निजामती सेवामा महिलाहरूको संलग्नता पञ्चायत कालसम्म पनि ज्यादै न्यून थियो । हुन त निजामती सेवामा मात्र होइन अन्य क्षेत्रमा समेत महिला सहभागिता कमै थियो । पहिलो पटक माथिल्लो पदमा पुग्ने केही सीमित महिलाहरूको नाम सामान्यज्ञानमै लेखिने गरेको थियो । नेपालका केही प्रथम महिलाहरू बारे खोज गरेरै केही लेखकहरूले पुस्तक प्रकाशनसमेत गरेका छन् । सेना, प्रहरी, निजामतीमात्र होइन कुन क्षेत्रको पहिलो महिला को भनेर खोज र प्रकाशन भएका छन् । हालका दिनमा हरेक क्षेत्रमा महिलाको सहभागिता र संलग्नता बढेर गएको छ । विभिन्न कारण छन् त्यसमा पहिलो जनचेतना हो । छोरीले पढ्नु हुँदैन भन्ने पुरानो मान्यता अब बाँकी छैन । छोरीले पढ्नुपर्छ भन्ने भावना आमरूपमा विकसित भएको छ ।
लिंगको पार्थक्य प्राकृतिक हो । प्राकृतिक रूपमा हुने शारीरिक बनोटले बौद्धिकतामा कुनै भिन्नता हुँदैन । महिलाले पनि पुरुषहरूकै समस्तरमा बौद्धिक सामथ्र्य हासिल गर्न सक्छन् । साथै हालका दिनमा महिलालाई पुरुषका दाँजोमा बढी अवसर दिइएको छ । एकातिर सामाजिक सोचमा आएको परिवर्तनले नारीहरू भातभान्सामा मात्र सीमित हुनुपरेको छैन । कतिपय समझादार र बौद्धिक परिवारमा बुहारी र छोरीबीच भेदभाव हुने गरेको छैन । भान्साको काम बुहारीले मात्र गर्नुपर्छ भन्ने भावना हटेर गएको छ । त्यतिमात्र होइन महिला भनेका गृहिणी नै हनुुपर्छ र भातभान्छामा मात्र लाग्नुपर्छ भन्ने सोच हटेर गएको छ ।
यसले गर्दा बुहारीहरूले पनि जागिर खाने, अन्य बन्द व्यापारमा संलग्नता जनाउने, राजनीति गर्ने, नृत्य, गायन तथा चलचित्रलगायत मनोरञ्जनात्मक क्षेत्रमा संलग्न हुनेजस्ता कार्यमा सहभागी बन्दा आजको समाजका नजरमा आलोचनाको पात्र बन्नुपर्दैन । ती काम अहिले पेशा वा व्यवसायमा परिणत भइसकेका छन् । पहिले महिलेहरू निर्धक्क संलग्न हुन सक्दैनथे । नेपाली समाजले त्यस्ता कार्यलाई हेयको दृष्टिले हेर्ने गरेको थियो तर समयको परिवर्तन सँगसँगै मान्यताहरू फेरिँदै गएका छन् । राणा शासन कालभरि जनस्तरबाट कुनै पनि महिलाहरू अगाडि आउन सकेनन् तर २००७ सालको परिवर्तनपछि बीपी कोइरालाको मन्त्रीमण्डलमा एकजना द्वारिकादेवी ठकुरानी उपमन्त्री (सहायकमन्त्री) बन्नपुगेकी थिइन् ।
पञ्चायत कालमा केही महिलाहरू सांसद भए, केही मन्त्री भए र केही निजामती सेवाको उच्च पदमा पुगे तर तिनको संख्या उल्लेख्य थिएन । निजामती सेवामा त आफ्नै बलबुताले प्रतिस्पर्धा गरेर जानुपथ्र्यो । तिनको नाम पनि थियो, ख्याति र प्रख्याति पनि थियो । २०४६ सालको प्रजातन्त्रपछि निर्माण भएको असंविधान-२०४७ ले महिलाका लागि केही सीमित आरक्षणको व्यवस्था गर्यो तर यस्तो आरक्षण राजनीतिक क्षेत्रमा मात्र थियो । कुनै पनि राजनीतिक पार्टीले निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार छनोट गर्दा निश्चित संख्यामा महिलालाई लिनुपर्ने नियम बनाएको थियो । त्यसपछिको सशस्त्र विद्रोहमा दिइएको आश्वासनका कारण वर्तमान संविधानमा व्यवस्था गरिएको आरक्षणले त अझै धेरै संख्यामा महिला निजामती क्षेत्रलगायत अन्य विभिन्न क्षेत्रमा पुरुष जसरी नै संलग्न हुन पाएका छन् ।
