आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै रत्नेचौर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीको रत्नेचौर यतिबेला नेपालमा मात्रै होइन विदेशमा समेत चर्चित छ । परम्परागतरुपमा गरिदै आएको तोरी खेतीलाई सामाजिक संजालसँग जोडेर पोष्टाउन सुरु गरिएदेखि यो गाउँमा रौनक बढ्न थालेको हो ।

रत्नेचौर म्याग्दीको बेनी नगरपालिका वडा नं १ मा पर्छ । केही समययता सामाजिक संजालमा ‘भाइरल गाउँ’ बनेको रत्नेचौर अहिले आन्तरिक पर्यटकहरुको प्रमुख गन्तव्य स्थल बनेको छ । भूगोल र प्राकृतिक सुन्दरताले समेत साथ दिएको रत्नेचौर नेता, अभिनेता, उद्योगपति, विदेशी पर्यटक र आन्तरिक पर्यटकहरुको मन खिच्न सफल भएको छ ।

थुप्रै पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटल र रेष्टुरेन्ट भएर यो ठाउँ चर्चित भएको भने होइन । परम्परागत रुपमा गरिदै आएको कृषिलाई व्यवस्थित गरी सूचना प्रविधिसँग जोडेपछि गाउँको कायापलट भएको स्थानीय अगुवा युवा भरत खत्री बताउनुहुन्छ ।

उत्तरतर्फ चाँदी झैँ टल्किएका धवलागिरि, निलगिरि, अन्नपूर्णलगायतका हिमश्रृङ्खला, तोरी र गहुँ झुलेर अत्यन्त आकर्षक देखिएको समथर फाँट,बेनी-बागलुङ सडकको वायाँतर्फ विशाल खेलमैदान त्यसैपनि रमाइलो रत्नेचौरको रौनक समथर खेतको फाँटको बीच भागबाट बनेको सडक कालोपत्रे भएपछि झन बढेको छ ।

म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर-अर्जम खण्ड कालोपत्रे गरिएपछि रत्नेचौरको रौनक बढेको हो ।

समथर फाँटमा झुलेको धान,फाँटको बीचमा चिटिक्कको कालोपत्रे सडक र पृष्ठभूमिमा धवलागिरि,निलगिरि लगाएतका हिमश्रङ्खलालाई पुष्ठभूमीमा पारेर तस्वीर खिचाउन,टिकटक बनाउन र रमाउन यहाँ दैनिक सयौंको संख्यामा युवायुवतीहरु आउन थालेपछि अहिले रत्नेचौर गाउँ बेफुर्सदिलो बनेको छ ।

कृषि मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका वासिन्दाहरुले पश्चिमबाट पूर्वतर्फ लमतन्न फैलिएको समथरफाँटलाई अर्ग्यानिक कृषिफाँट बनाउने पहल सुरु गरेका छन् । गाउँको फाँटमा रैथाने जातको खेती गर्ने, होटल, रेष्टुरेन्ट र होमस्टे (घरवास)को विस्तार गर्ने, दूध, ताजा तरकारी र फलफूलका लागि हरेक घरमा करेसाबारी र पशुपालन गर्नेलगायतका कामहरुको सुरुवात भैसकेको अगुवा युवा खत्रीले बताउनुभयो । त्यसैगरी ढोडेनी खोलामा निर्माण भएको रत्नेचौर-कुडुले जोड्ने झोलुङ्गे पुलले पनि रत्नेचौरको आकर्षण बढाएको छ ।

“पूर्वतर्फ मोहोडा भएको फराकिलो रत्नेचौरको फाँटमा धेरै पहिलेदेखि नै तोरी लगाइने गरिन्थ्यो । रत्नेचौरबाट उत्तरतर्फ हेर्दा देखिने सेता हिमाल, बागलुङ, पर्वत र म्याग्दीका अनेकौं गाउँवस्ती पहिले पनि देखिन्थे” बेनी नगरपालिका १ का स्थानीयवासी एवम् नेपाली कांग्रेस म्याग्दीका नेता नेत्रबहादुर महतले भन्नुभयो “तर यी दृश्यहरु हेर्न पर्यटकहरु पहिले आउँदैनथे । जब, फाँटको बिचमा सडक पिच भयो र सामाजिक सञ्जाल तथा आम सञ्चारका माध्यमहरुमा यहाँको समाचार आउन थाल्यो त्यसपछि गाउँको रौनक फेरियो ।”

“२०७७ सालमा रत्नेचौरको फाँटको बिचमा रहेको सडक कालोपत्रे भयो । बेनी-बागलुङ सडकको स्तरोन्नति भयो । परम्परागत रुपमा गरिदै आएको कृषिलाई व्यवस्थित गर्न थालियो । प्रविधिको पहुँचसँगै फोटा र भिडियोहरु सामाजिक संजालहरुमा देखिन थाले । त्यसपछि विगत चार वर्षयता रत्नेचौर देश विदेशमा भाइरल बन्यो” बेनी नगरपालिका वडा नं १ रत्नेचौरका वडाअध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।

म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीको सौन्दर्यमा रमाउँछन् । पर्यटकको चहलपहलसँगै रत्नेचौरमा व्यापार व्यवसाय पनि फस्टाउँदै गएको छ ।

पर्यटकहरु आउन थालेपछि रत्नेचौरमा विकासका पूर्वाधारहरु पनि थपिन थालेका छन् । भुुवानेमा दुुई वटा होटल र रेष्टुुरेन्ट खुुलेका छन् । रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेका लागि नयाँ आकर्षण थपिएको स्थानीयको भनाइरहेको छ ।

धौलागिरि हिमाललाई पृष्ठभूमिमा पारेर कालो सडकमा उभिई तोरी र गहुँको पहेंलो र हरियो दृश्य सहित तस्वीर खिच्न र भिडियो बनाउन यो सिजनमा यहाँ दैनिकरुपमा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको छ । बिदाको दिनमा पर्यटकहरुको भीडले सडक खचाखच भरिने गरेको स्थानीय बताउछन् । पोखराको बिरौटादेखि आफ्ना चार जना साथीहरुसहित रत्नेचौरमा घुम्न आउनुभएका प्रविण शेरचनले हिमाल हेर्दै तोरीबारीको बिचमा रमाउन पाउँदा निकै आनन्द आएको बताउनुभयो ।

पछिल्लो समय यहाँ मुस्ताङ जाने र फर्किने विदेशी पर्यटकहरु समेत आउन थालेका स्थानीय दिनेश बोगटीले बताउनुभयो । उहाँका अनुसार यहाँ दैनिक तीन सयदेखि पाँच सय जनाको हाराहारीमा आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?