कपडाको पुनः प्रयोग गर्दा, बिरामीलाई लामखुट्टे, उडुसले टोकेर पुनः स्वस्थ मानिसलाई टोक्दा, यौन सम्पर्कबाट तथा गर्भवती आमालाई रोग लागेको भए तापनि बच्चा पेटमा रहुन्जेल यो रोग सर्दैन ।
कुष्ठरोगका किटाणुले मानिसको छाला र सतहको स्नायूमा प्रभाव पार्ने भएकाले यसको चिहृन तथा लक्षण छाला र स्नायूमा देखा पर्छन् । जसका शंकास्पद लक्षण वा चिहृनहरूमा शरीरमा नचिलाउने रातो तथा फुस्रो दाग देखा पर्नु, हातखुट्टा झमझमाउनु वा स्पर्श शक्ति हराउनु, हातखुट्टा तथा आँखाको मांसपेसीहरू कमजोर हुँदै जानु, स्नायूहरू सुन्निनु वा पीडा हुनु, कानको लोती बाक्लो हुनु, अनुहारको छाला रातो, बाक्लो र चिल्लो/चम्किलो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, हात खुट्टामा नदुख्ने घाउ हुनु आदि रहेका छन् । यदि कुनै व्यक्तिलाई यी मध्ये एक वा सो भन्दा बढी लक्षण तथा चिहृनहरू देखापरेमा कुष्ठरोग निदानका लागि स्वास्थ्यकर्मीसँग शारीरिक परीक्षण गराउनुपर्दछ ।
यो रोग कम किटाणु भएको प्यासी ब्यासेलरी (पीबी) र बढी किटाणु भएको मल्टी ब्यासिलरी (एमबी) गरी दुई प्रकारको हुन्छ । नेपालमा पीबीभन्दा पनि एमबीको कुष्ठरोगीहरू धेरै रहेको बताइन्छ । कुष्ठरोग दुई प्रकारको भएजस्तै यसको उपचार पद्धति पनि दुई किसिमकै हुन्छ । कुष्ठरोगको उपचार पद्धति तुलनात्मक रूपमा सजिलो छ । पीबी कुष्ठरोगको उपचार ६ महिनासम्म गर्नुपर्ने हुन्छ भने एमबीको उपचार १२ महिनासम्म गर्नुपर्ने हुन्छ । उपचारपछि कुष्ठरोग पूर्णरूपमा निको पार्न सकिन्छ । कुष्ठरोगको सबै प्रकारको उपचार सरकारले निःशुल्क गर्दै आइरहेको छ । नेपाल सरकारका सबै स्वास्थ्य संस्थामा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ ।
कुष्ठरोगको उपचारमा बहुऔषधि उपचार पद्धतिको प्रयोग गरिन्छ । जुन कुष्ठरोगको उपचारमा प्रयोग हुने दुई वा तीन किसिमको औषधिहरूको संमिश्रण हो । बहुऔषधिको एकमात्रा सेवन गर्दा पनि उपचार प्रभावकारी भई रोगलाई तुरून्तै नसर्ने गराउँदछ । तसर्थ सुरुको पहिलो मात्रा स्वास्थ्य कार्यकर्ताको प्रत्यक्ष निगरानीमा सेवन गराउँदा बढी प्रभावकारी हुन्छ । बहुऔषधि गर्भवती महिला, सुत्केरी, स्तनपान गराइरहेका महिला तथा बच्चाहरूले पनि सेवन गर्न सक्दछन् ।
नेपालमा कुष्ठरोग निवारण, गुणस्तरीय उपचार सेवा, व्यवस्थापन र कुष्ठरोगका कारणले हुने अपांगता न्यूनीकरण गर्न तथा कुष्ठ प्रभावितका लागि सीप विकास र रोजगारसम्बन्धी विभिन्न कार्यक्रम सरकारी तथा विभिन्न संस्थाले सञ्चालन गर्दै आएका छन् ।