यहाँ सन्दर्भ महिलाको छ । त्यसले महिलाको मात्र चर्चा गरिएको हो तर महिलामात्र होइन आरक्षण पाएका जनजाति, दलित, तराईवासी, मुस्लिम, सीमान्तीकृत वर्ग, पिछडा वर्गलगायतले आरक्षण पाएका छन् र विभिन्न क्षेत्रमा तिनको प्रवेश र संलग्नता रहँदै आएको छ । अवसर नपाएका वर्गले अवसर पाउनु सकारात्मक हो । यस अर्थमा वर्तमान संविधानमा यो औचित्यपूर्ण व्यवस्था भएको छ भन्न सकिन्छ तर कुन व्यवस्थालाई राम्रो, कुन व्यवस्थालाई नराम्रो मान्ने भन्नेमा आवश्यकता र समयको मागमा भर पर्छ । विभिन्न पक्षलाई आरक्षण दिनु राजनीतिक पार्टीहरूको बाध्यता थियोजस्तो देखिन्छ । किनकि, हिजो विद्रोह गर्दा तिनलाई विद्रोहमा संलग्न गराउनकै लागि अनेकौं आश्वासन बाँडिएका थिए । त्यही वचन पूरा गर्न आरक्षणको व्यवस्था गर्नुपरेको अर्थमा केहीले बुझ्ने गरेका छन् ।
हिजोको खुला प्रतिस्पर्धाबाट आएको जनशक्तिसँग आज आरक्षणबाट आएको जनशक्ति दाँज्न सकिँदैन भन्नेहरूको संख्या ठूलै छ । केही राजनीतिक पार्टीले सुरुदेखि आरक्षणको विरोध गरिरहेका छन् । विशिष्ट श्रेणी ल्याएको मानिसले अवसर नपाउने तर आरक्षण पाउने वर्गको तृतीय श्रेणीमा पास गरेको व्यक्तिले अवसर पाउने यो व्यवस्था वास्तवमा दोषपूर्ण छ कि भनेर हेर्नुपर्ने भएको छ । भन्न त वर्तमान सत्तासीन पार्टीहरूले यो संविधान बनाउने क्रममै पछाडि परेको वर्गलाई अगाडि ल्याउन केही समयका लागिमात्रै यस्तो व्यवस्था गरिएको बताएका थिए । केही समय भनेको कहिलेसम्म हो ? निर्धारण भने भएको छैन । यस्तो व्यवस्था सरकारले चाहेर पनि हटाउन सक्दैन । हटाउने हो भने पुनः विद्रोहको सामना गर्नुपर्ने हुनसक्छ ।
संविधान र कानुनहरूले दिएको आरक्षणबाट पछि परेको वर्ग अगाडि आउनु प्रशंसनीय हो । निजामती सेवामा महिलाहरूको संलग्नता बढ्नु र माथिल्लो पदमा पुग्ने महिलासमेत तुलनात्मक रूपमा धेरै संख्यामा हुनु सकारात्मक पक्ष हो । यति हुँदाहुँदै महिला कर्मचारीहरूको सेवाग्रहीहरूसँगको व्यवहार पुरुष कर्माचारीहरूको तुलनामा मर्यादिन हुन नसकेको र असहज हुने गरेको जनगुनासो प्रसस्त सुन्ने गरिन्छ । हिजोको उपेक्षित वर्ग आज अधिकारसम्पन्न बन्न पुगेका कारण केही महिलाबाट यस्तो भएको हुनसक्ला तर सबै महिलाबाट यस्तै हुन्छ भन्ने छैन । के चाहिँ निश्चित हो भने अवसरबाट वञ्चित भइरहेको वर्ग अवसरमा पुग्दा ऊबाट अझै मर्यादित र संयम व्यवहार भने अपेक्षित हुन्छ र त्यो उहाँहरूबाट प्रदर्शन हुन सक्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच