कर्णाली प्रदेशको नमुना युवा संसद मुख्यमन्त्रीमा जाजरकोटका प्रेम बहादुर विक चयन

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कर्णाली प्रदेशको नमुना युवा संसद मुख्यमन्त्रीमा जाजरकोटका प्रेम बहादुर विक चयन हुनुभएको छ । कर्णाली प्रदेशको सुर्खेतमा सोमबार आयोजित नमुना युवा संसद अभ्यास कार्यक्रममा विक मुख्यमन्त्रीमा चयन हुनुभएको हो ।

माघ १८ गते बिहीवार देखि २२ गते सोमबारसम्म पाँच दिन सञ्चालन भएको नमुना युवा संसद अभ्यास कार्यक्रममा नगर सभा र प्रदेश सभाको बारेमा अभ्यास गरिएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिलाबाट २५ जना युवाहरु सहभागि रहेको उक्त कार्यक्रममा नगर सभाको अभ्यास गर्दा चुनावी प्रक्रियाबाट नगर प्रमुख र नगर उप-प्रमुख निर्वाचित गरिएको थियो । त्यस्तै प्रदेश सभाका लागि सत्ता पक्ष र प्रतिपक्षकोसमेत वर्गीकरण गरिएको थियो ।

संसदले सत्तापक्षबाट मुख्यमन्त्री र मन्त्री मण्डलहरु विस्तार गरिएको थियो । सोही अनुरुप सत्तापक्षमा रहेका बिक प्रदेशको नमुना युवा संसदको मुख्यमन्त्री पदमा चयन हुनुभएको बताएको छ ।

नमुना प्रदेश सभाले अभ्यासका रुपमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधारर्वा मन्त्रालय र सामाजिक विकास मन्त्रालय गरि ४ मन्त्रालय विस्तार गरिएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा क्रमस: सुनिता सार्की (कालीकोट), दावत विक (सुर्खेत) र संगिता दमाई (कालीकोट) मन्त्रीको पदमा चयन भएका थिए । यस्तै नमुना प्रदेश प्रमुखमा सुर्खेतबाट सहभागी उर्मिला केएस र जुम्लाबाट सहभागी सभामुखमा अनिता नेपाली चयन भएका थिए ।

नमुना युवा प्रदेश सभामा बास्तविक प्रदेश सभामा जस्तै सभा चलाइएको थियो । शून्य समय, प्रश्नोत्तर समय र विशेष समयमा बोल्ने पनि अभ्यास गरिएको थियो । वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख मार्फत प्रस्तुत गरिएको थियो भने वार्षिक राजश्व बाडफाड तथा वजेट विनियोजन आन्तरिक मामिला तथा योजना मन्त्री मार्फत प्रस्तुत गरिएको थियो ।

नमुना युवा संसदहरुलाई प्रदेश सभाको बारेमा जानकारी गराउन कर्णाली प्रदेश सभा सुर्खेतमा अनुगमनको लागि लगिएको आयोजक कमिटीका प्रतिनिधि रमेश नेपालीले जानकारी दिनुभयो ।

नमुना युवा संसद मुख्यमन्त्री बनेका विकले सिकाइ अर्थपूर्ण रहेको र युवाहरुमा राजनीति प्रति वितृष्णा प्रकट भएको बताउनुभयो । तर देशको नीति बदल्ने एक मात्र थलो राजनीति भएको कारण युवाहरुले राजनीतिमा चासो राख्नु पर्ने नमुना युवा प्रदेश मुख्यमन्त्री विकको भनाइ छ ।

दलित महिला संघ फेडो नेपालको आयोजनामा सञ्चालन भएको कार्यक्रम युरोपियन युनियनले आर्थिक सहयोग गरेको थियो भने प्लान इन्टरनेशनले प्राविधिक सहयोग राष्ट्रिय युवा परिषदले समन्वय गरेको थियो ।

कार्यक्रमको उद्घाटनमा प्रदेश उप सभामुख माननीय यशोदा न्यौपाने र प्रदेश सभा सदस्य माननीय रनसिंह परियार र दलित महिला संघ कर्णाली प्रदेश अध्यक्ष मन्जु सुनारको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन समारोहमा कर्णाली प्रदेश सभा सदस्य माननीय रनसिंह परियार, मुख्यमन्त्री सचिवालयका पौरख विश्वकर्मा, फेडो कालीकोट अध्यक्ष हजा सुनार, प्लान इन्टरनेश्नल नेपालका परियोजना विशेषज्ञ कविता चापागाईं र फेडो जाजरकोटका अध्यक्ष पार्वती विकको उपस्थिति रहेको थियो ।

पाँच दिनसम्म सञ्चालन भएको तालिममा नेपालगञ्जका प्रकाश उपाध्याय र काभ्रेका निर्मला गौतमले प्रशिक्षण दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?