उद्घाटन भइसकेको धरहरा निर्माणको सम्पूर्ण काम सकिन अझै समय लाग्ने देखिएको छ । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार पनि आयोजनाको भौतिक प्रगति हालसम्म ९२ प्रतिशत मात्र पुगेको छ । झण्डै तीन वर्षअघि यसको उद्घाटन भने भइसकेको छ । आयोजनाको म्याद माघ मसान्तसम्ममात्र बाँकिरहँदा ठेकेदार कम्पनी पनि सो अवधिमा काम पूरा हुनेमा आफैं आश्वस्त देखिँदैनन् ।
विकास निर्माणका काममा हतारो र प्रतिस्पर्धा गर्नु उचित हो । तर, कतिपय अवस्थामा काम सम्पन्न नभई यस्ता कार्यहरूले पूर्णता पाएको भनेर उद्घाटन गर्नुले त्यसमा गर्न बाँकी कामका लागि बाटो छेकेको जस्तो हुनजाने गरेको छ । कुनै एउटा राजनीतिक पार्टी सत्तामा हुन्छ र आमनिर्वाचन आउन लागेका कारणले वा पालोफेरोको समयावधि सकिन लागेको हुनाले वा प्रतिपक्षीहरूको विरोध, अविश्वास आदि विभिन्न कारणले सरकारपछि हट्नुपर्ने अवस्था आउन लागेको छ भने हतार-हतार केही विकास निर्माणका कार्य आफ्नो पालामा सम्पन्न भएका भनेर देखाउनकै लागि पनि पूरा नहुँदै उद्घाटन गर्ने गरिन्छ । यस्ता केही कार्य पूर्ववर्ती सरकारहरूबाट भएका थिए । यसो गर्नाले त्यस्ता योजनाका बाँकी काम अधुरै रहने गरेका उदाहरण धेरै छन् ।
उद्घाटन गर्नका लागि योजना पूरा भएको भनेर देखाउनुपर्ने हुन्छ । यसमा प्रविधिक, प्रशासनिक र राजनीतिक सबै प्रकारको सहमति हुन्छ र नियम मिलाउने काम गरिन्छ । हस्ताक्षर गर्नुपर्ने मानिसहरूले काम पूरा भएको भनेर हस्ताक्षर गर्छन्, आधिकारिक र वरिष्ठ व्यक्तिबाट त्यसको उद्घाटन गरिन्छ र योजना पूरा भएर उद्घाटन भएको भनेर प्रचार गरिन्छ । त्यसपछि पनि गर्नुपर्ने काम धेरै बाँकी हुन्छन् तर काम पूरा भएको भनेर उद्घाटनसमेत भइसकेपछि ठेकदारलगायत कामको जिम्मेवारी लिएका पक्षको त्यसमा सक्रियता रहँदैन ।
त्यसकारण उक्त कार्य अरगज्ज भएर नै रहिरहन्छ । यस्ता उदाहरण धेरै छन् । तीमध्ये मेलम्ची खानेपानी परियोजना र काठमाडौंको धरहरालाई प्रमुख रूपमा लिन सकिन्छ । मेलम्ची खानेपानी परियोजना अहिलेभन्दा ३३ वर्ष पहिले घोषणा भएको परियोजना हो जसले हालसम्म पूर्णता पाएको छैनभन्दा हुन्छ । बेलाबेलामा पानी वितरणको उद्घाटन गरेर पनि पानी स्थायी रूपमा अझै वितरण हुनसकेको छैन । यसको पाँचौं पटक उद्घाटन भइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट पहिलोपटक पानी वितरणको उद्घाटन गरिएको थियो तर योजना पूर्ण नहुँदै हतारमा यसको उद्घाटन गरिएको थियो भन्ने कुरा हालसम्म यसको पानी समानुपातिक ढंगले काठमाडौं उपत्यकाका उपभोक्तालाई दिन नसकिएकोबाट पुष्टि हुन्छ ।
यस्तै काठमाडौंको धरहरा हतारमा उद्घाटन गरिएको विकास निर्माणको अर्को उदाहरण हो । हुन त यस्ता प्रकारका संरचनाको निर्माणलाई विकास भन्ने कि नभन्ने भन्ने प्रश्न पनि उठाउन सकिएला तर यस्ता संरचचनाले पनि राष्ट्रलाई समृद्ध बनाउने र राज्यकोषको श्रीवृद्धिमा सघाउ पु¥याउने भएका कारण यिनलाई पनि विकास भन्नैपर्छ । भीमसेन थापाले बनाएको भीमसेनस्तम्भ वा सुन्धारास्थित धरहरा १९९० सालको महाभूकम्पमा भत्किएको थियो । राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले त्यसको पुनर्निर्माण गराएर जस्ताको तस्तै बनाएका थिए । त्यसको ८२ वर्षपछि २०७२ सालको महाभूकम्पमा पनि धरहरा पुनः ढल्यो ।
काठमाडौं शहरको गौरव भएका कारण यसको पुनर्निर्माण गर्नु जरुरी थियो । धरहरा बन्यो तर त्यसले पूर्णता नपाइकनै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमा त्यसको त्यसको उद्घाटन गर्नुभयो । त्यसबेला त्यसको विरोध भएको थियो । संसद्मा पनि केही सांसदहरूले निर्माण पूरा नभई किन उद्घाटन गरियो ? भनेर प्रश्न उठाउनुभएको थियो । त्यसबेला प्रधानमन्त्री ओलीले जानुस् न चढेर हेर्नुस् पूरा भएको र नभएको थाहा भइहाल्छ नि भन्ने ओठेजवाफ दिनुभएको थियो । अर्कातिर धरहराको मौलिकता मर्ने गरी बनाइएको हालको यस धरहरालाई धरहरा नमारेर यो त टावरमात्रै हो भन्दै आउनुभएका काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन साहले मौलिक स्वरूप कायम राखेर धरहराको निर्माण गरिनुपथ्र्यो भन्दै आउनुभएको छ ।
शहरी विकास मन्त्रालय र महानगरबीच पार्किङ विषयलाई लिएर विवाद बल्झिएको छ र यसका लागि सहमति हुनसकेको छैन । अरू विभिन्न कुराहरूमै जसरी यस सम्बन्धमा पनि मन्त्रालय र महानगरबीच मतमतान्तर हुँदै आएको छ । सरकारका विभिन्न कामको विरोध र अवज्ञामात्र होइन समयसमयमा सरकारलाई तीता शब्दमा गालीसमेत गर्दै आउनुभएका युवा नगरप्रमुखले यस बारेमा मन्त्रालयसँग मत बझाउनुभएको छ । उद्घाटनको तीन वर्ष बित्नलाग्दा पनि अझै आठ प्रतिशत काम बाँकी छ भनिएको छ र यति काम पूरा गर्न अझै केही समय त लाग्ने नै छ ।
स्थानीय सरकार पनि अधिकार प्राप्त स्वतन्त्र सरकार हो तर यसो भन्दैमा महानगरले सरकारले भनेको नमान्ने र मन्त्रालयले पनि महानगरलाई पेल्ने नियत राखेर अघि बढ्दा बाँकी कामका लागि अझै बढी समय लाग्न सक्छ । धरहरालगायत अन्य कार्यमा समेत समन्वय गरेर अगाडि बढ्ने हो भने यस्ता कार्यमा सहजता आउनसक्थ्यो । यसतर्फ दुवैले आ-आफ्नो हठ त्यागेर लाग्नु उचित हुन जान्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच