जनशक्ति अभावमा काम गर्न समस्या हुने गरेको सरकारी कार्यालयहरुको गुनासो

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

 

भोजपुर । भोजपुर जिल्लामा रहेका सरकारी कार्यालयहरुले कर्मचारी जनशक्ति अभावका कारण काम गर्न समस्या हुने गरेको गुनासो राख्नु भएको छ ।

जिल्ला समन्वय समिति भोजपुरले जिल्ला स्थित प्रदेश मातहतका बिषयगत कार्यालयसँग मंगलवार गरेको छलफलमा सो गुनासो आएको हो । डिभिजन बन कार्यालय भोजपुरका अधिकृत डम्वर बहादुर भण्डारीले कार्यालयबाट सम्पादित भएका कार्य तथा समस्याका बिषयमा कुरा राख्दै कार्यालयको ४४ जनाको दरवन्दीमा हाल २२ मात्र कार्यरत आएको बताउनुभयो । जिल्लामा हाल पाँच सय ६५ वटा सामुदायिक बनहरु रहेको बताउँदै भण्डारीले कम क्षेत्रफलमा रहेका त्यस्ता बनहरुलाई अर्को बनसँग समायोजन गर्न सकिने बताउनुभयो । कार्यक्रमको प्रस्ताव आह्रवान गरिदा समुहगत आवेदनहरु कम आउने गरेको बताउँदै भण्डारीले उद्यमशीलता अभिबृद्धि हुने कार्यक्रमका लागि प्रस्ताब आह्रवान भएको पनि बताउनुभयो ।

कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेश कुमार यादवले स्थानीय तहहरुसँग कार्यक्रमका बिषयमा समन्वय बढाउन जरुरी रहेको बताउनुभयो । केन्द्रबाट हुने कार्यक्रमहरुका लागि प्रस्तावका निवेदनहरु आएको बताउँदै प्रमुख यादवले आगामी फागुनको पहिलो साता भित्रमा ती प्रस्तावका योजनाहरु छनौट हुने बताउनु भयो ।

पशु सेवा केन्द्र भोजपुरका बिमल मिश्रले कार्यालयमा प्राबिधिक जनशक्तिको अभाव रहेको बताउनुभयो । कार्यालयमा हाल कार्यालय प्रमुख र एक जना सहयोगी कर्मचारी मात्र रहेकोले कृषकको समस्या पहिचानमा समेत समस्या भएको बताउनुभयो । भोजपुरमा पशुपालनमा ब्यवसायीकरण हुन नसकेको बताउँदै मिश्रले बनाइने योजनाहरु तल्लो तहसम्म पुगेर बनाउन आवश्यक देखिएको बताउनुभयो ।

प्रधाममन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नवराज गुरुङले हाल भोजपुर र संखुवासभामा सुन्तला तथा अलैची जोन कार्यक्रम संचालन हुदै आएको बताउनुभयो । परियोजनाले भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा गरी ४ वटा वडामा कार्यक्रम संचालन गर्दे आएको बताउँदै जिल्लाको उत्तर षडानन्द नगरपालिकाको ६ वटा वडामा पनि कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । उहाँले जिल्लामा अलैची खेतीको संभावना बढी रहेकोले अलैची क्षेत्र बिस्तारसँगै प्रसोधनमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

घरेलु तथा साना बिकास कार्यालय भोजपुरका उद्यम बिकास सहजकर्ता बिरेन्द्र बुढाले कार्यालयबाट प्रबिधी हस्तान्तरण सम्वन्धी कार्यक्रमका लागि प्रस्ताव आह्रवान गरि निवेदन लिने काम भई रहेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा कच्चा पदार्थको अभाव हुने हुदाँ बाहिरबाट ल्याएर बस्तुहरु उत्पादन गर्न समस्या हुने बताउनुभयो ।

उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्णबहादुर मोक्तानले कृषकहरुमा सिप र ज्ञानको अभाव भएकाले सो दिन सकेमा उनीहरुलाई उद्यमीशील बनाउन सकिने बताउनुभयो । रैथाने फलफूल र जडीबुटीमा जोड दिनु पर्ने बताउँदै अध्यक्ष मोक्तानले भुगोल अनुसारका कार्यक्रम ल्याउन सकिएमा त्यो प्रभावकारी हुने बताउनुभयो ।

सोक्रममा कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले बिकासे कार्यालयहरुसँगको छलफलका क्रममा देखिएका समस्याहरु जिल्लासभामा छलफल गरी सम्वन्धित निकायमा समाधानका लागि पहल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई सेवा दिन ल्याउनु पर्ने कार्यक्रमहरुका बिषयमा तपाई कर्मचारीहरु नै बिज्ञ हुनुहुन्छ, यो छलफलमा उठेका कुराहरुको बिषयमा जिल्लासभामा छलफल गरी पास गरिने छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?