नेपालमा कुष्ठरोग नियन्त्रण गर्न सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखामार्फत विभिन्न काम गरिरहेको छ । हुन त सरकारले कुष्ठरोगलाई २०६६ माघ ५ गते नै राष्ट्रियस्तरमा निवारण भएको घोषणा गरेको थियो तर अझै कतिपय जिल्लाहरूमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रूपमा रहेकाले सन् २०३० सम्ममा नेपाललाई कुष्ठरोगमुक्त बनाउने सरकारी लक्ष्य छ । जस अनुसार सरकारले ‘कुष्ठरोग कार्यक्रमको राष्ट्रिय कार्य सञ्चालन निर्देशिका २०७५’, ‘कुष्ठरोगका लागि राष्ट्रिय मार्गचित्र २०७८-२०८७’ तथा ‘राष्ट्रिय कुष्ठरोग रणनीति २०७८-२०८२’ लगायत विभिन्न रणनीतिक योजना बनाएर यसको कार्यान्वयनका लागि विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।
त्यसैगरी नेपालमा कुष्ठरोगको क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थासमेत कार्यरत रही विभिन्न सेवा प्रदान गरिरहेका छन् । जसमध्ये विश्व स्वास्थ्य संगठन, एन.एल.आर. नेपाल, द लेप्रोसी मिसन नेपाल, आईएनएफ नेपाल, नेपाल लेप्रोसी ट्रष्ट, नेपाल लेप्रोसी रिलिफ एसोसिएसन, नेपाल लेप्रोसी फेलोसिप, रिड नेपाल, नेपाल लेप्रोसी एफेक्टेड वेलफेयर एसोसिएसन, सेवा केन्द्र लेप्रोसी रिलिफ, आइडिया इन्टरनेशनल, डेमिन फाउण्डेशन, पार्टनरसिप फर न्यूलाइफ, फेयरमेड, ससकावा मेमोरियल हेल्थ फाउण्डेशन, नोभारिट्स फाउण्डेशन, ग्लोबल पार्टनरसिप फर जिरो लेप्रोसीलगायत संस्थाहरू रहेका छन् ।
जसमध्ये एन.एल.आर.नेपाल विगत ४५ वर्षदेखि नेपालमा कुष्ठरोगको क्षेत्रमा कार्यरत रही आएको तथा सन् २०१८ देखि नेपालमै दर्ता भई कार्य गर्दै आएको संस्था हो । यसले नेपालमा कुष्ठरोग उन्मूलन तथा कुष्ठप्रभावितलगायत अपांगता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘नेपालमा कुष्ठरोग निवारण भइसकेको घोषणा गरिए तापनि विभिन्न जिल्लामा कुष्ठरोग अझै स्वास्थ्य समस्याको रूपमा रहेको छ । त्यसैले यसको समयमै पहिचान तथा उपचार नगर्दा अपांगता वरण गर्नुपर्ने अवस्था आइरहेकाले यसलाई केवल स्वास्थ्य समस्याको रूपमा मात्र नहेरेर अपांगता तथा समावेशी सवालको रूपमा समेत लिएर व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको’ बताउनुहुन्छ, एन.एल.आर.नेपालका कार्यकारी निर्देशक विकासमान सिंह ।
नेपालमा कुष्ठरोग निवारण, गुणस्तरीय उपचार सेवा, व्यवस्थापन र कुष्ठरोगका कारणले हुने अपांगता न्यूनीकरण गर्न तथा कुष्ठ प्रभावितका लागि सीप विकास र रोजगारसम्बन्धी विभिन्न कार्यक्रम सरकारी तथा विभिन्न संस्थाले सञ्चालन गर्दै आएका छन् । तर यी कार्यक्रम तबमात्रै प्रभावकारी हुन्छन्, जब हामी सबै कुष्ठरोग निमूल पार्न तथा यसबाट हुने अपांगता घटाउनका लागि एकजुट भएर हातेमालो गर्दछौं । अझै पनि कुष्ठरोगको बारेमा विभिन्न भ्रम फैलिएका छन् । जसलाई जनचेतनाको माध्यमबाट मात्रै चिर्न सकिन्छ । त्यसैले आउनुहोस्, विश्व कुष्ठरोग दिवसका अवसरमा हामी सबैसँगै हातेमालो गरेर अगाडि बढ्ने वाचा गर्दै भनौं ‘कुष्ठरोगलाई हराउन तथा अपांगतालाई घटाउन हामी सबै जुटौं ।’
(लेखक अपांगता अधिकारकर्मी तथा सञ्चारकर्मी हुनुहुन्छ)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच