‘समुदायमा कांग्रेस’ अभियान : प्रदेश सरकारको आफ्नै प्रहरी संगठन हुनुपर्छ नेता निधि

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताउनु भएको छ ।

उहाँले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा संविधानमै लेखिएको बताउनु भयो । ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानमै लेखिएको कुरा लागू तथा कार्यान्वयन गर्ने पहिलो काम सरकारको हो । त्यसपछि राजनीतिक दलको हो । सबै प्रदेश सरकारको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा म गृहमन्त्री हुँदा पनि भनेको हुँ । तर, म लामो समयसम्म जिम्मेवारीमा रहन सकिनँ । पटकपटक प्रधानमन्त्री, कांग्रेस सभापतिसँग तथा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा यो कुरा राखेको छु ।’

उहाँले संघीय प्रणालीका लागि प्रदेश भए पनि प्रदेशको आफ्नै प्रहरी र कर्मचारी नरहेको बताउनु भयो । उहाँले संघीय प्रणाली अन्तर्गतका बाँकी र तत्काल गर्नुपर्ने कामहरु सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर भनेको जानकारी दिनुभयो ।

पूर्व उपसभापति निधिले क्रान्ति र परिवर्तनको अर्थ रुपान्तरण भएको बताउनु भयो । उहाँले सातवटा प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीको हातमा प्रहरी छैन भने के को रुपान्तरण भन्दै प्रश्न गर्नु भयो ।

रुपान्तरण केन्द्रबाट प्रदेश र प्रदेशबाट स्थानीय तह, वडा र जनतामा जानुपर्ने उहाँको भनाइ छ । उहाँले स्थानीय तहले पाउनुपर्ने सम्पूर्ण अधिकार दिनुपर्ने र कतिपय कामका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने उहाँले जोड दिनुभयो ।

नेता निधिले कांग्रेसको अगुवाइमा भएका क्रान्ति र आन्दोलन सफल भएको दावी गर्दै अरु पार्टीले गरेको आन्दोलन सफल हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । देशमा जनताको शासन स्थापित हुनुपर्छ भन्ने शहीदको उद्देश्य रहेको थियो ।’

समुदायमा कांग्रेस अभियानमा कांग्रेसका प्रतिनिधि समुदायमा पुगेर छलफल गर्नुपर्ने र त्यहाँ रहेका गुनासो र सल्लाह लिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘समुदायमा पुगेर जनताको समस्या बुझ्नुपर्यो, के काम भयो र के भएन त्यसबारे जानकारी लिनुपर्यो ।’
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र के.सी.ले सत्यलाई बदल्न नसकिने बताउनु भयो । उहाँले काम गर्ने शैली फेरिए पनि प्रवृत्ति फेरिएन कि भन्दै प्रश्न उठेको बताउनु भयो । केसीले समुदायमा कांग्रेस अभियान वडा केन्द्रीत भएको बताउनु भयो । ‘गठबन्धन कति सार्थक छ ? यसबारे अभियानमा गहन छलफल आवश्यक छ ।’ केसीको भनाई थियो।

कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले कांग्रेस जनताले विश्वास गरेको शक्तिशाली पार्टी भएको बताउनु भयो । उहाँले कांग्रेसले धेरै विकासका काम गरेको दावी गर्नु भयोे ।

कार्यक्रममा कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले, रुपन्देही क्षेत्र नम्बर ४ का सभापति मुकेश यादव, ३ का सभापति सुशील गुरुङ, महाधिवेशन प्रतिनिधि बालकुमारी घिमिरेलगायतले बोल्दै कांग्रेस जस्तो लोकप्रिय पार्टी अरु नभएको बताउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?